कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

विदेश भ्रमणमा विज्ञको सट्टा सहसचिव

कान्तिपुर संवाददाता

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिममा मन्त्रीका निजी सचिव र सहसचिवलाई विदेश पठाएको छ । यातायात व्यवस्था विभागले दुई महिनाअघि इटालीमा बनेको माटिका कम्पनीको ‘मास प्रिन्टर’ खरिद गरेको थियो ।

विदेश भ्रमणमा विज्ञको सट्टा सहसचिव

प्रिन्टर चलाउने प्राविधिकलाई इटाली पठाउनुपर्नेमा मन्त्रालयले विभागका महानिर्देशक, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव, मन्त्रीका निजी सचिव लगायतलाई पठाएको हो । प्राविधिकलाई मास प्रिन्टर सञ्चालन गर्ने ज्ञान नहुँदा लाइसेन्स छपाइ हुन सकेको छैन ।


गतवर्ष विनियोजित ७ करोड बजेटबाट खरिद गरिएको प्रिन्टर चलाउने प्राविधिक कोही पनि भम्रण टोलीमा परेका छैनन् । प्रिन्टर खरिद गर्ने ठेक्का पाएको भारतको एमएसपी सप्लायर्सले उनीहरूलाई प्रिन्टर सञ्चालनसम्बन्धी जानकारी दिन उत्पादन गर्ने इटालीको कम्पनीमा लगेको हो । कातिक १३ मा इटाली गएको टोलीमा मन्त्रालयका प्रशासन प्रमुख सहसचिव रामेश्वर ज्ञवाली, विभागका महानिर्देशक गोगनबहादुर हमाल, विभागका निर्देशक बन्धु बाँस्तोला, अर्का सहसचिव प्रमिला बज्राचार्य, मन्त्रीका निजी सचिव सोमराज बराल र कम्प्युटर इन्जिनियर केशवराज गौतम छन् ।


गौतम प्राविधिक कर्मचारी भए पनि प्रिन्टर सञ्चालन गर्ने कर्मचारी होइनन् । हमालले अरूलाई निमित्तको जिम्मेवारीसमेत नदिई विदेश गएको स्रोतले जनाएको छ । ‘प्रिन्टर सञ्चालन गर्ने प्राविधिक जानुपर्नेमा मन्त्रालयका सहसचिवहरूलाई लिएर महानिर्देशकसहितको टोली विदेश गएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने । विदेश जानेमा कोही नपरेपछि नियमित कार्ड छपाइ गर्ने प्राविधिक कर्मचारी भने निराश छन् ।


आफूहरू जानुपर्ने तालिममा सहसचिवहरू गएपछि छपाइमा मुख्य जिम्मेवारी लिएका एक कम्प्युटर अपरेटरले गृह मन्त्रालय सरुवाको रमनासमेत लिइसकेको स्रोतले जनाएको छ । इटाली गएको टोली मंगलबार स्वीट्जरल्यान्ड पुगेको थियो । ‘मेसिन सञ्चालन गर्ने जानकारी नहुँदा सञ्चालनमा ल्याउन सकिएको छैन,’ एक प्राविधिकले भने, ‘यदि हामीले सिक्न पाएको भए फर्कनेबित्तिकै प्रिन्टर सञ्चालनमा ल्याउन सकिन्थ्यो । सर्वसाधारणले एक वर्षअघि राजस्व तिरे पनि हामीले कार्ड दिन सकेका छैनौं ।’


७ लाख ८६ हजार कार्ड छाप्नै बाँकी

विभागका प्राविधिकका अनुसार विगतमा खरिद गरेको प्रिन्टरबाट दैनिक एक हजार ५ सयमात्रै लाइसेन्स प्रिन्ट हुन्छ । १८ लाख १ हजार ७ सय १ जनाले लाइसेन्सका लागि आवेदन दिएका छन् । यसमध्ये १० लाख १५ हजार १ सय ५६ जनाको लाइसेन्स प्रिन्ट भएको छ । ७ लाख ८६ हजार कार्ड छपाइ हुन बाँकी छ ।


‘काठमाडौंबाहिर आवेदन दिएका सर्वसाधारणको लाइसेन्स अझै प्रिन्ट हुन सकेको छैन,’ विभागका एक प्राविधिकले भने । काठमाडौं उपत्यकाको पनि सन् २०१८ को अन्तिममा आवेदन दिएकाको मात्रै लाइसेन्स प्रिन्ट भएको विभागले जनाएको छ ।


कार्ड छपाइ ढिलाइ भएपछि विभागले ७ करोड खर्चेर एक घन्टामा ४ सय ५० कार्ड छपाइ गर्ने प्रिन्टर खरिद गरेको हो । तर, प्रिन्टर सञ्चालनमा ल्याउन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालयको कर्मचारी टोली प्रिन्टर मेसिनको जानकारी लिन विदेश गएको बताए ।


प्राविधिकको सट्टा सहसचिवहरू पठाएको विषयमा भने जवाफ दिन चाहेनन् । ‘यस विषयमा भोलि कुरा गरौंला,’ उनले भने ।


प्रकाशित : कार्तिक २१, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?