प्रहरी तथा अध्यागमन अधिकारीले ‘ठम्याउन नसक्दा’ बंगलादेशी सजिलै छिर्छन् नेपाल

भारतीय सुरक्षाकर्मीले बंगलादेशी नागरिकलाई सहज रूपमा ठम्याउन सक्छन् । भिसा बेगर नेपाल छिर्न खोज्नेलाई फाट्फुट पक्राउ पनि गरिरहेका छ । नेपाल प्रहरी तथा अध्यागमन अधिकारी भने ठम्याउनै सक्दैनन्
पर्वत पोर्तेल

काँकडभिट्टा — सीमावर्ती भारतको पानीट्यांकी नाकाबाट शुक्रबार सीमा सुरक्षा बल (एसएसबी) को टोलीले तीन बंगलादेशीलाई पक्राउ गर्‍यो । अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रममा मोहम्मद मविन मिया, वाहिद अली र मोहम्मद नाजमुल पक्राउ परेका हुन् । गत वर्ष पनि त्यसैगरी प्रवेश गर्न खोजेका ६ जना बंगलादेशी नागरिकलाई भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा लिएको थियो । भारतीय बंगाली र बंगलादेशी नागरिकलाई ठम्याउन नसक्दा पूर्वी नाकाबाट बंगलादेशीको अवैध आगमन भइरहेको छ ।

ZenTravel

भारतीय सुरक्षाकर्मीले बंगलादेशी नागरिकलाई सहज रूपमा ठम्याउन सक्छन् । भिसाबेगर नेपाल छिर्न खोज्नेलाई फाटफुट पक्राउ पनि गर्दै आएका छन् । नेपाल प्रहरी तथा अध्यागमन अधिकारी भने बंगलादेशीलाई ठम्याउनै सक्दैनन् । झट्ट हेर्दा उनीहरू भारतीय बंगाली जस्ता देखिन्छन् । भाषा पनि मिल्दोजुल्दो छ । त्यही भएर ठम्याउनै गाह्रो हुने गरेको नेपाल प्रहरीको अनुभव छ । पहिचान गर्न सक्ने संयन्त्र अभावले अध्यागमन कर्मचारी र प्रहरी उनीहरूको अवैध प्रवेशबारे बेखबर देखिएका छन् ।

खुला सीमा नाका भएकाले पनि बंगलादेशीको अवैध प्रवेश सहज हुने गरेको छ । अवैध प्रवेश बढेपछि काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा भिसा इन्ट्री गर्नेहरूको संख्या पनि घट्दो छ । सन् २०१९ को ९ महिनामा पूर्वी नाकाबाट १ हजार ७ सय २७ जना बंगलादेशी नागरिक वैधानिक रूपमा नेपाल प्रवेश गरेको अध्यागमन कार्यालयले जनाएको छ । वैध रूपमा नेपाल आउने बंगलादेशी राहदानीमा भिसा लगाएर त्यसै दिन फर्कने गरेको पाइन्छ ।

कुनै समय यो नाका बंगलादेशी पर्यटकका कारण भरिभराउ हुन्थ्यो । सन् २०११ मा मुम्बईमा भएको आतंकवादी हमलाका कारण मुस्लिम देशलाई भारतले ‘ट्रान्जिट’ भिसामा कडाइ गर्‍यो । त्यसमा बंगलादेशीहरू पनि परे । पाकिस्तानी यो नाकाबाट आउँदैनन् । भारतको कडाइपछि क्रमशः गिरावट आएको बंगलादेशीको आगमन दर बर्सेनि घट्दो छ । भिसामा भएको कडाइका कारण उनीहरू अवैध रूपमा पहिला भारत र पछि नेपाल छिर्ने गरेको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

नेपाल प्रवेश गर्ने नाकामा निगरानी फितलो छ । जसको फाइदा बंगलादेशीले सहज रूपमा लिइरहेको स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार उनीहरू भारतीय नागरिक भन्दै नेपाल प्रवेश गर्छन् । अवैध प्रवेश गराउने काममा भारतीय नागरिककै संलग्नता देखिन्छ । दुई वर्षअघि पनि भारतको खोरीबारी प्रहरीले ६ जना बंगलादेशीलाई नाकाबाटै पक्राउ गरेपछि भारतीय नागरिककै संलग्नतामा उनीहरू अवैध प्रवेश गर्ने गरेको पुष्टि भएको थियो । इलाका प्रहरी कार्यालयका डीएसपी गोविन्दकुमार कार्कीले नाकामा अवैध घूसपैठ रोक्न कडा निगरानी गरिएको बताए । उनले शंकास्पद मानिसहरूलाई सधैं सोधपुछ गरिरहेको बताए ।

प्रकाशित : मंसिर ३, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सारंगी बजाएर मात्रै चल्दैन अब गुजारा

पर्वत पोर्तेल

झापा — नेपालकै होचो स्थान केचना (कचनकवल) को वडा नम्वर २ मा वस्छन् ४२ घर गन्धर्व परिवार । उनीहरू सारंगी रेट्दै गाउँटोल घुमेर जिविका चलाउँछन् । उनीहरूले बजाएको सारंगीको सुरिलो धुन सुनाएर धेरैले मनोरन्जन लिन्छन् । संगीत सर्जक समेत मानिने गन्धर्वहरूको अवस्था भने दयनीय छ ।

‘हाम्रो आर्थिक, सामाजिक र शैक्षिक अवस्था जर्जर छ’, स्थानीय शिव गन्धर्वले सुनाए । जातीय पेशाको रुपमा रहेको सारंगी बजाउने कामलाई अझै पनि धेरैले निरन्तरता दिइरहेका छन् ।

नेपाल र भारतका विभिन्न गाउँसहरसम्म पुगेर उनीहरू सारंगीको मिठो धुन सुनाउँछन् । यो गाउमा तीन पुस्तादेखि गन्धर्वहरू सारंगी रेट्दै हिडिरहेका छन् । तर, हजुर वुवा पुस्तामा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ । ‘हाम्रो अवस्था जस्ताको तस्तै छ’, शिवले भने ‘पहिला हाम्रा वावु, वाजेको जे हाल थियो अहिले हाम्रो पनि उस्तै छ ।’

गन्धर्वहरू नेपालवाहिर जहाँजहाँ नेपालीहरूको वसोवास छ, त्यहाँ पुग्छन् । ‘नेपालतिर भन्दा भारततिर हाम्रो गीत वढी मन पराउछन्’, लामो समयदेखि सिक्किममा वस्दै आएका टेकेन्द्रले सुनाए,‘यता भन्दा उतै हामीलाई वढी महत्व दिन्छन् ।’

लोपोन्मुख दलित
पहाडे दलित समुदायमा पर्ने गन्धर्व समुदायलाई ‘गाइने’ पनि भनिन्छ । तर, गाइने भनेको उनीहरूलाई मन पर्दैन । होच्याए जस्तो ठान्छन् । कम जनसंख्या भए पनि सरकारले लोपोन्मुख जातिमा सूचीकृत नगरेकाप्रति असन्तुष्टी छ । गन्धर्वहरूको उद्गम थलो कास्कीको बाटुलेचौर हो । पछिल्लो समय पूर्वको झापादेखि सुदुरपश्चिमसम्म छरिएर वसेका छन् ।

२०२७ सालको झापा अहिले जस्तो थिएन । सवै जंगलले ढाकेको थियो । औलोको माहामारी थियो । त्यो वेला झोडा फाँडेर वसोवास गर्नेहरू बहादुर ठानिन्थे । अगुवा हर्कवहादुर गन्धर्व सम्झन्छन्,‘हो हामी त्यही समयमा झापा झरेका हौ ।’ ०६८ को जनगणना अनुसार गन्धर्व जातिको जनसंख्या ७ हजार सात सय छ । झापामा ४२ घरधुरी छ । जनसंख्या २ सय ७ छ ।

यिनीहरूको पेशा भनेकै सारंगी वजाउनु हो । सारंगीवाटै धेरैको गुजारा चलेको छ । उनीहरू खेती किसानी र मजदुरी पनि गर्छन् । आफू पर्याप्त जमीन छैन । अर्काको अधिया जमीन खेनजोत गर्छन् । गन्धर्व समुदायको उत्थान गर्ने उद्देश्य राखेर २०६७ सालमा पूर्वान्चल गन्धर्व सांस्कृतिक उत्थान समाज नामक संस्था स्थापना गरेका छन् ।

संस्थाका अध्यक्ष कड्क गन्धर्वका अनुसार यो समुदायको सवभन्दा ठूलो समस्या भनेकै आर्थिर्क र शैक्षिक हो । ‘सारंगी मात्रै वजाएर गुजारा गर्नु पर्ने अवस्थाका कारण अवस्था नाजुक छ’, कड्क भन्छन्,‘पढेलेखेका पनि ज्यादै कम्ति छन्, कसैको दिगो जागिर पनि छैन ।

संस्थाका महासचिव रविन गन्धर्वका अनुसार यो समुदायमा कुल जनसंख्याको १७ प्रतिशत अल्प शिक्षित छन् । नाजुक आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा समस्या छ । केहीले वडो दुखका साथ स्नातक र केहीले डिग्रीसम्म गरेका छन् ।

यो समुदायको आफ्नै भाषा भए पनि लोप हुने अवस्थामा पुगेको छ । ‘पछिल्लो पुस्ताले भाषा, संस्कृति सवै भुलिसके’, अगुवा गोविन्द गन्धर्वले सुनाए,‘हाम्रो अलग्गै भाषा पनि भन्दा हाम्रै मान्छेले पनि पत्याउन छाडिसके ।’ लिपि भने छैन । ‘पार्सी भाषा जस्तो छ’, भूपाल गन्धर्वले भने, ‘घरमा र परदेश गएका वेला एकआपसमा वोल्छौ ।’ संगीत पिङगुल स्वर लिपी पनि छ । तर, यो लिपी वुझ्न सक्ने अगुवाहरू छैनन् ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×