कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचुनाव : बागलुङमा आठ दल र २ स्वतन्त्र उम्मेदवार

प्रकाश बराल

बागलुङ — बागलुङ क्षेत्र नम्बर २ (ख) को प्रदेश सभा निर्वाचनका लागि ८ वटा दलले उम्मेदवारी दिएका छन् । 

बिहीबार कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन् । दल बाहेक २ जनाको बागी उम्मेदवारी पनि परेको छ ।


मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेका अनुसार कांग्रेसबाट जीतबहादुर शेरचन र राष्ट्रिय जनमोर्चा(रजमो)को तर्फबाट खिमविक्रम शाहीको उम्मेदवारी परेको छ ।


समाजवादी पार्टीकाका अशोक कुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, राप्रपाकै संयुक्तबाट निमबहादुर भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका यामबादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका मित्रबहादुर मगरले पनि उम्मेदवारी दिएका हुन् ।


शाहीलाई सत्ताधारी नेकपाले साथ दिएको छ । निर्वाचनकै लागि स्वतन्त्र उमेदवारको रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले पनि उम्मेदवारी दिएका छन् । घर्ती नेकपा कार्यकर्ता हुन् ।


कांग्रेसका उम्मेदवार शेरचन यसअघिको प्रसेदसभा निर्वाचनमा राजमोका उम्मेदवार टेकबहादुर घर्तीसँग पराजित भएका थिए । उनले कांग्रेसबाटै दोस्रोपटक टिकट पाएका हुन् ।


घर्तीको निधनपछि राजमोले सत्ताधारी नेकपाको समेत समर्थन पाएर शाहीलाई उम्मेदवार बनाएको हो । घर्तीकी पत्नी उमेदवार बन्ने चर्चा चलेपनि राजमोले शाहीको नाम अन्तिम टुंगो लगाएको हो । यसअघि राजमोले ३ जना, नेकपाले ४ जना र कांग्रेसले ४ जनाको नाम केन्द्रमा सिफरिस गरेको थियो ।


यो क्षेत्रमा ३६ हजार ९ सय २६ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताए । मनोनयन दर्ता भैसकेकोले शुक्रबारदेखि दलका प्रचारका अभियानलाई व्यवस्थित बनाउने र सुरक्षाका लागि व्यवस्था गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।


आगामी मंसिर १४ गते बागलुङकै बडिगाड गाउँपालिका वडा नं. २ मा पनि उपनिर्वाचन हुँदैछ । वडा नं. २ का अध्यक्ष बिष्णु भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा विजय भएपछि यहाँ अध्यक्ष पद खाली छ ।


मनोनयन दर्तासँगै राजनीतिक प्रचारका क्रियाकलाप सुरु भएका छन् । उम्मेदवारी दिएर फर्केपछि शाही र शेरचन दुवैले आफ्नो दलले जित्ने दाबी समेत गरेका छन् । अन्य साना दलले पनि प्रचारका अभियान भने थालिसकेका छन् ।

प्रकाशित : कार्तिक २१, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?