कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

रूपन्देही — गुल्मीको चन्द्रकोट–३ हर्राचौरको चौराली जंगलमा कात्तिक १६ गते हत्या गरेर फालेको अवस्थामा भेटिएका तीन जनाको सनाखत भएको छ । हत्यामा संलग्न रहेको आशंकामा गुल्मी प्रहरीले बुधबार राति दुई जनालाई पोखराबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बागलुङ, गल्कोट नगरपालिका–८ का पूर्णबहादुर सुनार र माधव सुनार रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेन्द्रविक्रम शाहले जानकारी दिए । पूर्णबहादुर र माधव नाताले काका–भतिज हुन् । उनीहरूले प्रारम्भिक सोधपुछमा हत्या स्वीकार गरेको शाहले बताए । ‘थप अनुसन्धान र सोधपुछ बाँकी नै छ,’ उनले भने, ‘नियोजित किसिमले गरिएको यो हत्याको अनुसन्धान प्राविधिक पक्षबाट फेला परेको छ ।’


पक्राउ परेका सुनारले पोखरा उपमहानगरपालिका–२५ स्थित फेदीमा होटल सञ्चालन गर्दै आएका थिए । २५ वर्षीया सरिता लिम्बू त्यही होटलमा जुम्ल्याहा छोरीसहित काम गर्दै आएकी थिइन् । लिम्बूसँग होटल मालिक पूर्णबहादुरको शारीरिक सम्पर्क रहँदै आएको र यसैलाई लिएर लिम्बूले बिहे गर्न दबाब दिएपछि घर लैजाने बहाना बनाएर जंगलमा पुर्‍याई हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी स्रोतले बतायो ।


महिलाका श्रीमान् बिहीबार नै प्रहरीको सम्पर्कमा आएको डीआईजी शाहले बताए । काठमाडौं मूलपानी बस्दै आएका उनलाई गुल्मी प्रहरीले झिकाएको छ । उनले आफू श्रीमतीसँग तीन वर्षदेखि नै सम्पर्कमा नरहेको जानकारी गराएको शाहले बताए ।


प्रकाशित : कार्तिक २९, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?