कारागारबाट समेत धम्की- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारागारबाट समेत धम्की

स्थानान्तरण माग गरिएको पत्रमै आलमले लेखे, ‘वो एसपी (भूपेन्द्र खत्री, रौतहट) ने मेरे साथ गलत किया, उसका भी बुरा होगा ।’ 
मातृका दाहाल

काठमाडौँ — कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन् । 

गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए । भेटपछि आलमले कारागार स्थानान्तरणका लागि हिन्दीमा लेखेको मागपत्र कारागार प्रशासनलाई बुझाएका छन् । उक्त मागपत्र कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पठाएको छ ।


स्थानान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने खेलअनुसार आएको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ । मागपत्रमा रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै आलमले उनीहरूलाई राम्रो नहुने चेतावनी दिएका छन् । वो एसपी (भूपेन्द्र खत्री, रौतहट) ने मेरे साथ गलत किया, उसका भी बुरा होगा,’ आलमले लेखेका छन् ।


प्रहरीले आलमलाई भेट्न आउनेमाथि विशेष निगरानी राखेको छ । नख्खु कारागार आफ्ना लागि सहज नभएको उल्लेख गर्दै आलमले आफन्त र नातेदारबाहेक अरूलाई भेट्न नदिइएकोप्रति पनि असन्तुष्टि जनाएका छन् । ‘मेरा सारा दोस्त मेरा रिस्तेदार है,’ उनले लेखेका छन्, ‘यहाँ (रौतहट) सुरक्षा दिन सकिँदैन भनेर रातारात कारागार स्थानान्तरण (नख्खु) गरियो, सुरक्षा दिने काम प्रशासनको हो न कि स्थानान्तरण ।’ असोज २६ मा पक्राउ गर्न गएका प्रहरीलाई समेत दुर्व्यवहार गरेका आलमले एसपी खत्री र डीएसपी नवीन कार्कीलाई हत्कडी लगाउने र जिल्ला अशान्त पार्ने धम्की दिएका थिए । त्यस क्रममा आलमले आफूलाई पक्राउ गरिएको प्रतिशोधमा जिल्ला अशान्त पार्ने र त्यसको जिम्मेवारी प्रहरीले नै लिनुपर्ने बताएका थिए ।


आफू रौतहट कारागारमा बस्न चाहे पनि सुरक्षाको कारण देखाउँदै नख्खु ल्याइएकोप्रति पनि उनको आक्रोश छ । उनले नेता गिरीलाई कारागार विभागका महानिर्देशकसँग कुरा गरेर रौतहट स्थानान्तरणको व्यवस्था मिलाउन आग्रह गरेका थिए । गिरीले यसबारे ‘माथि कुरा गर्छु’ भन्ने आश्वासन दिएको स्रोतको भनाइ छ । शान्तिसुरक्षा र परिस्थितिको विश्लेषण गरेर नै उनलाई रौतहटबाट नख्खु ल्याइएको र तत्काल स्थानान्तरणको अवस्था नरहेको विभाग स्रोतले बताएको छ ।


पक्राउपछि ३ साता लामो अनुसन्धान गरेर प्रहरीले आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण कसुरमा कैद सजाय हुने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा बुझाएको थियो । सोही प्रतिवेदनकै आधारमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले अदालतमा कात्तिक १८ मा मुद्दा चलाएका थिए । १० दिन लामो थुनछेक बहसपछि जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले गत शुक्रबार आलमलाई पुर्पक्षका लागि कारागारमा राख्न र पीडित एवं साक्षीको संरक्षण गर्न आदेश दिएको थियो । आदेशलगत्तै शुक्रबार राति नै प्रहरीले उनलाई नख्खु कारागार ल्याएको थियो । ०६४ चैत २७ गते राजपुर बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग आलममाथि छ ।


यसैबीच आलमलाई सोमबार उनका छोरा तथा आफन्तले नख्खु कारागारमा पुगेर भेटेका छन् । आलमका छोरा मोहम्मद फिरोज आलम प्रहरी अस्पताल महाराजगन्जमा प्राविधिक (चिकित्सक) निरीक्षक (इन्स्पेक्टर) का रूपमा कार्यरत छन् । उनी एमबीबीएस चिकित्सक हुन् ।


प्रकाशित : मंसिर ३, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वराजा जब क्लब छिरे...

सुशील पौडेल

काठमाडौँ — शनिबार रातको १२ बज्दै थियो । ठमेलस्थित क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) मा सधैंझैं नाचगानको माहोल थियो । क्लबका कार्यकारी निर्देशक रविन श्रेष्ठलाई खबर आयो, पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आउँदै छन् । १५ मिनेटमै ज्ञानेन्द्र बुहारी हिमानी, दुई छोरी र केही अंगरक्षक लिएर एलओडी छिरे । क्लबको माहोल एकाएक फेरियो । सबैको ध्यान पूर्वराजपरिवारतिर गयो । भर्खरैसम्म घन्किइरहेका गीतहरू रोकिए । अनि बज्न थाले, राष्ट्रभक्तिका गीत– ‘रातो र चन्द्र सूर्य...’, ‘मेरो नेपाल...’, ‘यो मन त मेरो नेपाली हो...।’ एकपछि अर्को गर्दै यस्तै गीतहरू गुन्जिरहँदा पूर्वराजा शाह त्यहाँ उपस्थितहरूमाझ आएर नाच्न थालिसकेका थिए । परिवारका अन्य सदस्यले पनि संगीतको तालमा झुम्दै उनलाई साथ दिएका थिए । 

कमेडी च्याम्पियनको प्रिमियरका लागि भेन्यु हेर्न भनेर सोही दिन अभिनेत्रीद्वय केकी अधिकारी, रिमा विश्वकर्मा र निर्देशक विशाल भण्डारी पनि एलओडी पुगेका थिए । निस्कने तरखरमा रहेको कलाकार टोली पनि पूर्वराजा आउने खबर पाएपछि बसे । त्यो रातको माहोल सम्झनलायक भएको केकीले बताइन् । ‘उहाँ (ज्ञानेन्द्र) का क्रियाकलाप हामीहरूकै जस्तो सामान्य र सहज थियो । उहाँहरू हामीसँग मात्र नभई क्लबमा भएका सबैसँगै नाच्दै, बोल्दै र फोटो खिच्दै हुनुहुन्थ्यो ।’

कलाकारहरूको टेबुल ज्ञानेन्द्रकै टेबुल सामुन्ने थियो । ‘हामीले कलाकार हौं भनेपछि उहाँले सम्मान गर्दै आफूले पनि नेपाली फिल्म हेर्ने र कलाकारलाई चिन्ने बताउनुभयो,’ रिमाले भनिन्, ‘अहिले त कमेडी खुब चलेको छ । अझ राम्रो गर्दै जानुहोला भन्नुभयो ।’

अभिनेत्री रिमाले शनिबारको माहोलमा आफूलाई पूर्वराजा चाखलाग्दो लागेको बताइन् । ‘राजाबाट रंक हुँदासम्म पनि उहाँले आफूलाई कति मज्जाले सम्हाल्न सकेको ?’ उनले भनिन्, ‘त्यो माहोल देख्दा मलाई आफूलाई सन्तुलनमा राख्न सक्यो भने खुसी त्यसै मिल्ने रहेछ भन्ने महसुस गरायो ।’ ज्ञानेन्द्र क्लबमा पस्दा अरूले कुनै स्टार छिरेको जस्तो व्यवहार गरे पनि उनको व्यवहार सामान्य भएको पाएको बताइन् ।

‘हामीलाई सुरुमा डर लागेको थियो । उहाँहरूलाई क्लबको लाउड म्युजिक र माहोल मन पर्दैन कि भनेर । त्यसैले आफैंले राष्ट्रभक्तिका गीत छानेर बजाइदिएका थियौं,’ क्लबका निर्देशक श्रेष्ठले भने, ‘उहाँहरू भीआईपी कक्षबाट तल झरेर सबैसँग नाच्नुभयो । डेढ घण्टा जति रमाइलो गर्नुभयो ।’

श्रेष्ठका अनुसार शाह परिवार आउने खबर पहिल्यै दिइएको थिएन । ‘कतै डिनर गरेपछि यहाँ आउने योजना बनाउनुभएको रहेछ । आउन मिल्छ भनेर सोधेपछि हामीले मिल्छ भन्यौं । त्यसको १५ मिनेटभित्रै आइपुग्नुभयो ।’
पूर्वराजासहितको टोली क्लब छिरेपछि एलओडीले स्क्रिनमा ‘राजा’ भनेर स्वागत गरेको फोटो सोमबार दिनभर सामाजिक सञ्जालमा चर्चामा रह्यो । यसमा गल्ती भएको स्वीकार गर्दै श्रेष्ठले भने, ‘कसैले भनेपछि हाम्रै कर्मचारीले हालेका रहेछन् । मैले देख्नेबित्तिकै गल्ती भएको भन्दै हटाइहाल्न लगाएँ । सायद ३/४ सेकेन्ड मात्रै डिस्प्ले भयो होला ।’ उनका अनुसार, शाही परिवारले ड्रिंक्स र केही स्न्याक्स लिएर करिब दस हजार रुपैयाँको बिल तिरेका थिए ।
क्लबबाट जाँदाजाँदै ज्ञानेन्द्रले रविनलाई भने, ‘राम्रो ठाउँ खोल्नुभएछ, मज्जा आयो ।’

प्रकाशित : मंसिर ३, २०७६ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×