नेपाल–भारत सचिवस्तरीय बैठकको पहल सुरु

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले अघिल्लो साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद समाधान गर्न नेपाल र भारत दुवै पक्षले सचिवस्तरीय बैठक बस्ने तयारी थालेका छन् ।

परराष्ट्र सचिव शंकर बैरागीका अनुसार केही साताभित्रै बैठक गर्ने गृहकार्य थालिएको छ । ‘यस विषयमा हामीले भारतीय पक्षसँग कुरा गर्नैपर्ने हुन्छ । कुराकानीका लागि छिट्टै टुंगो लाग्नेछ,’ उनले भने ।


बंगलादेशका राष्ट्रपतिको भ्रमणपछि भारतीय पक्षसँगको छलफलले गति लिने र मिति पनि तय हुने परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद तीनदिने भ्रमणका लागि मंगलबार काठमाडौं ओर्लंदै छन् ।


मन्त्रालय स्रोतका अनुसार बैठकका लागि भारतीय पक्ष पनि सकारात्मक छ ।


गत शुक्रबार नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय विदेश सचिव विजयशेखर गोखलेबीच भएको भेटमा पनि कालापानीमा सीमा विवादका बारे छलफल भएको थियो । भारतको विदेश मन्त्रालयमा भएको उक्त नियमित भेटमा सचिव गोखलेले पनि विवाद समाधानका लागि छिट्टै सचिवस्तरीय बैठक गर्नुपर्ने आवश्यकता औंल्याएको स्रोतले जनायो ।


त्यसअघि बिहीबारको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सीमा निर्धारणको काम विद्यमान दुईपक्षीय सयन्त्रबाट भइरहेको र त्यससम्बन्धी समस्याको समाधान दुई देशबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको भावनाअनुसार आपसी संवादबाट खोज्न भारत प्रतिबद्ध रहेको जनाएका थिए । ‘राजदूत आचार्यसँगको भेटमा विदेशसचिव गोखलेले विदेश मन्त्रालयका तर्फबाट दिइएको औपचारिक प्रतिक्रियाअनुरूप नै द्विपक्षीय संवाद अघि बढाउनेमा जोड दिएका थिए’ स्रोतले भन्यो ।


गत २ नोभेम्बरमा भारतले उत्तर जम्मु–कश्मीरलाई दुई केन्द्रशासित राज्यमा विभाजन गरेपछि नयाँ नक्सा जारी गरेको थियो ।


उक्त नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतले समेटेपछि नेपालमा चर्को विरोध भइरहेको छ । भारतले यसअघि जारी गरेका नक्सामा पनि कालापानी क्षेत्रलाई एकपक्षीय रूपमा आफ्नो भूभागमा समावेश गर्दै आएको थियो । नेपालले त्यसलाई विगतदेखि नै ठाडै अस्वीकार गर्दै आएको छ । प्रकाशित : कार्तिक २४, २०७६ २०:०५

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डा. केसीको स्वास्थ्य जटिल बन्दै

ज्यान गए पनि लड्न छाड्दिनँः डा. केसी
डीआर पन्त

डडेलधुरा — डडेलधुरामा ७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई शुक्रबारदेखि डडेलधुरा अस्पताल भर्ना गरिएको छ ।

उपचारमा संलग्न मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले दिन प्रतिदिन स्वास्थ्य समस्या बढ्दै गएको बताए । ‘डडेलधुरामा उपचारको धेरै सुविधा छैन, चाँजोपाँजो मिले धनगढी लैजानुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । कँडेलका अनुसार डा. केसी डडेलधुरा छाडेर अन्यत्र नजाने अड्डी लिएर बसेका छन् ।

केसीको समर्थनमा डडेलधुराका दर्जनभन्दा बढी नागरिक संस्थाले आइतबार पनि प्रदर्शन गरेका छन् । डडेलधुरा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, पत्रकार महासंघ, महिला उद्यमी संघ, नागरिक समाजलगायत संस्थाको संयुक्त आयोजनामा भएको प्रदर्शनमा सरकारको ध्यानाकर्षण गराउन दिउँसै राँके जुलुस निकालिएको थियो । ‘जनताको अधिकारका लागि डा. केसीले सुरु गरेको सत्याग्रहलाई निर्णायक बनाउन हामीले पनि समर्थनमा प्रदर्शन थालेका हौं,’ उद्योग वाणिज्य संघ जिल्लाका अध्यक्ष लोकराज भट्टले भने ।

प्रदर्शनका क्रममा प्रहरीले ठाउँठाउँमा हस्तक्षेपसमेत गरेको थियो । डा. केसीको समर्थनमा स्थानीय व्यवसायीले दुई घण्टा बजार बन्द र होटल व्यवसायीले एक घण्टा होटल बन्द गरेका थिए । शैक्षिक प्रतिष्ठानले पनि आधा दिन विद्यालय बन्द गरेका थिए ।

तीन घण्टा यातायात बन्द गरिएको थियो । केसीको समर्थनमा उनी अनशन बसेकै दिनदेखि लगातार डडेलधुरामा भइरहेको प्रदर्शनमा जनसहभागिता बढ्दै गएको छ । छिमेकी जिल्ला डोटी र बैतडीबाट समेत सहभागी आउन थालेका छन् ।

आइतबार नै डा. केसीले पत्रकार सम्मेलन गरी ‘ज्यान गए पनि चिकित्सा शिक्षा सुधारका लागि जारी आफ्नो लडाइँ नत्याग्ने’ बताएका छन् । ‘मेरो स्वास्थ्यमा समस्या देखा पर्न थालेको छ,’ उनले भने, ‘यसपछि म बोल्न सक्छु कि सक्दैन भनेर पत्रकार साथीहरूलाइ बोलाएको हुँ ।’ उनले थपे, ‘म अनशन बसेको एकसाता भयो, तर राज्यका कुनै पनि निकायले चासो दिएका छैनन् । प्रधानमन्त्री नै जनताप्रति उत्तरदायी नभएपछि अरूले के चासो लिन सक्छन् र ?’

प्रधानमन्त्रीले आफ्नो गृहजिल्लामा १५ अर्बको बुद्धमूर्ति र ३ अर्बको भ्यु टावर बनाउन पहल गरेको तर जनताको उपचारका लागि अस्पताल सुधार गर्न चासो नदिएको गुनासो गर्दै डा. केसीले भने, ‘झापामा बन्ने एउटा बुद्धमूर्तिले देशमा ७ वटा मेडिकल कलेज बन्न सक्छन् भन्ने प्रधानमन्त्रीले बुझ्न चाहेका छैनन् ।’

प्रकाशित : कार्तिक २४, २०७६ १९:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×