पीडितमैत्री छैन राज्य

घनश्याम खड्का

काठमाडौँ — राष्ट्रसंघको तथ्यांकले भन्छ– संसारमा मानव मृत्युको आठौं ठूलो कारण हो सडक दुर्घटना । प्रत्येक वर्ष १० लाख ३५ हजारले सडक दुर्घटनामा ज्यान गुमाउने गरेकामा सबैभन्दा बढी ५ देखि २९ वर्ष उमेर समूहका छन् ।

ZenTravel

दुर्घटनामा हुने मृत्युदर नेपालजस्ता अल्पविकसित मुलुकमा विकसित देशको तुलनामा तीन गुना ज्यादा छ । कुल दुर्घटनामध्ये ५४ प्रतिशत पैदलयात्री, साइकल चालक र मोटरसाइकल चालकसँग सम्बन्धित छन् । प्रत्येक ४० सेकेन्डमा संसारमा कहीँ न कहीँ सडक दुर्घटनामा एक जनाको ज्यान जान्छ ।

युद्ध र महामारीले भन्दा बढी मानवीय क्षति सडक दुर्घटनाले गराएको तथ्य खुलेपछि राष्ट्रसंघले २००५ अक्टोबर २६ मा संसारभर सडक सुरक्षाको अभियान थाल्ने आग्रहसाथ संकल्प प्रस्ताव पारित गर्‍यो । त्यसै वर्ष नोभेम्बर १७ मा अमेरिका, युरोपलगायत देशमा ‘सडक दुर्घटनाका पीडितहरूको स्मृति दिवस’ मनाउन सुरु गरियो । यसलाई केन्या, घाना, भारत, चीन, जापानलगायत देशले पनि सडक सुरक्षाको संवेदनशीलता दर्शाउने उपयुक्त अवसरका रूपमा प्रयोग गर्न थालेका छन् । नेपालमा भने यसबारे खासै बहस र चर्चा भएको छैन । ‘प्रत्येक वर्ष हजारौं मानिस सडक दुर्घटनामा परिरहेछन्, थुप्रै अंगभंग भएका छन् र ठूलो संख्यामा ज्यान गुमाउनेहरू छन्,’ पीडितशास्त्री डा. शंकरकुमार श्रेष्ठ भन्छन्, ‘यस्तो महामारीजस्तो समस्या सल्टाउन न राज्यका निकाय तत्पर छन्, न हामी नागरिक तहमा जुर्मुराएका छौं, यो कस्तो विडम्बना हो ?’

नेपालको भौतिक, कानुनी र सामाजिक सबै संरचना दुर्घटना निम्त्याउने र पीडित जन्माउने खालको भएको उनको विश्लेषण छ ।

‘सडकको स्थिति नै दयनीय छ, त्यस्तो ठाउँमा गाडीहरूको संख्या बढ्नु आफैंमा दुर्घटना हो, यस्तो जान्दाजान्दै गाडी जति पनि निकाल्न पाउनु अर्को दुर्घटना हो,’ उनी भन्छन्, ‘गाडी चलाउन आयो भन्दैमा लेखपढ गर्न पनि नजान्ने र सामान्य मानवीय संवेदना पनि नभएकालाई सरकारले चालक अनुमतिपत्र दिइरहेको छ, यो पनि आफैंमा ठूलो दुर्घटना हो ।’

सडकमा हुने भ्रष्टाचार, प्रदूषण अनि कमजोर नागरिक सचेतना नै दुर्घटनाका रूपमा अभिव्यक्त हुने ठान्छन् उनी । ‘सभ्य समाजमा मादक पदार्थ खाएर र मोबाइल चलाएर गाडी चलाउन हुँदैन भनिरहनु पर्दैन तर हामी भनिरहेका छौं । यसको अर्थ हो, हामी सभ्यतापूर्वक गाडी चलाउन लायक नै छैनौं,’ उनी भन्छन्, ‘यस्तो समाजमा दुर्घटनाहरू आकस्मिक नभएर नियमित हुन्छन् र प्रत्येक दिन पीडितहरू जन्मिरहन्छन् ।

यो अस्तव्यस्त दुर्घटनाको क्रमलाई रोक्न ट्राफिक व्यवस्थापनमा सुधार, नागरिकको चेतमा वृद्धि र नियमहरूमा कडाइ गर्नुपर्ने उनी ठान्छन् ।
‘तर यतिले मात्रै पुग्दैन,’ श्रेष्ठ भन्छन्, ‘हजारौं हजार मानिस घाइते भएर असहायझैं बाँचिरहेका छन्, तिनलाई राज्यले अरू पीडितलाई झैं यथोचित पुनःस्थापना, औषधोपचार र रोजगारीको व्यवस्था गर्नुपर्छ ।’

विकसित मुलुकमा पीडकलाई सरकारले जेलमा सीपमूलक तालिमहरू दिएजस्तै पीडितलाई पनि रोजगारीका अवसर सिर्जना गर्छ । हामीकहाँ राज्यको सबै प्रणाली नै पीडकलाई सम्बोधन गर्न केन्द्रित रहेको तर पीडितलाई पीडितकै रूपमा छाडिरहने प्रकृतिको रहेको उनको विश्लेषण छ । विकसित मुलुकमा जस्तै हामीकहाँ पनि अंगभंग भएकाहरूको रोजगारीसहितको पुनःस्थापनाका योजना सञ्चालनमा ल्याउनुपर्ने श्रेष्ठ बताउँछन् ।

दुर्घटना भएको सवारी साधनको थर्ड पार्टी इन्सुरेन्स नभएका खण्डमा घाइतेहरूले उपचारै नपाउने अवस्था आएको र मृतकका परिवारले क्षतिपूर्ति पनि नपाउने गरेको अवस्थालाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । ‘संसारभर प्रहरी एम्बुलेन्स लिएर डाक्टर र नर्सको टोलीसहित घटनास्थलमा जाने चलन छ,’ उनी भन्छन्, ‘दुर्घटनामा पर्दा उपचार पाउनु नागरिकको हक भएकाले यसो गरिएको हो, हामीकहाँ चाहिँ उपचारै नपाएर घाइतेहरूले थप पीडित बन्नुपरेको छ, यसलाई अन्त्य गर्नै पर्छ ।’

प्रकाशित : मंसिर १, २०७६ ०७:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘दुर्घटना होइन, धराप’

मकर श्रेष्ठ

काठमाडौँ — मुलुकमा पछिल्लो १० वर्षमा भएका दुर्घटनामा २० हजार १ सय २७ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा भएका १ लाख ७ सय सवारी दुर्घटनामा १ लाख २४ हजार १ सय ८१ जना घाइते भएका छन् । यसमध्ये गम्भीर घाइते हुनेको संख्या नै ४१ हजार ३ सय ५७ छ । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएको प्रहरीले जनाएको छ । 


‘तथ्यांकहरू हेर्दा यसलाई दुर्घटना मात्र भन्न मिल्दैन,’ मानवशास्त्री एवं त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका सहप्राध्यापक सुरेश ढकालले भने, ‘यो दुर्घटना होइन, धरापमा पारिएको हो । ३४ जना अट्ने बसमा ७० जना चढाएर दुर्घटना गराउनु भनेको धरापमै पार्नु नभए अरू के हुन्छ ?’

सडक दुर्घटनामा परेकामध्ये ८० प्रतिशतको हातखुट्टा भाँचिने गरेको राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी डा. विनोद शेरचन बताउँछन् । ‘मोटरसाइकल दुर्घटनामा पर्नेमध्ये धेरैको टाउको, छाती र शरीरका विभिन्न अंग भाँच्चिएको पाइएको छ,’ उनले भने । गम्भीर घाइते भएर एक वर्षसम्म आईसीयू कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्थाका १० प्रतिशत हुने गरेको उनले जनाए ।

अघिल्लो वर्ष ट्रमा सेन्टर आएका १६ हजार ४ सय ४१ घाइतेमध्ये २२ प्रतिशत सडक दुर्घटनाकै रहेको शेरचनले जानकारी दिए । उनका अनुसार सडक दुर्घटनामा परेका ४० प्रतिशत घाइते दुईपाङ्ग्रे सवारीका हुने गरेका छन् । ‘यस्तो दुर्घटनामा परेका १० प्रतिशत व्यक्ति जीवनभर अपांगतामा पुग्ने गरेका छन् । न्युरो समस्याका साथै हातखुट्टा गुमाउने र आँखाको दृष्टि कम हुने समस्या बढी देखिएको छ ।

पछिल्लो ६ वर्षमा मृत्यु भएका १४ हजारमध्ये पुरुषको संख्या १० हजार ३ सय ९९ छ । पुरुषको मृत्यु भएपछि त्यसले पारिवारिक विचलन ल्याउने गरेको ढकालले बताए । ‘जसले कमाउने हो, ऊ नै नभएपछि त्यो परिवार कस्तो हुन्छ होला ?’
उनले भने ।

गत वर्ष दुर्घटनामा परेर २ हजार ७ सय ८९ जनाको मृत्यु भएकोमा २ हजार जना पुरुष छन् । त्यस्तै ४ सय ६७ महिला, १ सय ६२ बालक र एक सय चार जना बालिका छन् । दुर्घटनामा परी मृत्यु हुनेको संख्या गत वर्ष सबैभन्दा बढी हो । गत वर्ष औसतमा दैनिक ७ जनाले ज्यान गुमाएका छन् । ‘दैनिक यतिका मानिसको ज्यान जाँदा दुर्घटना न्यूनीकरणको प्रयास के भयो ?’ ढकालले भने, ‘यसमा राज्यले ठूलो मूल्य चुकाइरहेको छ । तर दुर्घटना न्यूनिकरणका लागि संस्थागत प्रयास खासै छैन ।’

पछिल्लो पाँच वर्षमा भएका दुर्घटनामध्ये राजमार्गमा मात्र ५२ प्रतिशत भएका छन् । ५३ हजार ६ सय ५९ दुर्घटना भएकोमा २८ हजार ९६ दुर्घटना राजमार्गमा भएका छन् । सहरी सडकमा ३५ प्रतिशत र ग्रामीण सडकमा १२ प्रतिशत दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ ।

मुख्य कारण चालकको लापरबाही
काठमाडौं (कास)– दुर्घटना हुनुमा चालकको लापरबाही पहिलो नम्बरमा छ । गत वर्ष भएका १३ हजार दुर्घटनामा ९ हजार ९ सय १९ मा चालकको लापरबाही पाइएको छ । ‘चालकले ट्राफिक नियम पालना गर्ने हो भने दुर्घटना आधा घट्थ्यो,’ प्रहरी प्रवक्ता विश्वराज पोखरेलले भने, ‘क्षमताभन्दा बढी यात्रु चढाउने चालक नै त हुन् । अनि दुर्घटनाको कारण चालकको लापरबाही नभए कसको हुन्छ ?’

सवारी चालक भने आफ्नो कमजोरी स्विकार्न तयार छैनन् । २० वर्षदेखि सार्वजनिक बस चलाइरहेका दोलखा बोचका धनबहादुर तामाङले भने, ‘सडकमा खाल्डाखुल्डी, यात्रुको गल्ती र मौसमको अवस्थामा कसैले ध्यान दिँदैन । दुर्घटनाको दोष भने चालकलाई मात्रै दिने गरिएको छ ।’ चालकले गर्ने गल्ती सुधार गर्न सरकार र सम्बन्धित यातायात व्यवसायी समितिले चासो दिनुपर्ने उनले बताए ।

गत वर्ष भएका दुर्घटनामध्ये १ सय ९८ मा यात्रुको गल्ती र २७ मा सडकको अवस्थालाई कारण मानिएको प्रहरीको तथ्यांक छ । तीव्र गतिका कारण भएका दुर्घटना २ हजार १ सय ७१ छन् । ‘सवारीसाधन मर्मतसम्भार नगरी चलाउँछन् । ब्रेक फेल भए पनि पुर्‍याउँछु भन्ने जोखिम चालकले लिन्छन्,’ पोखरेलले भने ।

प्रहरीले दुर्घटना गराउने चालकको उमेरबारे पनि विश्लेषण गरेको छ । २५ देखि ४० वर्ष उमेर समूहका चालकले गत वर्ष बढी दुर्घटना गराएको प्रहरीले जनाएको छ । १३ हजार ३ सय ६२ मध्ये ६ हजार चार सय ५७ सवारी दुर्घटनामा १६ देखि २५ वर्ष उमेर समूहका चालक पाइएको छ । २५ देखि ४० वर्ष उमेर समूहका चालकले १० हजार चार सय ६७ र ४० वर्षभन्दा बढी उमेर समूहका चालकले ४ हजार ४ सय ८७ वटा दुर्घटना गराएका छन् ।

दुर्घटनापछि प्रहरीले चलाउने सवारीसम्बन्धी मुद्दा पनि हरेक वर्ष बढ्दै गएका छन् । ०७२ मा एक हजार ७ सय १४ मुद्दा दर्ता भएकोमा ०७३ मा बढेर दुई हजार ४४ पुगेको छ । ०७५ मा दुई हजार एक सय ६७ र ०७५ मा दुई हजार दुई सय ८४ सवारी ज्यान मुद्दा चलाइएको थियो । सवारी अंगभंगको मुद्दा पनि यसरी नै बढेको छ ।

बढी दुर्घटनामा मोटरसाइकल
मोटसाइकल सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्यांक छ । २२ हजार सवारी दुर्घटनामा मोटरसाइकल मात्रै ८ हजार ५ सय ५४ छन् । ‘लापरबाही किसिमले चलाएकै कारण मोटरसाइकल दुर्घटना बढी हुने गरेको छ,’ प्रहरी प्रवक्ता पोखरेलले भने । मोटरसाइकलपछि जिप र कार दुर्घटना हुने गरेको छ । गतवर्ष कार र जिप दुर्घटनाको संख्या ६ हजार ७९ छ । दुर्घटना हुनेमा बस तेस्रो नम्बरमा पर्छ । प्रहरीका अनुसार गत वर्ष दुई हजार ६ सय बस दुर्घटनामा परेका छन् ।

प्रकाशित : मंसिर १, २०७६ ०७:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×