कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको सीमा चलाउने अधिकार कसैलाई छैनः पूर्वप्रधानमन्त्री खनाल

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सीमा विवाद समाधान गर्दै नेपालको अखण्डता र भौगोलिक सीमाको रक्षा गर्न सरकारसँग माग गरेका छन् । 

नेपालको सीमा चलाउने अधिकार कसैलाई छैनः पूर्वप्रधानमन्त्री खनाल

भारतले हालै सार्वजनिक गरेको नक्सामा पनि कालापानी, लिपुलेक क्षेत्र भारतीय भूमिमा रहेको देखाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ दलका नेता समेत रहेका पूर्वप्रधानमन्त्री खनालले पनि उक्त नक्साको विरोध गर्दै तत्काल सीमा विवाद टुंग्याउन आग्रह गरेका छन् ।


‘भारतद्वारा हालै प्रकाशित नक्सामा नेपालको भूभाग अतिक्रमित भएको स्पष्ट छ । नेपालको पश्चिमोत्तर सीमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको छ । त्यो सिमालाई चलाउने कसैलाई पनि अधिकार छैन,’ पूर्वप्रधानमन्त्री खनालद्वारा जारी विज्ञप्तिमा छ ।


उनले नेपालको सिमाना महाकाली नदीबाट निर्धारित भइ आएको र महाकाली नदी भनेको लिम्पियाधुराबाट निस्केको काली नदी (कुटी याङदी) भएको उल्लेख गरेका छन् । ‘त्यसपूर्वका नापी, गुन्जी र लिपुलेक लगायतका भूभाग नेपाली भूभाग हुन् । त्यसबारेमा ऐतिहासिक कालदेखिका तथ्यांकहरु प्रस्तुत गर्न, भारत सरकारसँग अबिलम्ब वार्ता गर्न र कुटनीतिक ढंगले समस्याको समाधान गर्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न म नेपाल सरकारलाई जोडदार माग गर्दछु,’ पूर्वप्रधानमन्त्री खनालले भनेका छन् ।

प्रकाशित : कार्तिक २१, २०७६ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?