कूटनीतिक पहल गरी सीमा विवाद समाधान गर्न लोकतान्त्रिक पार्टीको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल लोकतान्त्रिक पार्टीले कूटनीतिक माध्यमबाट भारतसँगको सीमा विवाद सल्ट्याउन सरकारसँग माग गरेको छ ।भारतले हालसालै प्रकाशित गरेको राजनीतिक नक्सामा उल्लेख गरिएको कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग भएको प्रस्ट्याउँदै उक्त पार्टी विवादलाई कूटनीतिक पहल गरी समझदारी बनाउन माग गरेको हो । 'भारतले नयाँ नक्सा सच्याउनु पर्दछ' विज्ञप्तिमा छ, 'यस विषयलाई लिएर नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गर्नको लागि नेपाल लोकतान्त्रिक पार्टी जोडदार माग गर्दछ ।' 

नेपालको स्वाभिमान र राष्ट्रियतामा आँच पुर्‍याउने खालको गतिविधिको विरोधमा आफ्नो पार्टी सदैव क्रियाशील रहने जनाउँदै लोकतान्त्रिक पार्टीले भारतले छिमेकी मुलुकप्रति देखाएको व्यवहार सह्य नभएको बताएको छ । 'एउटा छिमेकी मुलुकले अर्को छिमेकी मुलुकको अस्तित्वमाथि आँच पुर्‍याउने खालको व्यवहार हुनु निश्चिचत रुपमा कसैलाई पनि सह्य हुँदैन ।'


प्रकाशित : कार्तिक २३, २०७६ १४:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

व्यक्ति : ‘दुई थोपा’ जीवन

गोकर्ण गौतम

चिकित्सकहरू भन्छन्, ‘एसिडको दुःखाइ असीमित हुन्छ ।’ गणितको भाषामा भन्दा ‘इन्फिनिटिभ’ । साढे पाँच वर्षदेखि यस्तै अवर्णनीय पीडाको सामना गरिरहेकी छन्, विन्दावासिनी कंसाकार । ०७० वैशाख ९ हेटौंडास्थित आफ्नै घरमा उनीमाथि एसिड प्रहार भएको थियो ।

शारीरिक रापभन्दा कम कष्टकर छैन, न्याय नपाउँदाको मानसिक ताप । कसैको प्रेम प्रस्ताव अस्वीकार गर्नु गल्ती हो र ? हो भने उनको ‘गल्ती’ त्यति हो, उनीमाथि तेजाब खनाउनुको । त्यो पनि अरू होइन, उनले दाई मान्नेले । विन्दावासिनीकी फुपूकी छोराका साथी थिए, दिलीप राजकेशरी । जो एसिड हान्नासाथ फरार भएको भयै गरे ।


यो दोहोरो चोटले कति पोल्दो हो ? दुई वर्षअघि विन्दावासिनीसँग कुरा भएको मेरो । तेजाबले शरीर जले पनि अपराधीलाई सजाय दिलाउने उनको दृढता जलेको थिएन, धरमराएको पक्कै थियो । उनले भनेकी थिइन्, ‘त्यो समातिए मेरो दुःखाइ मत्थर हुन्थ्यो । मलाई अरू केही चाहिन्न, जसरी हुन्छ, त्योसँग बदला लिनु छ, त्यसलाई पश्चत्तापमा जलाउनु छ । त्यसैले अन्तिम श्वास रहेसम्म त्यसलाई पक्राउ गर्न प्रहरीकहाँ धाइरहन्छु ।’


विन्दावासिनीको त्यो नियमित खबरदारी कामयाब भएको छ । नोभेम्बर १ मा राजकेशरी समातिए । उनी भारत गोरखपुर स्थायी निवासी हुन् । उतै लुक्दै आएका थिए । नेपाल पसेको विशेष सूचनापछि मकवानपुर र बाराको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गर्‍यो । विन्दावासिनी भन्छिन्, ‘अब कम्तीमा अरूबाट सहानुभूतिको शब्द सुन्नु पर्दैन, अपराधी पक्रन नसकेकोमा मलाई ग्लानिबोध हुन्न र एक्लै बसेर रुँदिनँ ।’


२० वर्षमा एसिडबाट उनले बाँच्न र न्याय पाउन गरेको संघर्षको कथा हो यो । हेटौंडामा विन्दावासिनीको परिवारको भाँडा पसल छ । कलेज छुट्टी हुँदा उनी पसलमा सघाउँथिन् । त्यस दिन पनि पसलमै थिइन् । हातमा पोको बोकेर राजकेशरी उनीतिर आए । प्रेम प्रस्ताव अस्वीकार गरेदेखि त्यो केटाले सताइरहेको थियो, त्यसैले पसल छिरेपछि ‘यहाँबाट जा’ भनिन् । अरू बेला रूखो बोल्ने केटा आज मीठो बोल्न खोज्दै थियो । ‘हजुरआमालाई मह ल्याइदिएको छु’ भन्दै हातमा बोकेको बट्टा दिन थाल्यो । घरका अन्य सदस्यसँग पनि उसको चिनजान भएकाले बट्टा समाइदिन खोजिन् तर हातमा नपर्दै बिर्को खोल्यो र उनको अनुहारतिर हुत्याइदियो ।
त्यो मह थिएन, एसिड थियो ।


सुरुमा विन्दावासिनीलाई तातो पानी खन्याएझैं पोल्यो, एसिड होला भन्ने हेक्कै भएन । अति पोलेपछि चिच्चाइन्, वरपरका मान्छे आए, नजिकैको हेटौंडा सामुदायिक अस्पताल लगियो । त्यो पीडादायी पल यसरी सम्झन्छिन्, ‘एसिडले जलेर छट्पटिरहँदा पनि दिमागमा किन यस्तो गर्‍यो होला भनेर सोचिरहेको थिएँ, केही समयपछि सोच्न पनि नसक्ने भएँ ।’ अनुहारमा सीधै एसिड हाने पनि चस्मा लगाएकाले आँखा पूरै जलेन तर चर्को असर परेको थियो । त्यसैले नजिकैको आँखा अस्पताल रिफर गरियो । त्यहाँ हल्का सफा गरेपछि काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेज ल्याइयो । अनुहार सुन्निँदै गएपछि आँखा बन्द भयो । त्यसपछि फेरि तिलगंगा पुर्‍याइयो । एकै दिन चार अस्पतालमा दौडादौड । अथाहा पीडाको शृंखला त भर्खर सुरु पो हुँदै थियो ।


भोलिपल्ट फेरि मेडिकल कलेज लगियो । चिकित्सकहरू आँखाको ज्योति फर्काउन सक्दो प्रयास गरिरहेका थिए तर ढुक्क थिएनन् । अब देख्दिनँ होला भनेर रोएको रोयै गर्थिन् । जलेको दुःखाइ पनि सहिनसक्नु थियो । पाँच दिनपछि आँखा हल्का खुल्यो तर देखेको कुरा ठम्माउनै नसक्ने भइन् । सबथोक धमिलो, छेवैका बुबालाई जसोतसो चिन्थिन् । आँखाबाट पानी बगेको बग्यै गर्थ्यो, दुई घण्टामा एउटा रुमाल भिज्थ्यो, पाँच–पाँच मिनेटमा औषधि हाल्नुपर्थ्यो । आँखा अलि सन्चो भएपछि घुँडामाथिको छाला काटेर अनुहारको जलेको भागमा सर्जरी गर्न थाले चिकित्सकहरू । तिघ्रामा त केही भएको थिएन नि, तर छाला काट्नुपर्दा त्यहाँ पनि दुःखाइ थपियो । अझ आँखाको परेलीतिर टाका हान्दा त मरेतुल्य हुन्थिन्, पेनकिलरले समेत काम गर्न छोड्यो । त्यसमाथि अनुहारमा छाला सारेपछि तन्किएछ, आँखा खोलेको वा बन्द गरेको, अरूले चालै नपाउने । यसको लागि फेरि छुट्टै उपचार गर्नुपर्‍यो ।


यस्तो दिन पनि आयो, आफ्नो अनुहार देख्दा आफैं तर्सिनुपर्‍यो । तर, सहनुको विकल्प थिएन । तीन महिनाको कष्टकर अस्पताल बसाइपछि घर जान पाइन् तर घाउ फेरि बल्झन थाल्यो । त्यसपछि थप उपचारका लागि दक्षिण भारतको मधुरै पुगिन् । काठमाडौंमा सर्जरी गरेको छाला हावाका कारण बाक्लो हुँदै गएछ, त्यसैले फेरि तिघ्राबाट छाला निकालेर सर्जरी गर्नुपर्‍यो । डबल दुःखाइ !
पहिलोपटक मधुरैको अस्पतालमा डेढ महिना बसिन् । यसबीच २० पटक त अप्रेसन नै भयो । उनका अनुसार ८० लाख रुपैयाँ खर्च भइसकेको छ तर ‘बर्न सरभाइभर नेपाल’ बाट ३० हजारबाहेक अन्त कहींबाट सहयोग पाएकी छैनन् । सरकारले खर्च बेहोरिदियोस् भन्ने चाहना छ उनको किनभने अहिले पनि तीन–तीन महिनामा उपचार गर्न त्यहाँ जानुपर्छ । धूलो र धूवाँबाट जोगाउनुपर्छ । छिन–छिनमा हात धुनुपर्छ । फोहोर हातले अनुहारमा छोए ‘एलर्जी’ हुन्छ । चस्मा नलगाई हिँड्ने अवस्था छैन । आँखाबाट हर पल पानी बग्छ, औषधि हालिरहनुपर्छ । घाउ पोलिरहन्छ ।


तर घाउभन्दा बढी पोल्थ्यो, अरूले ‘विचरा’ भनेर सहानुभूति पोख्दा । त्यसैले सुरुआती दिनहरूमा सकेसम्म अरूबाट भाग्न खोज्थिन् । मन हल्का हुने गरी रुन पनि मिल्दैन थियो, आँखामा असर गर्ने भएकाले । घरबाहिर निस्कन मन लाग्थ्यो तर धूलो, धूवाँ र बत्तीले पोल्थ्यो । थोरै यताउता भए घाउ चर्किहाल्थ्यो । यता, अपराधी पक्राउ पर्ने कुनै छाँटकाँट थिएन । उनी भन्छिन्, ‘अपराधी नसमातिएकाले एकातिर फेरि आएर हान्छ कि भन्ने डर हुन्थ्यो, अर्कातिर सजाय दिलाउन सकिनँ भनेर हीनताबोध हुन्थ्यो ।’ विडम्बना के भने अपराधी समात्न प्रहरीले सुरुबाटै हेल्चक्र्याइँ गर्‍यो, महत्त्व नै दिएन ।


एसिड हान्नासाथ ठूलोबुबाले अस्पताल लगे, बुबा प्रहरी कार्यालय पुगेर रिपोर्ट लेखाए । त्यतिबेला प्रहरी अधिकारीले यस्तो प्रतिक्रिया दिएछन्, ‘ए, भारतमा एसिड प्रहारका घटना बढी छ, अब नेपालमा पनि हुनथालेछ ।’ विन्दावासिनी भन्छिन्, ‘मेरी छोरीमाथि एसिड हानियो भनेर बुबा रुँदै प्रहरीकहाँ पुग्दासमेत गम्भीरता देखाइएनछ, सानोतिनो चोरीको घटनाजस्तै सामान्य रूपमा लिइएछ, हुन्छ हामी हेर्छौं भनेर बुबालाई पठाएछन् ।’ उनलाई के लाग्छ भने प्रहरीले संवेदनशीलता देखाए भए त्यतिबेलै अपराधी समातिन्थ्यो ।


एसिड हानेपछि पसलअगाडि रोकिराखेको नीलो पल्सर बाइकमा चढेर राजकेशरी भागेका थिए । केही समयपछि प्रहरीकै अनुसन्धानबाट खुलेको थियो, एसिड हानेर घर आई कपडा परिवर्तन गरेर उनी भारत छिरेका थिए । विन्दावासिनीको घरबाट राजकेशरीको घर पुग्न बाइकमा चार मिनेट जति लाग्छ । त्यहाँबाट बोर्डर क्रस गर्न अर्को तीन घण्टा । तर प्रहरीको कमजोरीको कारण अपराधी सजिलै उम्कियो ।


अस्पताल पुर्‍याएको केही समयपछि विन्दावासिनीको मोबाइल ‘अफ’ गरिएको थियो, एकैपटक दुई महिनापछि ‘अन’ गरिन् । पहिल्यै आएको तर नखोलिएको म्यासेज रहेछ, आँखाले स्पष्ट नदेख्ने भएकाले गहिरिएर हेरिन् । एसिड हान्नासाथ त्यही केटाले गरेको म्यासेज रहेछ, ‘तँ पहिलो होस्, दुई जना अरू बाँकी छन् ।’ यत्ति दुई लाइनको म्यासेज पढ्न उनलाई आधा घण्टा लागेछ । पढ्न मिस्टेक भयो कि भनेर बुबालाई देखाइन्, त्यही लेखिएको रहेछ, त्यसपछि उनीहरूले मकवानपुरका एसपीलाई जानकारी गराए । प्रतिक्रिया आएछ, ‘ए हो र, हामी हेर्छौं ।’ उनका अनुहार त्यहीताका उनलाई नेपालकै नचिनेको नम्बरबाट फोन आएको थियो । आवाजबाट चिनिहालिन्, त्यही केटाको रहेछ, हत्तपत्त फोन बुबालाई दिइन्, तर फोन कट्यो । विन्दावासिनी भन्छिन्, ‘हामीले प्रहरीलाई खबर गर्‍यौं तर नेपालकै नम्बरबाट फोन आएको छ भन्दा पनि चासो दिइएन ।’


मकवानपुरमा प्रहरी प्रमुख फेरिएपिच्छे विन्दावासिनी बिन्ती बिसाउँथिन् । सबैको उत्तर प्रायः उस्तै हुन्थ्यो, ‘अपराधी भारतीय नागरिक हो, भारत पुगेर समात्न मिल्दैन । नेपाल भारतबीच सुपदर्गी सन्धि छैन ।’ यस्तै–यस्तै । कोही–कोही त केसको फाइल बन्द भइसकेको समेत भन्थे । उनी पनि बिर्सन खोज्थिन् तर घाउको पोलाइले बिर्सनै दिँदैन्थ्यो, अस्पतालमा हरेकपटक लेजर गर्दा फेरि एसिडले हानेजस्तै पोल्थ्यो । साथीभाइ र आफन्तहरू चोट बल्झाइरहन्थे, ‘तिम्लाई एसिड हान्ने समातिएन है ?’ टाउको निहुराउनु र एक्लै बसेर रुनुको विकल्प हुन्थेन । ‘न्याय पाइएला भन्ने आस हराउँदै गएपछि डिप्रेसनमा फसें, बाँचेर त्यसलाई सजाय दिन सकिनँ, अब मर्छु अनि आत्माले त्यसलाई खान्छु भनेर आत्महत्या गर्न मन लाग्थ्यो,’ सुक्सुकाउँदै सुनाइरहिन्, ‘तर बुबाआमाको माया सम्झन्थें, म एक्ली छोरी, यति धेरै माया गर्नुभएको छ, मरें भने उहाँहरूको पाप लाग्छजस्तो लाग्थ्यो । त्यसैले मर्न सकिनँ ।’


गत फागुनमा विन्दावासिनीको साथीको नयाँ दिल्लीमा राजकेशरीसँग जम्काभेट भएछ । ती साथीले फोटो खिचेरै पठाइदिएछन्, जसले उनमा अपराधी समातिने आशा जगायो । कसैले उनलाई सुनाइदिएको रहेछ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चाह्यो भने भारत पुगेरै अपराधी समात्न सक्छ । त्यसैले नयाँ फोटो पाउनासाथ सीआईबीलाई उपलब्ध गराउने प्रयास गरिन् तर पहुँच पुगेन । त्यसैले मकवानपुर प्रहरीलाई नै दिइन् । त्यति गर्दा पनि खासै गम्भीरता नदेखाएको गुनासो छ उनको । तर यो फोटो विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित भएपछि बाराका प्रहरी निरीक्षक सागरशमशेर राणाले सम्पर्क गरेछन् । यही बेला राजकेशरी नेपाल छिरेपछि राणाकै टोलीले पक्राउ गर्‍यो ।


जब राणाले पक्रेको खबर सुनाए– विन्दावासिनीलाई सपनाजस्तै लागेछ । आँखा रसाए, शरीर तात्यो । कष्टका एक–एक पल सम्झिन् । र, निष्कर्षमा पुगिन्– त्यसलाई देख्नासाथ पिट्छु । बदलाले भरिएर प्रहरी कार्यालय पुगिन् । प्रहरी, पत्रकार र अरू मान्छे देखेपछि आफूलाई सम्हालिन् । उनलाई लागेको थियो— उसले शिर निहुराउँछ, अनुहारमा हेर्दैन तर आँखा तरेछ । त्यसपछि आफूलाई रोक्नै सकिनछन्, झम्टिहालिन् । राजकेशरीले आँखा तरेको, उसको अनुहारमा डर र पश्चत्तापको भाव नभएको भिडियोमा प्रस्टै देखिन्छ । पिट्न खोजेपछि प्रहरीले उनलाई रोके । उनी आक्रोशित हुँदै भन्छिन्, ‘त्यसले मलाई एसिड हान्यो, मैलेचाहिँ त्यसलाई थप्पड पनि हान्न नपाउने ? त्यसको गाला चड्काउन पाएको भए मन शान्त हुन्थ्यो ।’


अपराधी त समातियो तर फितलो कानुनले उम्केला भन्ने भय छ । नयाँ मुलुकी संहितामा अनुहारमै एसिड परेको छ भने आठ वर्ष र शरीरको अन्य भागमा जतिसुकै क्षति पुर्‍याए पनि तीन वर्ष कैद हुने व्यवस्था छ । त्यति आततायी अपराधका लागि यति कमजोर कानुन ! ‘एसिड हानेर जीवन बर्बाद पार्नेलाई फाँसी नै हुनुपर्छ । त्यति नभए पनि जन्मकैद हुनुपर्छ,’ विन्दावासिनीको डर मिसिएको सवाल छ, ‘चार–पाँच वर्ष जेल बसेर छुटेपछि फेरि एसिड नहान्ला भन्ने के भर ? त्यसको जिम्मा कसले लिन्छ ?’

प्रकाशित : कार्तिक २३, २०७६ १४:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT