कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालापानी अतिक्रमणबारे भारतीय प्रधानमन्त्रीसँगै वार्ता गर्नुपर्छ : नेता पौडेल

अर्जुन राजवंशी

बिर्तामोड — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको कालापानी क्षेत्र अतिक्रमणको विषयमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीधा वार्ता गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् ।
कालापानीको विवाद मन्त्रालयको सचिव वा मन्त्रीस्तरीय वार्ताले मात्र टुंगो लगाउन नसकिने उनको दाबी थियो ।

कालापानी अतिक्रमणबारे भारतीय प्रधानमन्त्रीसँगै वार्ता गर्नुपर्छ : नेता पौडेल

झापाको बिर्तामोडमा बिहीबार बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले मुलुकको पश्चिमी क्षेत्रको सिमाना विवाद दीर्घकालिन रुपमा समाधानका लागि ‘प्रधानमन्त्री टू प्रधानमन्त्री’ वार्ता हुनुपर्ने उनको जोड छ । राष्ट्रियता र मुलुकको सिमानाको विषय भएकाले सरकारलाई सहयोग गर्न कांग्रेस सधैं तयार रहेको उनले बताए ।

‘मुलुकको सिमाना अतिक्रमणको विषय सबैका लागि गम्भीर कुरा हो,’ पौडेलले भने, ‘यो विषयमा प्रधानमन्त्री स्वयं अघि सरेर भारतीय प्रधानमन्त्री मोदीसँग वार्ता गर्नुपर्छ । हाम्रो मुलुकको पश्चिमी सिमाना कहाँसम्म हो, दीर्घकालिन रुपमा समाधान हुनेगरी तय गर्नुपर्छ ।’ नेपालको कालापानी क्षेत्रलाई आफ्नो सिमानाभित्र पर्नेगरी नयाँ नक्सा जारी गरेको भारतसंग वार्ता गर्न सरकारले ढिलासुस्ती गरिरहेको उनले बताए ।

नेता पौडेलले सरकारले मुलुकको सिमाना सुरक्षित गर्न नसकेको आरोप समेत लगाए । आफ्नो सिमाना सुरक्षित नगरेकै कारण भारतले मिचेको उनले टिप्पणी गरे । उनले सरकारलाई तत्काल आफूसँग भएका यथेस्ट प्रमाणसहित सीमा विवाद समाधान गर्नेगरी भारतसँग वार्तामा बस्न आग्रह गरे । उनले नेपाली सिमाना अतिक्रमण गर्ने कार्यमा भारतसंगै चीनले समेत ‘हेपाहा’ प्रवृति अपनाएको बताए ।

‘हामीलाई भारतले हेप्यो । अहिलेको विषयमा चीनले समेत हेप्यो,’ पौडेलले भने, ‘लिपुलेक भारतले दाबी गर्दै गर्दा चीनले नेपाल खोज्नुपर्दैन्थ्यो ?’ उनले मुलुकको उत्तर–दक्षिण दुवैतिरको सिमाना सुरक्षित नरहेको टिप्पणी गरे ।

पौडेलले पहिलो चरणको प्रयास सफल नभए दोस्रो चरणमा सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्नुपर्ने धारणा राखे । ‘सुगौली सन्धीमा हाम्रो सिमाना महाकाली नदीसम्म भनिएको छ । तर, यर्थाथ सिमाना कहाँसम्म हो ?’ उनले भने, ‘लिम्पियाधुराबाट बगेर आउने काली खोला कि लिपुलेकबाट बगेर आउने काली खोलासम्म हो हाम्रो सीमा । सरकारले अहिले विवाद भएकै बेला टुंग्याउनुपर्छ ।’


प्रकाशित : कार्तिक २८, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?