कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यूज फेस्टिभल : ‘लुम्बिनी विश्वकै धार्मिक र आध्यात्मिक गन्तव्य’

घनश्याम गौतम

(रूपन्देही) — लुम्बिनी क्षेत्रलाई विश्वकै धार्मिक र आध्यात्मिक पर्यटकको गन्तव्य बनाउने गरी विकास गर्न सरोकारवालाले सुझाव दिएका छन् । लुम्बिनीमा जारी न्यूज फेस्टिभलमा सोमबार ‘लुम्बिनी, सम्पदा, समृद्धि र समाज’ विषयमा बहस गरेका पत्रकार, राजनीतिज्ञ, विश्लेषक र सामाजिक अभियन्ताले लुम्बिनी बहुआयामिक क्षेत्र र अन्तर्राष्ट्रिय पहिचान भएको बताएका हुन् ।

न्यूज फेस्टिभल : ‘लुम्बिनी विश्वकै धार्मिक र आध्यात्मिक गन्तव्य’

यहाँ आउने पर्यटक सबै जाति, धर्म र वर्गका हुने भन्दै त्यही आस्था र विश्वासमा सबैको सहज पहुँच हुने गरी विकास गर्नुपर्नेमा जोड दिए । लुम्बिनीले विश्व शान्तिको अगुवाइ गरेको र धर्मिक पर्यटकको छुट्टै आस्था बढाएको उनीहरुको दाबी छ । त्यसैले लुम्बिनीमा हुने हरेक क्रियाकलाप विश्वकै लागि अनुकरणीय हुने भन्दै यस क्षेत्रलाई सबै धर्मको पहुँचमा राख्नु पर्ने उनीहरुको सुझाव छ ।


लुम्बिनी क्षेत्रका संघीय सांसद घनश्याम भुसालले लुम्बिनी राज्यकै तर्फबाट अमूर्त बन्दै गएको बताए । विश्वका धार्मिक, सामाजिक, बुद्धिज्म, दार्शनिक, समाज लुम्बिनीसँग जोडिने भन्दै उनले लुम्बिनीलाई त्यहीअनुसार विकास गर्न नसकिएको स्वीकार गरे । ‘म आफैं बुद्धिज्मको विद्यार्थी भएर अध्ययन गर्दा बुद्धिज्म मार्क्ससिज्मभन्दा बृहत् लाग्यो,’ उनले भने, ‘त्यसैले लुम्बिनीभन्दा म आफैंलाई दिक्क लाग्छ, यसको बहुआयामिक पक्षले दंग पार्छ ।’ लुम्बिनीको विकास जुन गतिले हुनु पर्ने हो, त्यो नभएकामा आफू र राज्य नै दोषी भएको उनले बताए ।


लुम्बिनीको विकासको गति धेरै ढिलो छ । सन् १९७८ बाट सुरु भएर १९९८ मा सकिनु पर्ने गुरुयोजना अझै सकिएको छैन । अहिलेसम्म ८० प्रतिशत काम भएको लुम्बिनी विकास कोषको दाबी छ । त्यसको नालायकीपन राजनीतिज्ञ र राज्यले नै बाँड्नु पर्ने भुसालले बताए । ‘समय धेरै अघि बढिसक्यो, समयमै गर्न नसक्दा जे गुम्यो, त्यो राज्य र राजनीतिज्ञले नै जिम्मा लिनुपर्छ,’ उनले भने, ‘हामीले बडो मिहिनेत गरेर लुम्बिनी बिगारेका छौं, अब त्यो रोकिनुपर्छ ।’ अबको लुम्बिनी विश्वका तीर्थयात्रीको केन्द्र बनाउनु पर्ने उनले बताए । बहसका क्रममा स्थानीय सहभागीले लुम्बिनीमा बन्दै गरेका विकासका संरचनाको गति सुस्त रहेको गुनासो गरे ।


लुम्बिनी डेटिङ स्थल बनेको देखि फोहोर, धूलो, धूवाँले बढेको वातावरणीय प्रदूषणसम्मको चिन्ता गरे । त्यस्तै निर्माणाधीन संरचनाको व्यवस्थापन सही ढंगले हुन नसकेको र लुम्बिनी क्षेत्रको दीर्घकालीन योजनाको कार्यान्वयन नभएकामा चिन्ता गरे । लुम्बिनीले अधिग्रहण गरेको ११ सय ५० बिघा क्षेत्रफल जमिन उपलब्ध गराउने जग्गाधनीको पहिचान हुन नसकेकोदेखि विदेशी एवं स्वदेशी पर्यटकको बसाइ लम्ब्याउन नसक्नुका पछाडिका दोषीको खोजी हुनुपर्ने आवाज उठ्यो ।


कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले लुम्बिनीको विश्वव्यापी महत्व र धार्मिक पर्यटकको आस्थाअनुसार लुम्बिनीले विकासको गति नलिएकामा चिन्ता जनाए । लुम्बिनीको विकास निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र विश्वको धार्मिक महत्वकै आधारमा हुनुपर्ने उनको सुझाव थियो ।


‘लुम्बिनी अन्तर्राष्ट्रिय जगत्को आकर्षण र धेरै पर्यटकको गन्तव्य हो,’ उनले भने, ‘तर, यहाँको संरचना लुम्बिनीको महत्वअनुसारको छैन ।’ लुम्बिनीको विकासमा कुशल व्यवस्थापकीय नेतृत्वको खाँचो देखिएको उनले बताए । गुरुयोजनामै अड्किएर नबसी अब नयाँ शिराबाट पनि लुम्बिनीको विकासमा सोच्न उनले आग्रह गरे ।


रुपन्देहीका प्रदेश सभा सदस्य एवं स्थानीय फकरुद्दिन खानले अहिले पनि पशुपतिमा मुस्लिम जान नसक्ने र मक्कामदिनामा हिन्दुले प्रवेश नपाउने उल्लेख गर्दै लुम्बिनीमा अहिलेसम्म धार्मिक विभेद नरहेको बताए । ‘यो सबैको आध्यात्मिक स्थान हो,’ उनले भने, ‘यहाँका सबै व्यवस्थापन र संरचना बुद्धको सन्देशअनुसारकै हुनुपर्छ ।’ उनले लुम्बिनी परिसरमा ७० प्रतिशत इस्लामिक धर्मावलम्बी रहेको र उनीहरु अहिले पनि बुद्ध धर्मको प्रचारप्रसारमा सहयोगी बन्दै आएको बताए ।


पत्रकार शुभशंकर कंडेलले लुम्बिनीको पहिचानका लागि अब ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने पर्चा टाँग्दै हिंड्नु जरुरी नरहेको बताए । १०/१२ वर्षको अवधिमा लुम्बिनीमा देखिएको विकास र आस्थाले धेरै आशा जगाएको उनको विश्लेषण थियो ।


लुम्बिनीको विकास र बृहत् लुम्बिनी गुरुयोजना पूर्ण कार्यान्वयन गर्न नसक्नु नै मुख्य कमजोरी रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए । उनले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय जगत्को फरक आशा भए पनि अहिलेको विकास र योजनाले त्यो पूरा गर्न नसकेको दाबी गरे ।


‘अहिलेसम्म हतार गरेनौं, अबको केही महिना कुरौं,’ उनले भने, ‘त्यसपछि सबै आशाको संयोजन मिलाउने गरी काम हुनेछन्, अहिले प्रधानमन्त्रीज्यूसँग पनि त्यही ढंगबाट छलफल भइरहेको छ ।’ उनले गुरुयोजनाको पुनःमूल्यांकन भइरहेको र रामग्राम, सैनामैना, तिलौराकोट र लुम्बिनी जोडेर बृहत्तर लुम्बिनीको योजना अघि बढेको बताए । कार्यक्रमको सहजीकरण पत्रकार चन्द्रकिशोरले गरेका थिए ।


यसअघि भएको संघीयतामा न्यु मिडिया विषयक समूहगत छलफलमा सहभागीले पत्रकारिताको सिद्धान्त न्यु मिडियामा पनि लागू हुने बताएका थिए । अब न्यु मिडियाले पनि सबुत र प्रमाणका आधारमा पत्रकारिता गर्नु जरुरी भएको अनलाइन खबरका सम्पादक अरुण बरालले बताए । ‘न्यु मिडियासंग डराउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘नागरिक पत्रकारिताको विषयमा पनि धेरै कुरा उठ्छन् तर यसबाट तर्सिहाल्नु पर्दैन ।’


नेपाल लाइभका सम्पादक नारायण अमृतले न्यु मिडिया प्रयोग गर्दा गलत तरिकाल प्रयोग गर्न नहुने बताए । पत्रकार विजय पौडेलले समाचार कसका लागि र किन दिने भन्ने पहिचान गर्नुपर्नेमा जोड दिए । अर्का पत्रकार जेवी पुन मगरले पछिल्लो पुस्ताले मल्टी मिडियामा आकर्षण बढाएको बताए । पत्रकार भगवती पाण्डेयले लामा समाचार लेख्नलाई नयाँ मिडियाले सहयोग गरेको बताइन् । सहजकर्ता टेकनारायण भट्टराई थिए ।


यसैगरी, स्टोरी टेलिङ समूहगत छलफलमा लेखक एवं पत्रकार नारायण वाग्लेले अझै पनि नेपाली पत्रकारिता क्षेत्रमा प्रत्येक समाचारमा ६ कको प्रयोग नै नहुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए । समाचारमा पाठकलाई जिज्ञासु बनाउन सक्नुपर्ने बताउँदै पत्याउने समाचार लेख्नुपर्छ भन्ने कुरालाई अहिलेको पुस्ताले बुझ्नु जरुरी भइसकेको बताए । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामलले समाचारले समाजलाई प्रभाव पार्न सक्नुपर्ने बताउँदै व्यक्तिगत र पार्टीगत समाचारको बाढीलाई अब रोक्नुपर्ने बेला आएको बताए ।


स्वतन्त्र पत्रकार दीपक अधिकारीले पत्रकारितालाई अब रुचिकर बनाउने उपाय खोज्नुपर्ने बेला आएको दाबी गरे । उनले समायानुकल समाचार र फिचर बनाउन सकिएन भने पाठकको रुचि घट्दै जाने बताए । पत्रकार अमृता अनमोलले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् । त्यस्तै, के लेख्ने र कसरी लेख्ने भन्ने समूहगत छलफलमा अन्नपूर्ण पोष्टका प्रधानसम्पादक हरिबहादुर थापाले लेखन शैलीलाई सुधार गर्नुपर्नेमा जोड दिए । गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनालले समाचारमा नयाँपन दिन सकिएन भने अबको पत्रकारितालाई न्यु मिडियाले उछिन्ने बताए ।


राष्ट्रिय समाचार समितिका सम्पादक श्याम रिमालले पछिल्लो समयमा पत्रकारिता फरक ढंगले अघि बढेको बताए । नयाँपत्रिकाका सम्पादक उमेश चौहानले फरक शैली र ढंगले समाचारलाई प्रस्तुति गर्न सक्नुपर्नेमा जोड दिए । नेपालसमय अनलाइनका सम्पादक सञ्जीव शर्माले पत्रकारिताको लेखन शैली सुधार गर्नुपर्नेमा जोड दिए । सहजकर्ताका रुपमा दीपक ज्ञवाली थिए । संघीयतामा पत्रकारको भूमिका र भोलिको चुनौतीका विषयमा गहन छलफल गर्न लुम्बिनी प्रेस क्लबले लुम्बिनीमा आयोजना गरेको तीनदिने न्यूज फेस्टिभलको आइतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए ।


प्रकाशित : मंसिर २, २०७६ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?