भारतले शारदा ब्यारेज खोलिदिँदा पुल निर्माणमा समस्या

महाकालीमा पानीको सतह बढ्दा एक्स्काभेटर र टिपरमा पानी पस्यो
भवानी भट्ट

कञ्चनपुर — सीमा क्षेत्रको शारदा ब्यारेजबाट भारतले अव्यवस्थित रूपमा पानी छाडिदिँदा महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणमा समस्या भएको छ । निर्माण कम्पनीले डाइभर्सन बनाएर काम गरिरहे पनि बेलाबेला पानी निर्माणस्थलमै पुग्ने गरेको छ । ‘काम रोकिएको छैन, तर जुन गतिमा हुनुपर्थ्यो त्यो हुन सकेको छैन,’ निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने ।

नदीमा पानी बढी भएका कारण निर्माण सामग्री ढुवानी तथा कामदारलाई आउजाउ गर्नसमेत समस्या भएको छ। एक्स्काभेटर तथा टिपरहरूमा पानी पसेर दुई/तीन दिनमै बिग्रन थालेको उनले बताए। भारतीय पक्षले शारदा ब्यारेजको पुल मर्मतका लागि भन्दै पूर्व र पश्चिमतर्फका पाँचवटा ढोका खोलिदिने गरेको छ। सामान्य अवस्थामा एक/दुई ढोका मात्रै खोलिन्थ्यो।

महाकालीमा चार ठाउँमा डाइभर्सन बनाएर नदीलाई पूर्व र पश्चिमतर्फ मोडेर पुल निर्माणको काम हुँदै छ। नदीमा पानी बढी भएकाले थप दुई ठाउँमा डाइभर्सन बनाउनुपर्ने पाण्डेयले बताए। यस विषयमा जिल्ला प्रशासन कार्यालयसँगै महाकाली पुल आयोजनालाई पनि जानकारी गराइएको उनले बताए।

अहिले पिलर निर्माणसँगै पाइलिङ र बनेको पिलरमाथि स्ल्याब राखिँदै छ। ‘बेलाबेलामा काममा अवरोध भइरहेको छ, यो अहिले मात्रै होइन, काम सुरु भएदेखिकै समस्या हो,’ निर्माण कम्पनीका प्रबन्धक प्रेमकुमार श्रेष्ठले भने, ‘हामीले नदीमा काम गर्न पाउने भनेको वर्षमा ५/६ महिना मात्रै हो। बीचमा व्यवधान हुँदा त्यसले समस्या थपिदिने गरेको छ।’ हरेक दिन फरकफरक समयमा भारतले पानी छाडिदिने गरेकाले समस्या भएको श्रेष्ठले बताए।

महाकाली नदीको पानी डाइभर्सन गरिँदै। नदीमा पानीको बहाव बढी भएपछि ४ ठाउँमा डाइभर्सन गरिएको छ। तस्बिरः भवानी भट्ट/कान्तिपुर

०७४ देखि निर्माण सुरु भएको पुलका १७ वटा पिलर बनेका छन् भने १७ पिलर निर्माण हुन बाँकी छन्। पाइलिङको काम पनि बाँकी छ। यस वर्ष पाइलिङ र पिलरको काम सक्ने लक्ष्य राखिएको पाण्डेयले बताए। बनिसकेक पिलरमा स्ल्याब राख्ने काम पनि सुरु हुन लागेको उनको भनाइ छ।

भारतीय पक्षले पुल मर्मतका लागि दुई महिनासम्म ५ वटा ढोका खोल्ने जानकारी गराए पनि कुन समयमा खोल्ने भन्ने विषयबारे नखुलाएको महाकाली पुल आयोजनाका इन्जिनियर सुलभ न्यौपानेले बताए। कति बेला पानी बढ्ने हो भन्ने जानकारी नहुँदा निर्माणमा समस्या भएको उनको भनाइ छ।

०७४ भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरेका थिए। सोही वर्ष हिउँददेखि पुल निर्माण थालिएको हो। आठ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुल निर्माणका लागि कुमार श्रेष्ठ सीएफईसी जेभीसँग ३ वर्षभित्र काम सक्ने गरी ३ अर्ब २७ करोड रुपैयाँमा सम्झौता भएको थियो।

प्रकाशित : मंसिर ३, २०७६ २१:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सेनामा हेलिकप्टर र विमान ‘अपुग’

जगदीश्वर पाण्डे

काठमाडौँ — सेनाले उद्धार तथा राहत वितरणका लागि पर्याप्त हेलिकप्टर र विमान नभएको बताएको छ । सेनासित हाल १३ हेलिकप्टर छन् । तीमध्ये ८ वटा सञ्चालन र ५ वटा मर्मतमा छन् । ६ वटा जहाजमध्ये ४ वटा सञ्चालनमा छन् र अन्य २ वटालाई लिलामीको प्रक्रियामा राखिएको छ ।

प्राकृतिक विपत्तिका बेला उद्धार र अति विशिष्ट पदाधिकारीलाई सेनाले स्थल एवं हवाई सुरक्षा दिँदै आएको छ । कम हेलिकप्टर र विमानले बढी काम गर्नुपर्ने चुनौती रहेको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार अति विशिष्ट व्यक्तिहरूका लागि प्रयोग भइरहेका तीन अमेरिकी बेल हेलिकप्टरमध्ये एउटा मात्र सञ्चालनमा छ । दुइटा मर्मतमा छन् । ‘सुरक्षा चुनौती र दायित्वलाई ख्याल गरेर सेनाले उद्धार तथा विपद् व्यवस्थापन गर्न काठमाडौं, सुर्खेत र इटहरी गरी मुलुकका तीन स्थानमा एयर बेस निर्माण गरेको उनको भनाइ छ ।

सेनाले मुलुकको भौगोगिक अवस्था र प्राकृतिक विपत्तिलाई आकलन गरी उद्धार, राहत र पुनःस्थापनाका लागि एउटा एयर बेसमा ५ हवाई साधन (चार हेलिकप्टर र एक विमान) राख्ने लक्ष्य राखेको छ । ‘पूर्वको इटहरी एयर बेसमा हालसम्म कुनै हवाई साधन छैनन् । पश्चिमको सुर्खेतमा भएका दुई हेलिकप्टरमध्ये एउटा सञ्चालनमा छ भने अर्को मर्मत गराइँदै छ,’ प्रवक्ता पाण्डेले भने ।

मध्य एयर बेस काठमाडमौंमा भएका अन्य हेलिकप्टर र विमानसमेत सबै पूर्णरूपमा सञ्चालनमा छैनन् । अति विशिष्ट व्यक्तिको सुरक्षादेखि गृह मन्त्रालयको सहकार्यमा अन्य सुरक्षा निकायहरू (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभाग) लगायतले सेनाकै सहयोगमा हेलिकप्टरलाई विभिन्न प्रयोजनका लागि उपयोग गर्दै आएका छन् ।

यसै वर्ष सरकारले अगुस्टावेस्टल्यान्ड हेलिकप्टर (राष्ट्रपतिका लागि) र सीएन २३५–२२० विमान ल्याएको छ । ती दुवै सेनालाई हस्तान्तरण गर्न बाँकी छ । सैनिक प्रवक्ता पाण्डेका अनुसार अमेरिकाले दिने चारमध्ये थप दुई स्काई ट्रक पुस दोस्रो साता नेपाल भित्रिंदै छन् । ‘त्यसपछि सन् २०२० मा एउटा र सन् २०२१ मा अन्य दुई स्काई ट्रक आउनेछन््,’ उनले भने ।

सुरक्षा जानकार गेजा शर्मा वाग्ले नेपाली सेनाले प्राकृतिक प्रकोप, भूकम्प, बाढी पहिरोदेखि अतिविशिष्ट व्यक्ति र निर्वाचन सुरक्षा, अन्तर्राष्ट्रिय आतंकवादसम्मको कुरा हेर्नुपर्ने भएकाले हवाई सुरक्षाका लागि स्पष्ट नीति र रणनीति अख्तियार गर्न जरुरी रहेको बताए । ‘सेनालाई हवाई सुरक्षाका लागि उपयुक्त उपकरण, भौतिक पूर्वाधार र हवाईजहाज उपलब्ध हुनुपर्छ,’ उनले भने, ‘भएका उपकरणहरू उपयोग गर्न पनि त्यत्तिकै आवश्यक छ ।’ वाग्लेले पनि अहिले सेनामा हवाई उपकरण उद्धार र राष्ट्रिय सुरक्षाका लागि पर्याप्त नरहेको बताए । ‘पर्याप्त प्राविधिक तालिम र उपकरण, नीति र सहकार्य भए सेनाले प्रभावकारी ढंगले हवाई सुरक्षामा भूमिका खेल्न सक्छ,’ उनले भने ।

विपद् व्यवस्थापन जानकार कृष्ण देवकोटा नेपालमा जुनसुकै बेला प्राकृतिक विपद् आउन सक्ने भएकाले राष्ट्रिय सेनालाई तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिन्छन् । ‘नेपालमा एक ठाउँबाट अर्को ठाउँमा उद्धार वा केही समस्या पर्दा स्थलमार्गबाट पुग्न घन्टौं लाग्छ । कतै त सडक सञ्जाल नै पुगेको छैन । त्यसैले हाम्रो हवाई सेवा बलियो हुनुपर्छ,’ उनले भने ।

पूर्वउपरथी तथा सुरक्षा जानकार विनोज बस्न्यातले पनि नेपालका सुरक्षा निकायमा सुरक्षाका साधन अपर्याप्त रहेको बताए । ‘सेनासित जति हेलिकप्टर र जहाज छन्, ती अपर्याप्त छन् । सेनामा मजबुत हवाई सुरक्षा हुनुपर्छ । जसले विपद् पर्दा उद्धार र राहत गर्न सहज हुन्छ,’ उनले भने ।

सेनामा जम्मा १९ हवाई साधनः
हेलिकप्टर
जम्माः १३
चालुः ५
मर्मतमाः ५

जहाज
जम्माः ६
चालुः ४
लिलामी प्रक्रियामाः २

यो पनि पढ्नुहोस्ः

प्रकाशित : मंसिर ३, २०७६ २१:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT