कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुल्क फिर्ताको माग गर्दै युनिभर्सल मेडिकल कलेजमा तालाबन्दी

कान्तिपुर संवाददाता

रुपन्देही — भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सले लिएको अतिरिक्त शुल्कको फिर्ता माग गर्दै विद्यार्थीले सोमबार तालाबन्दी गरेका छन् ।

बीडीएस र एमबीबीएस पढ्ने विद्यार्थीहरुले कलेजको प्रशासनिक, लेखा, क्याम्पस प्रमुख तथा सहायक प्रमुखको कक्ष लगायतमा तालाबन्दी गरेका हुन् ।


तालाबन्दीसँगै कलेजको शैक्षिक तथा प्रशासनिक काम पूर्ण रुपमा ठप्प भएको छ । २४ घण्टाभित्र शुल्क फिर्ता नभए कलेजबाट इन्टर्नमा रहेका चिकित्सकले समेत काम नगर्ने चेतावनी दिए ।


अस्पताल ठप्प पार्न भन्दै निस्किएका विद्यार्थीले 'सरोकारवालाको सुझाव अनुसार बिरामीको संवेदनशीलतालाई बुझ्नुपर्ने भन्दै' उपचार सेवा भने सुचारु गर्न दिएका छन् । यता कलेज प्रशासनले भने शुल्क समायोजन गर्न माथिल्लो निकायबाट तयारी भएकाले केही समय लाग्ने बताएको छ ।


शुल्क फिर्ता लगायतको मागसहित युनिभर्सल मेडिकल कलेजका विद्यार्थी कात्तिक १४ गतेदेखि आन्दोलनमा छन् । सरकारले बीडीएसका लागि १९ लाख ३२ हजार र एमबीबीएसका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर मेडिकल कलेजले त्यस बाहेक अतिरिक्त रकम उठाउँदै आएका छन् ।


त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको मेडिकल कलेजले विश्वविद्यालयले निर्धारण गरेकै मूल्य लिएको दाबी गर्छ । विद्यार्थीहरुलाई इन्टर्नसिप गराउँदा लाग्ने खर्चका लागि कलेजले अतिरिक्त रकम उठाउने गरेको मेडिकल प्रशासनले जनाएको छ । आन्दोलनका कारण वार्षिक परीक्षा स्थगित भएको छ ।

प्रकाशित : कार्तिक २५, २०७६ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?