कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसाइँसराइ गर्ने एसिया क्षेत्रका चराको बहस मुम्बईमा

गिद्ध संरक्षणको उपलब्धीको कथा सुनायो नेपालले  
अब्दुल्लाह मियाँ

लोनाभ्ला, मुम्बई — बसाइँसराइ गर्ने चराले उडानका क्रममा प्रयोग गर्ने बाटो (फ्लाई वे), बासस्थान, चरन क्षेत्र, तिनका र उत्पन्न संकटबारे बहस गर्न ३० देशका चरा विशेषज्ञ, अनुसन्धानकर्ता, चरा प्रजातीमा काम गर्ने संघसंस्था र संरक्षणकर्मी मुम्बईको लोनाभ्लामा भेला भएका छन् ।

बसाइँसराइ गर्ने एसिया क्षेत्रका चराको बहस मुम्बईमा

बम्बई नेचरल हिस्ट्री सोसाईटी (बीएनएचएस) को आयोजनामा एसिया क्षेत्रका बसाइँसराइ गर्ने चरा प्रजातिबारे सोमबारदेखि बहस सुरु भएको हो । सम्मेलनमा एसियाली रुट भएर बसाइँसराइ गर्ने चरा प्रजातिको अवस्था र समस्या तथा सिकाई र अनुभवबारे विशेषज्ञ, अनुसन्धानकर्ता र जानकारबीच बहस चलिरहेको छ ।


‘इन्टरनेशनल कन्फ्रेन्स अन वेटल्याड्स एण्ड वाटरबर्डस् अफ एसिएन फ्लाइवेज’ नाम दिइएको सम्मेलनको मंगलबार बिहान भारतको केन्द्रीय वन, वातावरण र जलवायु परिवर्तन राज्यमन्त्री बबुल सुप्रियोले उद्घाटन गरे ।


चराको अध्ययन, अनुसन्धानमा संलग्न बर्डलाइफ इन्टरनेशनल, युकेकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्याट्रिसिया जुरिटाले सुरक्षित बासस्थान र आहार तथा उड्ने बाटो (फ्लाई वे) बसाई सर्ने चराको मुख्य समस्याका रुपमा देखा परेको औंल्याइन् । उनले भनिन्, ‘थोरै तौल भएरपनि हजारौं माइल यात्रा तय गर्ने चराको संरक्षणका लागि हामी सबैको उत्तिकै दायित्व छ ।’


सम्मेलनका दौरान नेपालमा गिद्धको संरक्षण, अनुसन्धान र पुनर्वास कार्यक्रममार्फत् सरकारलाई सघाइरहेको नेपाल पन्छी संरक्षण संघ (बीसीएन)ले समेत प्रस्तुति दिएको छ । बीसीएनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईशाना थापाले सामुदायिक वनका उपभोक्ताका कारण गिद्ध संरक्षणमा सहयोग पुगेको बताइन् ।


संकटमा परेका गिद्धको संरक्षण गर्ने, गिद्ध सुरक्षित क्षेत्र (भल्चर सेभ जोन) प्रवर्द्धन गर्ने र तिनलाई पुनर्वासमा फर्काउने कार्यमा नेपाल विश्वमै उदाहरणीय छ । गिद्ध सुरक्षित क्षेत्र बनाउने अभियानमा नेपाल विश्वमै अग्रणी मानिन्छ । नेपालको सिको गर्दै युरोप र अफ्रिकी मुलुकहरुले पनि पछ्याइरहेका छन् । बीसीएनले सरकारसँग मिलेर ७० जिल्लालाई गिद्धका लागि हानिकारक मानिएको डाइक्लोफेनेक मुक्त क्षेत्र घोषणा गरेको उनले उल्लेख गरिन् ।


पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेकको प्रतिबन्धसँगै गिद्धको मृत्युदरमै कमी अएपछि संकटमा पर्दै गएका गिद्ध प्रजातिको संख्या बढ्दै गएको छ ।


नेपालले विश्वमै पहिलो पटक प्रजनन् केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा गिद्ध पुनःस्थापना गरेको समेत उनले चर्चा गरिन् । ‘अहिलेसम्म ३० वटा प्राकृतिक बासस्थानबाट संकलन गरी हुर्काइएका र ३१ वटा प्रजनन् केन्द्रका गरी ६१ गिद्धलाई पखेटामा रेडियो कलर जडान गरेर प्राकृतिक बासस्थानमै छोडेका छौं,’ उनले भनिन् ।


बर्डलाइफ इन्टरनेशनलको एसियाली सचिवालय, सिंगापुरका परामर्शदाता एवं क्षेत्रीय कार्यक्रम व्यवस्थापक हुमबहादुर गुरुङले सम्मेलनबाट एसिया क्षेत्रका बसाइ सर्ने चराको संरक्षण गर्न र तिनको सुरक्षित बासस्थान र आहारको उपलब्धता बढाउन ज्ञान र अनुभव प्राप्त हुने उल्लेख गरे ।


उनका अनुसार मध्य एसिया भएर बसाइँसराइ गर्ने चरा हिँड्ने मुख्यतया ६ वटा बाटो (फ्लाई-वे) छन् । यो मध्य एसियाको छोटो दुरीको बाटो हो । यो बाटो भएर १८० भन्दा बढी प्रजातिका चरा एकदेशबाट अर्को देशसम्म बसाइँसराई गर्छन् ।


परामर्शदाता गुरुङका अनुसार एसिया क्षेत्रमा चराको संरक्षण र अनुसन्धानमुलक कार्यक्रम सञ्चालन गर्न बर्डलाइफ इन्टरनेशनलको एसियाली सचिवालयले १३ वटा देशलाई सघाइरहेको छ । चरा संरक्षणका कार्यक्रममा खासगरी एसिया क्षेत्रका सरकारसँग सहकार्य गर्दै अघि बढ्ने सचिवालयको नीति रहेको छ ।


हरेक वर्ष सयौं प्रजातिका चरा नेपालका सिमसारमा आउने गरेका छन् । साइबेरिया, मंगोलिया, चीन, कोरिया, रसिया र मध्य एसियादेखि बसाई सराई गरेर चरा भित्रिने गरेका छन् । विस्तृत अध्ययन नभएपनि १५० प्रजातिका चरा बसाइँसराइ गरेर यहाँ भित्रिने गरेको जानकारहरु बताउँछन् । खासगरी जाडो छल्न हिउँद् याममा अन्य मुलुकहरुबाट चरा नेपालका विभिन्न सिमसारहरुमा भित्रिने गरेका छन् ।

प्रकाशित : मंसिर ३, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?