कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेन बन्नुअघि नै साइकल बिसौनी

सीमा तामाङ

काठमाडौँ — उपत्यकामा सडक विस्तारसँगै साइकल प्रयोगकर्ता बढिरहेका छन् तर पर्याप्त साइकल लेन नहुँदा ठूला सवारीबाट हुन सक्ने जोखिम उत्तिकै छ । साइकलप्रेमीहरूलाई मध्यनजर गर्दै ललितपुर महानगरपालिकाले साइकल सिटी बनाउँदै छ । 

लेन बन्नुअघि नै साइकल बिसौनी

यही योजनाअन्तर्गत महानगरले चार स्थानमा साइकल स्ट्यान्ड (बिसौनी) निर्माण गरेको छ । महानगरले साइकल लेन निर्माणअघि नै स्ट्यान्डको काम रिलायन्स इन्जिनियरिङ एन्ड बिल्डर कम्पनीलाई दिएको हो ।


कम्पनीले महानगरपालिकाभित्र १० स्थानमा साइकल स्ट्यान्ड निर्माणको जिम्मा पाएको छ । एक सय वटा स्ट्यान्ड कात्तिक मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भए पनि हालसम्म चार ठाउँमा ३७ वटा बनेका छन् । ‘अहिले दुई ठाउँमा निर्माण भइरहेको छ,’ कम्पनीका प्रबन्धक ईश्वर श्रेष्ठले भने ।


कम्पनीले महानगर परिसरभित्र दुई ठाउँमा, महापालमा एक ठाउँ र जावलाखेल चिडियाखाना जाने बाटामा साइकल स्ट्यान्ड निर्माण गरिसकेको श्रेष्ठले जानकारी दिए । मगंलबजार परिसरमा पुरातत्व विभागसँग इजाजत लिनुपर्ने भएकाले ढिलाइ भएको कम्पनीले जनाएको छ ।


‘स्ट्यान्ड बनाउने भनिएको कतिपय ठाउँमा स्थानीयवासीले चाडपर्व मनाउने, गुठीको भोज खाने, नाच आयोजना गर्दा रहेछन्,’ उनले भने, ‘अर्को ठाउँ पहिचान नहुँदा बेलैमा निर्माणमा ढिलाइ भएको हो ।’ लगनखेलको ५ नम्बर वडा कार्यालयसँगै र पाटन अस्पतालको गेटनजिक स्ट्यान्डका लागि खाल्डो खनिरहेको उनले बताए । एक सय स्ट्यान्ड बनाउन महानगरले यो वर्ष पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ ।


लेनसँगै साइकल–चित्र

महानगरले पहिलो चरणमा कुपन्डोलबाट जावलाखेल–लगनखेल हुँदै मंगलबजार–पुल्चोकसम्म साइकल लेन बनाउन लागेको छ । महानगरको यो सडकमा साइकल र अरू सवारीसमेत चलाउने गरी लेन बनाउन लागेको हो । अरू साधनसँगै छेउमा चलाउन मिल्ने गरी ४.५७ किलोमिटर र साइकल मात्रै चलाउन मिल्ने ४ सय २० मिटर छुट्टै लेनको व्यवस्था गरिएको महानगरका इन्जिनियर रामरतन शाह बताए । ‘साइकल लेन छुट्याउनुअघि पिच गर्नुपर्ने भएकाले काम सुरु नभएको हो,’ उनले भने, ‘लेनको डिजाइन तयार छ, सडक विभागले पिच नगर्दा ढिलाइ भयो ।’


विभागले कुपन्डोलदेखि पुल्चोकसम्म सडक किनारमा उप्केका, भत्केका ठाउँमा पिच गरिसकेको छ । पिच गरिसकेपछि मात्र सडकमा साइकल लेनका लागि रङ लगाउनेलगायत काम हुने इन्जिनियर शाहले बताए ।


‘सडकको दायाँ र बायाँ दुवैतर्फ १ दशमलव २ मिटर चौडाइको लेन निर्माण गरिनेछ,’× उनले भने ‘उक्त लेन साइकलको मात्रै भनेर चिनाउन साइकलको चित्र पनि बनाउँछौं ।’ महानगरले पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट चारवटा साइकल लेन बनाउने योजनासमेत अघि सारेको छ । यसका लागि गत वर्षमा ५० लाख रुपैयाँ छुट्याइएको थियो ।


छुट्टै साइकल कानुन

साइकल प्रयोगकर्ताको सुरक्षालाई ध्यान दिँदै महानगरपालिकाले साइकल कानुन बनाउने जिम्मा नेपाल साइकल सोसाइटीलाई दिएको छ । गत वर्ष महानगरले परमर्शदाताको रूपमा समाजलाई नियुक्त गरेको थियो । स्थानीय तहले कानुन बनाउन पाउने अधिकार प्रयोग गरी साइकल ऐन निर्माण गर्ने महानगरले जनाएको छ ।


साइकल लेन र स्ट्यान्डको डिजाइन तयार पारिसकेको सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले बताए । समाजले बनाएको डिजाइन र तोकेको स्थानअनुसार नै साइकल स्ट्यान्ड निर्माण भइरहेको हो । साइकल कानुनको प्रारम्भिक खाकासमेत तयार पारिरहेको अध्यक्ष श्रेष्ठले बताए । समाजले तयार पारेको प्रारम्भिक खाकालाई महानगरको विधेयक समितिले कानुनको ढाँचा दिने र आगामी नगरसभाले अनुमोदन गरेपछि मात्र कानुन कार्यान्वयनमा आउने महानगरका प्रवक्ता राजु महर्जनले बताए ।


‘नेपालमा साइकलयात्रुलाई प्राथमिकता दिइएको छैन,’ श्रेष्ठले भने, ‘अब बन्ने कानुनले साइकल यात्रा सुरक्षित र सहज महसुस हुनेछ ।’ अपांगता, पैदलयात्रु तथा साइकलयात्रुलाई विशेष प्राथमिकता दिएर कानुनको मस्यौदा बनाइरहेको उनले बताए ।


मस्यौदामा साइकलयात्री दुर्घटनामा पर्दा पाउने क्षतिपूर्ति, साइकलयात्रुलाई अन्य सवारीसाधनका चालकले दुर्व्यवहार गरे त्यसबापत तिर्नुपर्ने जरिवाना, साइकलयात्रुले पालना गर्नुपर्ने नियम उल्लेख गरिनेछ । मस्यौदामा ललितपुरका ठूला मल, अस्पताल, बैंक तथा सरकारी निकायहरूमा साइकल स्ट्यान्ड अनिवार्य निर्माण गर्नुपर्ने प्रावधान राख्न लागिएको साइकल सोसाइटीले जनाएको छ ।


‘साइकल चढ्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारी निकायमा कार्यरत कर्मचारी, राजनीतिज्ञ, नेताले कम्तीमा सातामा एक दिन साइकल चढ्नुपर्ने गरी मस्यौदाको खाका बनेको हो,’ अध्यक्ष श्रेष्ठले भने ।

प्रकाशित : कार्तिक २५, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?