२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

युरोप र अमेरिका छिर्न नेपाली बाटो

जनकराज सापकोटा

काठमाडौँ — प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जापान उड्न लागेका पोर्चुगिज नागरिक टियागो मेन्डेस पेरेइरालाई गत साउन ३ गते पक्राउ गर्‍यो । उनको साथबाट ४ केजी दुई सय ग्राम प्रिकर्सर केमिकल्स भनेर चिनिने लागूपदार्थ एम्फेटामाइन बरामद भएको थियो ।

युरोप र अमेरिका छिर्न नेपाली बाटो

टियागो पक्राउ परेको २७ दिनपछि भारतको नयाँदिल्लीमा सूचना प्रविधि पढ्दै गरेका अफ्रिकी देश गाम्बियाका अजसी स्टेन अरनुस साउन ३० गते ठमेलको एक होटलबाट पक्राउ परे ।


उनीहरूमाथि अहिले प्रहरीका तीन फरक–फरक निकायले अनुसन्धान गरिरहेका छन् । यो मुद्दाको आवरणमा लागूऔषध देखिए पनि अन्तर्यमा मानव तस्करी र पैसाको अवैध कारोबार जोडिएको छ । टियागोले बयानका क्रममा आफूले अजसीबाट एम्फेटामाइन सेवन गर्ने गरेको बताएपछि प्रहरीले उनीबारे थप खोजी सुरु गर्‍यो । एम्फेटामाइन अन्तर्राष्ट्रिय माफिया समूहले अन्तरदेशीय कारोबार गर्दै आएको लागूऔषध हो । धनाढ्य लागूऔषध सेवनकर्ताहरूको रोजाइमा पर्ने यसको मूल्य अन्तर्राष्ट्रिय अवैध बजारमा प्रतिकेजी ५ करोड रुपैयाँभन्दा बढी छ ।


अजसी पक्राउ परेपछि एम्फेटामाइनको अन्तर्राष्ट्रिय कारोबारमा नेपाल कसरी ट्रान्जिट बनिरहेको छ भन्ने गुथ्थी सुल्झिने आस प्रहरीले गरेको थियो । तर उनले कहाँबाट यो लागूऔषध पाए भन्ने प्रश्नको उत्तर दिएनन् । बरु अनुसन्धानकै क्रममा प्रहरीले अन्तर्राष्ट्रिय मानव तस्करीको धन्दामा उनको संलग्नता पत्ता लगाएको छ । द्वन्द्वग्रस्त अफ्रिकी मुलुकका नागरिकलाई नेपाल हुँदै अनेकन रुट प्रयोग गरेर युरोप र अमेरिका लैजाने काममा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।


एक जना विदेशीले पोर्चुगिसलाई एउटा पोको दिनु भनेर दिएको र आफूले केही पैसाको लोभमा त्यसको कारोबार गरेको उनले बताए । अनुसन्धानकै क्रममा प्रहरीले उनको कोठाबाट अफ्रिकी देशका नागरिकको १५ वटा राहदानी फेला पार्‍यो । जसमध्ये १३ वटा नाइजेरियाको, एउटा माल्टाको र एउटा

घानाको थियो । कुरियर्समार्फत् नेपाल ल्याइएका ती राहदानी भिसा लगाउनका लागि आफूले राखेको अजसीले बताए ।


प्रहरीले सुरुवाती अनुसन्धानमै थाहा पायो, बरामद भएकामध्ये माल्टाको पासपोर्ट नक्कली थियो । नयाँदिल्लीमा ट्राभल एजेन्सीसमेत दर्ता गरेका अजसीले ट्र्राभल कारोबारका नाममा मानव तस्करी, ठगी र किर्ते धन्दा पनि चलाएका थिए । उनी युरोप र अमेरिका छिर्न खोज्ने अफ्रिकाका गरिब र द्वन्द्वग्रस्त देशका नागरिकलाई पर्यटक र खेलाडीको भिसामा नेपाल छिराउँथे र भारत हुँदै अन्यत्र पठाउनका निम्ति मानव तस्करीका अन्तर्राष्ट्रिय गिरोहका लागि काम गर्थे । यो मुद्दामाथि अहिले प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार अजसीले चाँजोपाँजो मिलाएर केही अफ्रिकी तेक्वान्दो खेलाडीको आवरणमा नेपाल छिरेका थिए । जनही ५ हजारको लोभमा एउटा तेक्वान्दो संस्थाले २ जनालाई नेपाल छिराउन कागजात दिलाइदिएको थियो । अनुसन्धान जारी रहेकाले ती प्रहरी अधिकारीले संस्थाको नाम भने उल्लेख गर्न चाहेनन् ।


अजसीले केही नेपाली, केही भारतीयलाई समेत युरोप र अमेरिका छिराइदिने भन्दै रकम असुलेका थिए । उनी सामाजिक सञ्जालबाट काठमाडौंमा रहेका मान्छेहरूसँग जोडिन्थे र भन्थे, ‘तिम्रो बैंक खातामा केही रकम बाहिरबाट आउँछ, त्यसको ८ प्रतिशत कमिसन काटेर बाँकी रकम मैले भनेअनुसारको बैंक खातामा हाल्देऊ ।’ काठमाडौंका गुनबहादुर घर्ती अजसीले देखाएको लोभको पासोमा परेका थिए । अजसी दिल्लीस्थित नाइजेरियाली दूतावासमा कार्यरत टीका शर्मामार्फत भेनेजुएला लैजाने मान्छेको पैसा व्यवस्थापन गरिदिने भन्दै गुनबहादुरसँग नजिकिएका थिए ।


मानव तस्करी र ठगीको यो घटनामा भारतको मोतीहारी घर भई काठमाडौंको कालीमाटी बस्ने दीपु जैसवाल पनि जोडिइन् । फेसबुकमा चिनाजानी भएका अब्दुल अलि हसन अहम्मदले अमेरिका लैजाने भनेपछि तयार भएकी दीपुले गुनबहादुरको दुई बैंक खातामा ८ सय अमेरिकी डलर, अब्दुलको खातामा दुई सय र सानबेस हुसेनको खातामा तीन सय अमेरिकी डलर जम्मा गरिदिइन् । अजसीकै समूहले दीपुलाई नक्कली भिसा डकुमेन्ट उपलब्ध गराएर ठगी गरेको र माल्टाको नक्कली पासपोर्ट बनाइदिएको पाएपछि प्रहरीले उनीमाथि किर्ते जालसाजीको मुद्दा चलाएको छ । अनुसन्धानका क्रममा अजसीले फ्रान्सेली नागरिक एन्डे रोय र युरोपका ज्याक भन्नेले १५ सय युरो लिएर उक्त नक्कली पासपोर्ट उपलब्ध गराइदिएको बताए ।


लागूऔषधको मुद्दामा अनुसन्धानमा तानिएका अजसीका एकपछि अर्को अपराधको पोल खुलेपछि प्रहरीले निष्कर्ष निकाल्यो– लागूऔषध, मानव तस्करी र किर्ते धन्दाको कारोबार समानान्तर रूपमा चलिरहेको रहेछ । लागूऔषध नियन्त्रण ब्युरोका एसपी वसन्त लामाले अजसी अन्तर्राष्ट्रिय सञ्जाल भएको लागूऔषध र मानव तस्करीको धन्दामा संलग्न रहेको बताए । उनले भने, ‘यो घटनाले हामीलाई थप सजग बनाएको छ ।’

अजसीको बयानपछि प्रहरीले अफ्रिकी देशहरू नाइजेरिया, घाना, आइभरिकोस्ट, गिनी बिसाउ र माल्टाका अरू नागरिक पनि पर्यटक भिसामा नेपाल छिरेको पत्ता लगायो । तर त्यसरी छिरेकाहरू भिसा अवधि सकिँदा पनि नेपाल हुँदै फर्किएको विमानस्थल अध्यागमनमा कुनै प्रमाण भेटिएन । पर्यटक भिसामा नेपाल छिरेका अफ्रिकी देशका नागरिकहरू एजेन्टको सहयोगमा बस चढेर काँकडभिट्टा हुँदै भारत छिर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारत छिर्दा काँकडभिट्टाको एक होटलमा बसेका अफ्रिकी नागरिकहरूको विवरण होटलको दर्ता पुस्तिका र पासपोर्टको फोटोकपीबाट पत्ता लागेको थियो । यसरी स्थलमार्ग हुँदै अवैध रूपमा भारत छिरेका १६ जना अफ्रिकी नागरिक त्यसपछि कहाँ पुगे भन्ने पत्ता लगाउन मानव बेचबिखन ब्युरोले अनुसन्धान थालेको छ ।


स्रोतका अनुसार ब्युरोले भारतस्थित इन्टरपोल शाखामा नेपाल हुँदै भारत पसेका अफ्रिकीहरूको राहदानी विवरण पठाउने तयारी थालेको छ । इन्टरपोलले भारतीय अध्यागमनको सहयोगमा ती राहदानी भारतका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा इन्ट्री भएको छ वा छैन वा भएर कुन गन्तव्यका लागि गएका छन् भनेर पत्ता लगाउनेछ ।


प्रहरीले नेपाल छिरेपछि हराएका अफ्रिकाका नाइजेरिया, घाना, आइभरिकोस्ट, गिनी बिसाउका नागरिकको १६ वटा राहदानीका प्रतिलिपि अध्यागमन रेकर्डबाट लिएको थियो । यसरी संकलन गरिएका ३२ राहदानी नेपाल प्रहरीले इन्टरपोलमा परीक्षणका लागि पठाएको थियो । राहदानी नम्बरका आधारमा ती नागरिकले कुन–कुन देश हुँदै कहाँको यात्रा गरे र ती राहदानी सक्कली थिए कि थिएनन् भन्ने परीक्षण गरेर इन्टरपोलले रिपोर्ट पठाइदियो । ३२ मध्ये माल्टाको भनिएका दुई राहदानी नक्कली रहेको थाहा भए पनि अन्य राहदानी सक्कली थिए वा थिएनन् भन्ने विस्तृत रिपोर्ट नेपाल प्रहरीले पाइसकेको छैन ।


प्रहरीले ती अफ्रिकी देशमा पनि नेपाल हुँदै भारत छिरेका अफ्रिकीहरूको पासपोर्ट र अन्य विवरण खुलाउँदै पत्राचार गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाका एक अनुसन्धान अधिकारीले यसबारे निरन्तर सूचना आदानप्रदान भइरहेको र छिट्टै ती अफ्रिकीबारे सूचना आउने बताए ।

ब्युरोको प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार यो घटनामा मानव तस्करीसँगै लागूऔषधको कारोबार र अवैध आर्थिक कारोबारको काम पनि सँगसँगै भएको बताए । उनले भने, ‘संगठित शैलीमा भइरहेको मानव तस्करीको यो नयाँ शैली र स्वरूपबारे हामीले गम्भीर अनुसन्धान गरिरहेका छौं ।’


एम्फेटामाइनको जरो

अन्तर्राष्ट्रिय लागूऔषधको अवैध बजारमा एम्फेटामाइनलाई महँगो मूल्य पर्ने लागूऔषधका रूपमा लिइन्छ । औषधि बनाउने प्रिकर्सर केमिकल स्युडोइफिड्रिनलाई प्रशोधन गरेर नै एम्फेटामाइन बनाइन्छ । जानकारहरूका अनुसार एक केजी स्युडोइफिड्रिन प्रशोधन गरियो भने ४ देखि ५ सय ग्राम एम्फेटामाइन बन्छ । कानुनी छिद्र खोज्दै ओसारपसार गर्नुपर्ने भएकाले पनि यसको मूल्य महँगो पर्ने गरेको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा एक किलो एम्फेटामाइनको एक लाख २० देखि एक लाख ४० हजार अस्ट्रेलियन डलरसम्म पर्छ ।


यसको प्रयोगले सेवनकर्तालाई उत्तेजित पार्छ । कतिपयले यसलाई चुरोटजस्तै गरेर धूवाँ लिन्छन् त कतिपयले सुँघेर पनि प्रयोग गर्छन् । नेपाललाई ट्रान्जिट बनाएर भारत, चीनदेखि थाइल्यान्ड, अस्ट्रेलिया र भियतनामसम्म यसको कारोबार भएको देखिन्छ । लागूऔषध ब्युरोमा लामो समय काम गरेका डीएसपी अपिल बोहराका अनुसार यसका कारोबारीले मुख्यतः चिनियाँ बजार र सानो हिस्सामा भारतीय बजारका निम्ति नेपाल हुँदै ओसारपसार गरेको देखिन्छ ।


०७३ साउन १६ मा प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले व्यापारिक घराना सांघाई ग्रुपका रतनलाल सांघाईसहित अन्य चारलाई पक्राउ गरेको थियो । सांघाई समूहको लगानी रहेको आर्या फर्मा ल्याब प्रालिले औषधि व्यवस्था विभाग र गृह मन्त्रालयसँग अनुमति लिएर कोडिन, डिकोल्डजस्ता औषधि बनाउन अनुमति लिएर भित्र्याएको स्युडोइफिड्रिन औषधि उत्पादनमा प्रयोग नगरी अन्तर्राष्ट्रिय लागूऔषध कारोबारीहरूलाई बेचेको आरोपमा प्रहरीले त्यतिबेला अनुसन्धान थालेको थियो । सोही घटनापछि नेपाली भूमि प्रयोग गरेर ठूलो परिणाममा एम्फेटामाइन र स्युडोइफिड्रिनको कारोबार हुने गरेको

तथ्य खुलेको थियो ।


ब्युरोले सांघाई प्लास्टिक इन्डस्ट्रीको गोदाममा ९ सय ५२ वटा डब्बामा रहेको ४ सय ७१ किलो ट्याब्लेट स्युडोइफिड्रिन प्रहरीले बरामद गरेको थियो । उक्त चक्की प्रशोधन गरी त्यसमा रहेको स्युडोइफिड्रिनबाट ७१ किलो एम्फेटामाइन वा आइसड्रग्स बनाउन सकिन्छ । ब्युरोका अनुसार जसको अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब ३२ करोड रुपैयाँ पर्छ ।

प्रकाशित : मंसिर १, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?