कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थबाङमा चन्द समर्थितको उम्मेदवारी

राउतको पार्टी सबै पदमा लड्दै
कान्तिपुर संवाददाता

रोल्पा — थबाङ गाउँपालिका १ को वडाध्यक्षका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बुधबार नेकपा, कांग्रेस र प्रतिबन्धित चन्द समूह समर्थित एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

वडा सदस्य भद्रकुमार झाँझीले पदबाट राजीनामा दिएर वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरसमक्ष राजीनामा बुझाएका छन् । उनी चन्द समूहका समर्थक हुन् । मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीका अनुसार झाँझी, नेकपाका जनकबहादुर बुढामगर र कांग्रेसका कलम रोकामगरको उम्मेदवारी परेको छ ।


स्थानीय निर्वाचनमा वडाध्यक्ष फर्कबहादुर बुढामगरको प्यानलै विजयी भएको थियो । उनीहरू सबै चन्द समूह समर्थित हुन् । बुढामगरको गत असार ६ मा मस्तिष्कघातबाट मृत्यु भएको थियो । उनले सत्तापक्षीय नेकपाका उम्मेदवारलाई फराकिलो मतान्तरमा हराएका थिए । झाँझीले भने कुनै समूहको समर्थक नभई आफूले स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिएको बताएका छन् । थबाङका ५ मध्ये ४ वटा वडासहित अध्यक्ष र उपाध्यक्षमा नेकपा समर्थित उम्मेदवार विजयी भएका थिए ।


जनकपुरस्थित संवाददाताका अनुसार सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ अन्तर्गत उपनिर्वाचन हुने सबै पदमा उम्मेदवारी दिएको छ । प्रदेश २ मा एक गाउँपालिका अध्यक्ष र ९ वडाध्यक्षका लागि मंसिर १४ मा उपनिर्वाचन हुँदै छ । पहिलो पटक निर्वाचनमा सहभागी भएको उक्त पार्टीले महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा अन्जनीदेवी मण्डललाई उठाएको छ ।


राजपाबाट निर्वाचित विनोद चौधरीको मृत्युपछि रिक्त पदका लागि दलका ११ र स्वतन्त्र ९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । अलग मधेस राज्यको नारा दिएर विभिन्न गतिविधि गर्दै आएका राउतले ०७५ फागुनमा सरकारसँग सहमति गरेका थिए । त्यसलगत्तै उनले पार्टी गठन गरेका थिए ।


प्रकाशित : कार्तिक २८, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?