कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा.केसीलाई जबर्जस्ती काठमाडौं लैजान खोजेपछि डडेलधुरामा तनाव

डीआर पन्त

डडेलधुरा — आठौं दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको भन्दै उनलाई जबर्जस्ती हेलिकप्टरमा काठमाडौं लैजान खोजिएपछि डडेलधुरा तनावग्रस्त बनेको छ ।

डा.केसीलाई जबर्जस्ती काठमाडौं लैजान खोजेपछि डडेलधुरामा तनाव

डा.केसीलाई अनशनस्थलबाट स्थानान्तरण गराउन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।


डडेलधुरा अस्पतालले विज्ञप्ती जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको जानकारी दिएपछि उनलाई अनशनस्थल छोडाउनका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको हो ।


सोमबार बिहानैदेखि अस्पतालमा पुगेर केसीलाई काठमाडौं लैजानका लागि सुरक्षाकर्मीले दबाब दिएपनि डा केसीले डडेलधुरा नछोड्ने अडान लिएका छन् ।


केसीका समर्थकले पनि उनलाई स्थानान्तरण नगर्न आग्रह गर्दै आएका छन् । अहिले डडेलधुरा बजार क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ । बजार क्षेत्रमा उनको समर्थनमा प्रदर्शन भइरहेको छ भने बजार पनि बन्द गरिएको छ । स्थानीयले टायर बालेर प्रदर्शन गरेका छन् ।


चिकित्सकका अनुसार केसीको स्वास्थ्य अवस्था नाजुक भएको छ । डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भन्दै सुरक्षित स्थानमा पठाउन आग्रह गरिसकेको छ ।


‘डडेलधुरा अस्पताल रोडको एउटा कोठामा अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिन सुरु भएको छ,’ अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले भने, ‘हिजो र अस्तीको तुलनामा उनको स्वास्थ्य स्थिति निकै कमजोर भएको छ ।’


चिसोले डा. केसीको स्वास्थ्य झन् प्रतिकुल हुन सक्ने पनि उनले बताए । केसीले डडेलधुरा अस्पताल नजिकै १८ गतेबाट अनशन सुरु गरेका थिए भने उनको स्वास्थ्यमा समस्या आएपछि चार दिनअघि अस्पताल भर्ना भएका थियो ।

प्रकाशित : कार्तिक २५, २०७६ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?