अतिक्रमणको चपेटामा ‘गुरुमार्पा वृक्ष’

‘अकुपाई टुँडिखेल’
दामोदर न्यौपाने

काठमाडौँ — टुँडिखेलको पूर्वोत्तर भागमा एउटा ठूलो रूख छ । परबाट हेर्दा बर–पीपलजस्तो लाग्ने रूखको वास्तविक नामबारे अग्रजहरू समेत जानकार छैनन् । नेवार समुदायले भने उक्त रूखलाई ‘गुरुमार्पा वृक्ष’ नाम दिएको छ ।

‘खास नाम गुरुमार्पा भए पनि धेरैले गरुमापा भनेर चिन्छन्,’ रूखको सांस्कृतिक गतिविधिमा जोडिएको इटुम्बहालको भाष्करदेव संस्कृता केशचन्द्रकृत परावर्त महाविहारका सभासङ्ग सदस्य प्राध्यापक स्वस्तिरत्न शाक्य भन्छन्, ‘बौद्ध धर्मावलम्बीको ठूलो सांस्कृतिक विम्ब बोकेको रूख हो यो । यस्तो रूख अरू ठाउँमा देखिएको पनि छैन ।’ यसको छेउमा सानो सिरिसको रूख पनि छ । रूखका फेदमा ठूला टोड्का देखिन्छन् । टुँडिखेलमा सुस्ताउने आउनेहरू रूखमा चढ्ने, वरिपरि घुम्ने गर्दा रूखको फेद उजाड देखिन्छ ।

सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले टुँडिखेलका एकएक परम्परा अतिक्रमणमा परेकाले गुरुमार्पा रूख पनि मासिने हो कि भनेर चिन्ता लागेको बताए । ‘लामो इतिहास बोकेको यो रूख आफैंमा अमूर्त सांस्कृतिक सम्पदा हो,’ उनले भने, ‘सांस्कृतिकमहत्त्वबारे सरोकारवाला निकायले यो रूखको अभिलेखसमेत राखेको छैन ।’

टुँडिखेलमै रहेको ऐतिहासिक खरीको रूख भने पहिल्यै काटियो । यही रूखको फेदमा बसेर चन्द्रशमशेरले दास प्रथा उन्मूलनको घोषणा गरेका थिए । खरीको फेदमा रहेको चौतारोमा बसेर विदेशी पाहुना, राजालगायत बसेर टुँडिखेलमा हुने राष्ट्रिय उत्सव हेर्थे । ‘राजा त्रिभुवनले २००७ सालमा प्रजातन्त्र पुनर्स्थापनाको घोषणा पनि यही चौतारामा बसेर गरेका थिए,’ प्राध्यापक स्वस्तिरत्न शाक्य भन्छन्, ‘यति महत्त्वपूर्ण ठाउँ अहिले मासियो । चौतारो पनि भत्काइयो ।’ महांकाल भैरव मन्दिरको ठीक पछाडि खरीको रूख र चौतारो थियो । त्यस ठाउँमा अहिले सैनिक मञ्च बनेको छ ।

गुरुमार्पाको इतिहास
प्राध्यापक शाक्यका अनुसार गुरुमार्पाको इतिहास १२ सय वर्ष पुरानो हो । गुरुमार्पाको प्रतीक मानेर रूखलाई भात खुवाउने चलन छ । ‘यो चलन नै १२ सय वर्ष पुरानो भएकाले रूखको इतिहास पनि त्यति नै पुरानो मानिन्छ,’ शाक्यले भने । गुरुपार्मा तिब्बती नागरिक थिए । उनी सानैदेखि बदमास स्वभावका भएकाले उनका बुबाले काठमाडौंको बाटो हुँदै भारत पठाइदिए । त्यस क्रममा गुरुमार्पा काठमाडौंमा लामो समय बसे । काठमाडौंका राजा हरिदेवको पालामा नुवाकोटे ठकुरी वंशका भाष्करराजका छोरा केशचन्द्रसँग उनको भेट भएको थियो ।

‘केशचन्द्र पनि गुरुमार्पाजस्तै बदमास थिए । दुवैको स्वभाव मिलेकाले दोस्ती भयो,’ शाक्य भन्छन् ।
इतिहासकार ज्ञानमणि नेपालका अनुसार उनै भाष्करराज पछि राजा भए । उनले १० वर्ष शासन चलाएका थिए । उनै भाष्करदेवका छोरा केशचन्द्रले केशचन्द्र महाविहार बनाए । महाविहारको सम्बन्ध टुँडिखेलको यही रूखसँग जोडिएकोशाक्य बताउँछन् ।

इतिहासकार साफल्य अमात्यका अनुसार केशचन्द्र नामुद जुवाडे थिए । सबै सम्पत्ति सिध्याएपछि जीवनदेखि विरक्तिएर पशुपतिको कीर्तिमुख भैरवमा बसे । मागेर खाने अवस्थामा पुगेका बेला गुरुमार्पासँग उनको भेट भएको अमात्य बताउँछन् । केशचन्द्रले गुरुमार्पालाई मामा साइनो लगाएका थिए । त्यही सम्बन्धको आडमा सुनको भारी बोकेर गुरुमार्पा केशचन्द्रको घर इटुम्बालसम्म आएको इतिहास छ ।

बालबालिकालाई खाइदिने र दुःख दिने गरेकाले इटुम्बहालवासीले उनलाई यहाँ नराख्न केशचन्द्रलाई दबाब दिए । बौद्ध संस्कृतिका जानकार तथा पूर्वकुमारीका पिता प्रतापमान शाक्य भन्छन्, ‘एक दिन त केशचन्द्रकै छोरो खाइदिएछन् । त्यसपछि टुँडिखेलको जग्गा सुनसँग साटेर उनलाई टुँडिखेल सारेको अभिलेखमा उल्लेख छ ।’

गुरुमार्पालाई टुँडिखेल दिँदा यही रूख पनि दिइयो । यही रूख पछि गुरुमार्पा नामले प्रसिद्ध भयो ।

इटुम्बहालका स्थानीयले गुरुमार्पालाई वर्षमा एक दिन मासु र भात खुवाउने वाचा पनि गरे । त्यसपछि प्रत्येक वर्ष फागु पूर्णिमाको राति गुरुमार्पालाई भोज खुवाउने चलन बस्यो । एकातिर भात र अर्कोतिर पकाएको राँगाको मासु महाविहारबाट खर्पनमा बोकेर टुँडिखेल लाने गरिन्छ ।

टुँडिखेल गएपछि पनि गुरुमार्पाले मान्छेलाई दुःख दिन छाडेनन् । खेल्न जानेलाई खाइदिन थाले । टुँडिखेलमा रहँदा पनि गुरुमार्पा नसुध्रिएपछि त्यहाँबाट हटाउन घोडा दौडाउन सुरु भएको शाक्य बताउँछन् । ‘यसरी नै सुरु भएको हो, घोडेजात्राको परम्परा,’ शाक्यले भने, ‘पछि उनले गल्ती महसुस गरे । र, पढ्न भारतको नालान्दा गए । सन्त भएर फर्किए, तिब्बतमा परम्परागत धर्मको प्रचार गर्न थाले ।’

थुप्रै सांस्कृतिक गतिविधिको केन्द्र टुँडिखेल एकपछि अर्को गर्दै अतिक्रमणमा परेका छन् । यही टुँडिखेलभित्र पर्ने ऐतिहासिक गुरुमार्पा रूखसमेत मासिन लागेकोमा सम्पदाप्रेमी र संस्कृतिका सरोकारवालाहरूले चासो राखेका हुन् ।

टुँडिखेल अतिक्रमणबाट जोगाउन सम्पदा संरक्षण अभियन्ताले ‘अकुपाई टुँडिखेल’ अभियान घोषणा गरेका छन् । ‘पहिलो चरणमा बसपार्क हटाउन, खुलामञ्च खाली गर्न दबाब दिन्छौं,’ अभियान संयोजक विजय श्रेष्ठले भने, ‘अन्तिम चरणमा सेनाले बनाएका संरचना हटाउन शान्तिपूर्ण दबाब दिन्छौं ।’

प्रकाशित : कार्तिक २१, २०७६ ०८:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विदेश भ्रमणमा विज्ञको सट्टा सहसचिव

कान्तिपुर संवाददाता

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिममा मन्त्रीका निजी सचिव र सहसचिवलाई विदेश पठाएको छ । यातायात व्यवस्था विभागले दुई महिनाअघि इटालीमा बनेको माटिका कम्पनीको ‘मास प्रिन्टर’ खरिद गरेको थियो ।

प्रिन्टर चलाउने प्राविधिकलाई इटाली पठाउनुपर्नेमा मन्त्रालयले विभागका महानिर्देशक, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव, मन्त्रीका निजी सचिव लगायतलाई पठाएको हो । प्राविधिकलाई मास प्रिन्टर सञ्चालन गर्ने ज्ञान नहुँदा लाइसेन्स छपाइ हुन सकेको छैन ।

गतवर्ष विनियोजित ७ करोड बजेटबाट खरिद गरिएको प्रिन्टर चलाउने प्राविधिक कोही पनि भम्रण टोलीमा परेका छैनन् । प्रिन्टर खरिद गर्ने ठेक्का पाएको भारतको एमएसपी सप्लायर्सले उनीहरूलाई प्रिन्टर सञ्चालनसम्बन्धी जानकारी दिन उत्पादन गर्ने इटालीको कम्पनीमा लगेको हो । कातिक १३ मा इटाली गएको टोलीमा मन्त्रालयका प्रशासन प्रमुख सहसचिव रामेश्वर ज्ञवाली, विभागका महानिर्देशक गोगनबहादुर हमाल, विभागका निर्देशक बन्धु बाँस्तोला, अर्का सहसचिव प्रमिला बज्राचार्य, मन्त्रीका निजी सचिव सोमराज बराल र कम्प्युटर इन्जिनियर केशवराज गौतम छन् ।

गौतम प्राविधिक कर्मचारी भए पनि प्रिन्टर सञ्चालन गर्ने कर्मचारी होइनन् । हमालले अरूलाई निमित्तको जिम्मेवारीसमेत नदिई विदेश गएको स्रोतले जनाएको छ । ‘प्रिन्टर सञ्चालन गर्ने प्राविधिक जानुपर्नेमा मन्त्रालयका सहसचिवहरूलाई लिएर महानिर्देशकसहितको टोली विदेश गएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने । विदेश जानेमा कोही नपरेपछि नियमित कार्ड छपाइ गर्ने प्राविधिक कर्मचारी भने निराश छन् ।

आफूहरू जानुपर्ने तालिममा सहसचिवहरू गएपछि छपाइमा मुख्य जिम्मेवारी लिएका एक कम्प्युटर अपरेटरले गृह मन्त्रालय सरुवाको रमनासमेत लिइसकेको स्रोतले जनाएको छ । इटाली गएको टोली मंगलबार स्वीट्जरल्यान्ड पुगेको थियो । ‘मेसिन सञ्चालन गर्ने जानकारी नहुँदा सञ्चालनमा ल्याउन सकिएको छैन,’ एक प्राविधिकले भने, ‘यदि हामीले सिक्न पाएको भए फर्कनेबित्तिकै प्रिन्टर सञ्चालनमा ल्याउन सकिन्थ्यो । सर्वसाधारणले एक वर्षअघि राजस्व तिरे पनि हामीले कार्ड दिन सकेका छैनौं ।’

७ लाख ८६ हजार कार्ड छाप्नै बाँकी
विभागका प्राविधिकका अनुसार विगतमा खरिद गरेको प्रिन्टरबाट दैनिक एक हजार ५ सयमात्रै लाइसेन्स प्रिन्ट हुन्छ । १८ लाख १ हजार ७ सय १ जनाले लाइसेन्सका लागि आवेदन दिएका छन् । यसमध्ये १० लाख १५ हजार १ सय ५६ जनाको लाइसेन्स प्रिन्ट भएको छ । ७ लाख ८६ हजार कार्ड छपाइ हुन बाँकी छ ।

‘काठमाडौंबाहिर आवेदन दिएका सर्वसाधारणको लाइसेन्स अझै प्रिन्ट हुन सकेको छैन,’ विभागका एक प्राविधिकले भने । काठमाडौं उपत्यकाको पनि सन् २०१८ को अन्तिममा आवेदन दिएकाको मात्रै लाइसेन्स प्रिन्ट भएको विभागले जनाएको छ ।

कार्ड छपाइ ढिलाइ भएपछि विभागले ७ करोड खर्चेर एक घन्टामा ४ सय ५० कार्ड छपाइ गर्ने प्रिन्टर खरिद गरेको हो । तर, प्रिन्टर सञ्चालनमा ल्याउन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालयको कर्मचारी टोली प्रिन्टर मेसिनको जानकारी लिन विदेश गएको बताए ।

प्राविधिकको सट्टा सहसचिवहरू पठाएको विषयमा भने जवाफ दिन चाहेनन् । ‘यस विषयमा भोलि कुरा गरौंला,’ उनले भने ।

प्रकाशित : कार्तिक २१, २०७६ ०८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT