कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निमोनियाले गुम्दै बालबालिका : गत वर्ष मात्र तीन सय जनाको मृत्यु

फातिमा बानु

काठमाडौँ — सरकारले वार्षिक ४ अर्ब खर्चिए पनि अझै बालबालिकाले निमोनियाबाट ज्यान गुमाइरहेका छन् । गत वर्ष मात्र ३ सय बालबालिकाको निधन भएको छ । 

निमोनियाले गुम्दै बालबालिका : गत वर्ष मात्र तीन सय जनाको मृत्यु

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष देशभरका स्वास्थ्य संस्थामा १ हजार २ सय बालबालिकाको उपचारकै क्रममा ज्यान गएको थियो । तीमध्ये ३ सयको मृत्युको कारण निमोनिया हो ।

विश्वमै ५ वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया मानिन्छ । ‘झाडापखाला, मिजल्स, मलेरिया, एचआईभी बाल मृत्युदरका अन्य कारण हुन्,’ महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले भने, ‘निमोनिया सजिलै रोकथाम र उपचार गर्न सकिने भए पनि बालबालिकाले यसकै कारण ज्यान गुमाइरहेका छन् ।’ गौतमका अनुसार गरिब र पिछडिएका समुदायका बालबालिका बढी संक्रमित छन् ।


‘सहरी भेगमा पनि आमाको दूध खान नपाएका बालबालिका संक्रमित छन्,’ उनले भने, ‘निमोनियाविरुद्धको खोप नलगाइएका र सरसफाइमा ध्यान नदिइएका बालबालिका उत्तिकै जोखिममा छन् ।’ एन्टिबायोटिक औषधिको प्रयोगले निमोनिया सजिलै निको पार्न सकिने गौतमले बताए । संक्रमित बालबालिकामध्ये एक तिहाइ मात्रै एन्टिबायोटिकको पहुँचमा रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । १५ महिनामुनिकालाई निमोनियाविरुद्धको खोप दिएर जोगाउन सकिने चिकित्सकहरू बताउँछन् । तर नेपाल स्वास्थ्य तथा जनसंख्या सर्वेक्षण–२०१६ ले एक प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाएको देखाएको थियो । त्यस्तै २१ प्रतिशतले आंशिक खोप मात्रै पाएका छन् ।


यद्यपि नेपाल पाँच वर्षमुनिको मृत्युदर न्यूनीकरणमा विश्वमै प्रशंसित छ । निमोनियाविरुद्ध २५ वर्षदेखि काम गरिरहेको सरकारले यो अवधिमा मृत्युदर ५७ प्रतिशतले घटाएको छ । बालबालिकालाई नि:शुल्क खोप, भिटामिन ए, पोषण उपलब्ध गराइनुका साथै संक्रमितको २८ दिनसम्म नि:शुल्क उपचार गर्ने गरिएको गौतमले बताए । ‘गरिब बस्तीमा एन्टिबायोटिक औषधि र पोषणयुक्त खानेकुरा नि:शुल्क वितरण भइरहेको छ । बालबालिकालाई खोजीखोजी खोप लगाइँदै छ,’ उनले भने, ‘कुपोषित बालबालिकालाई पुन:स्थापना केन्द्रमा राखेर उपचार गरिँदै आएको छ ।’ गौतमका अनुसार नेपालका ३० लाख बालबालिकामध्ये वार्षिक १७ हजारलाई श्वासप्रश्वासजन्य समस्या देखिन्छ । तीमध्ये अधिकांश निमोनियाको जोखिममा पर्छन् ।


बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंका अनुसार कीटाणु, जीवाणु, विषाणु संक्रमणबाट निमोनिया हुन्छ ।

प्रकाशित : कार्तिक २८, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?