प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर

स्थानीय भन्छन्– बरु अस्पताल बनाइदिएको भए हुन्थ्यो
अर्जुन राजवंशी

(झापा) — प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले ‘भ्यु–टावर’ निर्माण सुरु भएको छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका–३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो । ठेक्का चीनको जेटसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले संयुक्त रूपमा पाएका छन् ।

०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्ने छ । सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनामा संघीय सरकारको सहरी विकास मन्त्रालयको मात्र लगानी रहने आयोजना कार्यालय झापाका निमित्त प्रमुख विनोद सिंहले बताए ।


भ्यु–टावरका लागि पाँच बिघा जमिन छुट्याइएको छ । स्थानीयले १० धुरदेखि एक बिघासम्म जग्गा दमक नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् । टावरमा १८ तला (७२ मिटर) स्थायी संरचना र ७ तला (२८ मिटर) स्टिलको संरचना हुने साइट इन्जिनियर भूपेन्द्र यादवले जनाए । प्रत्येक तला ४ मिटर उचाइको हुनेछ । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालयहरू रहनेछन् । अन्डरग्राउन्ड पार्किङमा २ सय ४० सवारी साधन राख्न मिल्नेछ । १० कट्ठामा बन्ने टावर परिसरमा बगैंचा, पोखरी, फलैंचा, बालउद्यान र ४ सय मानिस अट्ने खुला स्टेजलगायत बनाइने इन्जिनियर यादवले बताए ।


ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा टावर निर्माणको निर्णय गरिएको थियो । निर्णयलगत्तै स्थानीयले निःशुल्क जमिन उपलब्ध गराएपछि प्रधानमन्त्रीले ०७३ जेठ २८ गते शिलान्यास गरेका थिए । ठेक्का संयुक्त भए पनि अहिले ओम साइराम जेभीले मात्र काम गरिरहेको छ । ‘अहिले जगको काम भइरहेको छ,’ आयोजनाका निमित्त प्रमुख सिंहले भने, ‘ठूलो संरचना भएकाले जग बलियो बनाउन ‘पाइल’ प्रणालीबाट काम गरिरहेका छौं ।’ हाल चार मेसिन र दैनिक करिब ३ सय श्रमिक निर्माणमा खटिइरहेको उनले जानकारी दिए । भ्यु–टावर निर्माण सुरु भए पनि अधिकांश नगरवासी टावरको सट्टा दमकमा अरू नै आयोजना आवश्यक रहेको बताउँछन् ।


समाजवादी पार्टी प्रदेश १ अध्यक्षसमेत रहेका स्थानीय प्रवीन चाम्लिङले दमकमा भ्यु–टावर आवश्यक नभएको तर्क गरे । भ्यु–टावर निर्माणबारे नगरवासीको फरक सुझाव सम्बन्धित निकायले नसुनेको उनको गुनासो छ । ‘पछिल्लो समय यसबारे हामीसँग औपचारिक छलफल भएको छैन । दुई वर्षअघि नगरपालिकाले गरेको छलफलमा मैले भ्यु–टावरको सट्टा अत्याधुनिक सरकारी अस्पताल बनाउन सुझाव दिएको थिएँ,’ उनले भने ।


चाम्लिङले दमकको समग्र विकासमा टावरभन्दा अरू नै विषय प्राथमिकतामा पर्नुपर्ने बताए । ‘यति ठूलो बजेट शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गर्न सकेको भए दमकलाई विशेष बनाउन सकिन्थ्यो,’ उनले भने, ‘तर अनुत्पादक क्षेत्रमा लगानी गरिँदै छ ।’ दमकलाई हेर्न लायक बनाइसकेपछि मात्र भ्यु–टावर बनाउनुपर्ने धारणा राख्दै उनले प्रश्न गरे, ‘टावर चढेर पर्यटकले कहाँ हेर्ने ? के हेर्ने ?’


स्थानीय युवा पर्शुराम रिजालले पनि भ्यु–टावरको सट्टा दमकमा सुविधासम्पन्न अस्पतालकै आवश्यकता औंल्याए । ‘हामी बिरामी हुँदा धरान वा विराटनगर कुद्नुपर्छ,’ उनले भने, ‘यही बजेटले अत्याधुनिक अस्पताल बनाउन सकिन्थ्यो ।’ सरकारले दमकको प्राथमिकताभन्दा बाहिरको आयोजनामा ठूलो धनराशि खर्च गरिरहेको उनले टिप्पणी गरे ।


दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले टावर बनाउनुको प्रयोजन आमनगरवासीलाई थाहा नभएको बताए । ‘भ्यु–टावर कस्तो बन्छ ? कसले किन बनाउँदै गरेको हो ? नगरवासीलाई केही जानकारी छैन,’ उनले भने ।


राप्रपाका नेता राम थापाले भ्यु–टावरबारे आफूलाई पर्याप्त जानकारी नभएको बताए । सम्बद्ध निकायले सरोकारवालासँग छलफल नगरेको उनको भनाइ छ ।


दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले भ्यु–टावर निर्माणमा कुनै समस्या नरहेको बताए । नगरभित्र अस्पताल, मेडिकल कलेज निर्माण गर्नुपर्नेलगायत धारणा आए पनि भ्यु–टावर पनि महत्त्वपूर्ण भएको उनले तर्क गरे ।


‘अरू आयोजना पनि विस्तारै बन्छन् । भ्यु–टावर नगरको एउटा चिनारी बन्नेछ,’ उनले भने, ‘यसबाट नगरको विकासमा ठूलो टेवा पुग्नेछ ।’


दमक ३ का वडाध्यक्ष नवीन बरालले भ्यु–टावर निर्माणले उत्साही बनेको बताए । ‘टावर निर्माण सुरु भएकामा एकदमै खुसी छौं,’ उनले भने, ‘यति ठूलो र अत्याधुनिक निर्माण हाम्रा लागि एउटा सपना थियो । त्यो सपना पूरा हुने क्रममा छ ।’ निर्माण समयमै सकिनेमा आफूहरू आशावादी रहेको उनले बताए । टावर हेर्नका लागि मात्र नभई व्यावसायिक थलोसमेत बन्ने भएकाले दमकको समग्र विकासमा यसले टेवा पुर्‍याउने उनले दाबी गरे । दमक नगरपालिकाले भ्यु–टावर निर्माण स्थालमा नयाँ सहर बसाल्ने अवधारणा पनि अघि सारेको छ ।


टावर आसपास क्षेत्रमा पर्यटकीय सहर स्थापना गर्न नगरपालिकाले जग्गाधनीहरूसँग छलफल गरिरहेको वडाध्यक्ष बरालले जानकारी दिए । ‘पहिलो चरणमा कम्तीमा १० बिघामा नयाँ सहर बसाउने गरी छलफल गरिरहेका छौं,’ उनले भने । नगरपालिकाले टावर निर्माणस्थलको ५ सय मिटर वरिपरि जग्गा किनबेच गर्न रोक लगाएको छ ।

प्रकाशित : कार्तिक २७, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्री बन्न दौडधुप

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयसहित मन्त्रिपरिषद्का सदस्यहरू फेर्न चाहेपछि सत्तारूढ नेकपाका नेताहरू आन्तरिक लबिइङमा उत्रिएका छन् ।

यो महिना सकिएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनाअनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग दिनहुँजसो छलफल गरिरहेका छन् ।

पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षका मन्त्रीहरू फेरबदल गर्ने र त्यसमा नयाँ व्यक्ति कसलाई लैजाने भन्ने विषयमा दुई अध्यक्षबीच लेखाजोखा भइरहेको स्रोतले जनाएको छ । ‘नयाँ ढंगले अघि बढ्न टिममा केही हेरफेर गर्ने मनसाय प्रधानमन्त्रीबाट आएपछि गृहकार्य भइरहेको छ,’ प्रधानमन्त्री निकट नेकपाका एक नेताले भने, ‘केही दिनभित्रै मन्त्रिपरिषद् हेरफेर हुनसक्छ ।’

यसअघि पनि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको चर्चा चल्ने गर्थ्यो । अहिले भने गम्भीरतापूर्वक नै पुनर्गठनको तयारी भइरहेको ती नेताले बताए ।

सत्ता साझेदार समाजवादी पार्टीको पनि सरकारमा बस्ने/नबस्ने टुंगो गर्न संघीय परिषद् र केन्द्रीय समिति बैठक हुँदै छ । बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा रहेकाले समेत ३० गतेअघि मन्त्रिपरिषद् फेरबदल नहुने नेकपाका नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरूलाई मंसिर १ देखि लागू हुने गरी राजीनामा दिन गत शुक्रबार नै भनिसकिएको छ । सचिवालय र मन्त्रीहरूमध्ये राम्रा काम गरेकालाई प्रधानमन्त्री ओलीले दोहोर्‍याउने र बाँकीमा नयाँ व्यक्तिलाई ल्याउने तयारी छ ।

मन्त्रिपरिषद् र सचिवालयको टिम पुनर्गठनमा हालका केही व्यक्ति भने दोहोरिने प्रधामनन्त्रीनिकट स्रोतले बताएको छ । सचिवालयमा रहेका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल नयाँ टिममा कायमै रहने संकेत ओलीका विश्वासपात्र समेत रहेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दिएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालबाटै रिमाल परिवर्तनको कुरा हल्ला मात्र हुने भन्दै लेखेका छन्, ‘प्रमको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।’

प्रकाशित : कार्तिक २६, २०७६ २१:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×