कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

नेकपामा उम्मेदवारीको रडाको : भक्तपुरमा तालाबन्दी, बाग्लुङमा असन्तुष्टि

बबिता शर्मा

काठमाडौँ — ०७४ को प्रदेशसभा निर्वाचनमा भक्तपुर १ (१) मा तत्कालीन माओवादी केन्द्रका डीपी ढकाल वाम गठबन्धनका आधिकारिक उम्मेदवार थिए । तर एमालेतर्फका हरिशरण लामिछाने बागी उठिदिए ।

नेकपामा उम्मेदवारीको रडाको : भक्तपुरमा तालाबन्दी, बाग्लुङमा असन्तुष्टि

अधिकारिक उम्मेदवार ढकालले ७८६ मत मात्र पाउँदा लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भए । लामिछानेको गत वैशाख ३१ मा हृदयाघातबाट निधन भयो । आइतबार बसेको नेकपाको सचिवालय बैठकले उपनिर्वाचनमा फेरि ढकाललाई नै उम्मेदवार बनाएको छ । यो निर्णयले नेकपा भक्तपुरमा विवाद चुलिँदा झडपकै स्थिति सिर्जना भएको छ । असन्तुष्ट पूर्वएमाले पक्षले जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ ।


यसले भक्तपुरमा नेकपाको चुनावी अभियान नै प्रभावित बनेको छ । पूर्वएमाले समूहको तालाबन्दीका कारण पूर्व माओवादी समूहलाई झस्काएको छ । पार्टी एकीकरण पश्चात पूर्व समूहको आधारमा झडपको स्थिति सिर्जना हुनेगरी देखिएको विवादले अन्तर्घातको खतराको घण्टी बजेको ठम्याइ केही नेताको छ । पूर्व माओवादी समूहका भक्तपुर जिल्ला कमिटी एक सदस्य भन्छन्, ‘उपचुनावको उमेदवार चयनलाई लिएर यहाँ जे विवाद देखियो यसले चुनाव प्रभावित पार्ने सम्भावना छ । तत्काल असन्तुष्ट मतलाई सम्बोधन गरिएन भने यो अन्तरर्घातको तहमा पुग्न सक्छ । त्यस्तो भयो भने चुनावी नतिजा नेकपाका लागि अनुकुल नहुन सक्छ ।’


गत निर्वाचनमा उम्मेदवार भई ७८६ मत ल्याएका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जित सुनिश्चित नहुने भएकाले सहज रूपमा जित्ने नेतालाई टिकट दिनुपर्ने मागसहित तालाबन्दी गरिएको जिल्ला कमिटी सदस्य साधुराम दाहालले बताए । पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेदवार चयन नगरेसम्म तालाबन्दी जारी राखिने असन्तुष्ट पक्षको भनाइ छ । उम्मेदवार चयनको विषयलाई लिएर केही असन्तुष्टि देखिए पनि पार्टी केन्द्रको निर्णयलाई मिलेर जानुको विकल्प नरहेको भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले बताए ।


‘उम्मेदवारी मनोनयन गर्ने बेलासम्म कसैले आफ्ना असन्तुष्टि पोख्ने कुरा स्वाभाविक हुन् । पहिला पनि यो क्षेत्रमा यस्तै लफडा भएको थियो । अहिले पनि केही समस्या देखियो । तर हामी सबै एकताबद्ध भएर चुनावमा जान्छौँ । अन्तरर्घातको खतरा छैन । चुनावी परिणाम हाम्रो पक्षमा हुन्छ’उनले भने । नेकपा भक्तपुर जिल्ला कमिटीले रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डीपी ढकाल र नारायणी दङ्गालको नाम सिफारिस गरेको थियो ।


बाग्लुङमा पनि समस्या

यस्तो समस्या भक्तपुरमा मात्रै होइन बाग्लुङमा पनि देखिएको छ । बागलुङ् निर्वाचन क्षेत्र २ (२)बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको निधन पश्चात रिक्त क्षेत्रमा पनि उपचुनाव हुँदैछ । आइतबार बसेको सचिवालय बैठकले विगतको गठबन्धलाई निरन्तरता दिँदै प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेपछि त्यहाँपनि नेकपा नेताहरु असन्तुष्ट छन् ।


६ कात्तिकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा विगतको गठबन्धनलाई सहयोग गर्ने मौखिक सहमति राष्ट्रिय जनमोर्चासँग गरेपछि १० कात्तिकमा बागलुङ जिल्ला कमिटीका नेताहरुको डेलिगेसन अर्का अध्यक्ष पुष्पकमल दाहालकहाँ पुगेको थियो । दाहाल निवास खुमलटारमा महासचिव विष्णु पौडेल पनि उपस्थित थिए । सो क्षेत्रका सांसद तथा नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, जिल्ला इन्चार्ज वलावती शर्मा, सह–इन्चार्ज मनकुमारी केसी, जिल्ला कमिटी अध्यक्ष, सचिव लगायतका नेताहरुले उपचुनाव हुने क्षेत्रको अवस्थाबारे जानकारी गराएका थिए । अध्यक्ष दाहाललाई भेट्न पुगेका नेकपा बागलुङ जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाका अनुसार आफूहरुले नेकपाबाटै चुनाव जित्ने उम्मेदवारलाई पार्टी केन्द्रले सिफारिस गर्न अनुरोध गरेको बताए ।


‘हामीले केन्द्रीय नेतृत्वसँग बागलुङका विशिष्टताबारे समयमै सुझाएका थियौँ,’ अध्यक्ष सापकोटाले भने, ‘निर्वाचन जित्नका लागि पहिलो कुरा जनाधार हो । स्वाभाविक रुपमा वामतालमेलका कुरा हुनसक्छन्, तर निर्वाचन क्षेत्रको कुरा फरक हो भनेर पनि जानकारी गराएका थियौँ ।’


त्यतिबेला अध्यक्ष दाहालले यस विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्ने बताएका थिए । तर, सचिवालय बैठकले जिल्ला कमिटीका नेताको माग सम्बोधन गरेन । बरु सो क्षेत्रमा विगतकै वाम गठबन्धनलाई निरन्तरता दिँदै बागलुङमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गर्‍यो । सचिवालयको सो निर्णयपछि उपचुनाव हुने क्षेत्रका नेकपा नेताहरु असन्तुष्ट बनेका छन् ।


पूर्व एमाले समूहका जिल्ला कमिटी एक सदस्यका अनुसार २०७४ को चुनावी गठबन्धनलाई निरन्तरता दिने पार्टी निर्णयमा निर्वाचन हुने क्षेत्रका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । ‘स्थानीय अवस्थाबारे जिल्ला नेतृत्वले जानकारी गराउँदा गराउँदै पनि केन्द्रले जनमोर्चालाई सहयोग गर्ने निर्णय गर्यो’, ती नेताले भने,‘केन्द्रको निर्णयले यो क्षेत्रमा असन्तुष्टिको रुप लिएको छ । ती असन्तुष्टिलाई तत्काल हल गर्न सकिएन भने चुनावमा समस्या देखिन सक्छ ।’


पार्टी केन्द्रको निर्णयप्रति नेकपाका नेताहरुको असन्तुष्टि सार्वजनिक रुपमै आउन लागेपछि त्यहाँ पनि राष्ट्रिय जनमोर्चालाई झस्काएको छ । नेकपा देखिएको असन्तुष्टि कायम रहे त्यहाँबाट अन्तर्घात हुने खतरा जनमोर्चाले देखेको छ ।


यस्तो खतरा देखेर नै मंगलबार जनमोर्चाका जिल्ला नेताहरुले नेकपाका जिल्ला नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए । छलफलमा नेकपा नेताहरुले आफ्नो पार्टीभित्रको समस्या सुल्झाउने प्रतिबद्धता जनाउँदै दिवंगत सांसद घर्तीकी श्रीमतीलाई उमेद्वार बनाउन सुझाएको जनमोर्चाका एक नेताले बताए ।


तर, मंगलबार साँझ राष्ट्रिय जनमोर्चाले सो क्षेत्रमा खिमविक्रम शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमोर्चाको यो निर्णयसँगै नेकपाका नेताहरु अझै असन्तुष्ट बनेका छन् । त्यस क्षेत्रका नेकपाका एक नेता भन्छन्, ‘उहाँहरु (राष्ट्रिय जनमोर्चा) को मत थोरै छ । चुनावको कमाण्ड हामीले गर्नुपर्ने, टिकट जनमोर्चाले पाएको छ । यस्तोमा हामीले चुनाव हाँकेर र हाँकिदैन, उहाँहरुले नै कमाण्ड गर्नुपर्छ ।’


जिल्ला अध्यक्ष सापकोटाले मनोनयन दर्ता अघि जति असन्तुष्टि देखिएपनि पार्टी केन्द्रको निर्णयलाई मान्नुको विकल्प नरहेको बताए । ‘हामीले केन्द्रीय नेतृत्वसँग बागलुङका विशिष्टताबारे समयमै सुझाएका थियौँ । तर पार्टी सचिवालयले जनमोर्चालाई सघाउने निर्णय गर्यो । अब हामीसँग उक्त निर्णय मान्नुको विकल्प छैन । हामी एकढिक्का भएर चुनावमा जान्छौँ । परिणाम वामपन्थीकै पक्षमा ल्याउछौँ । धेरै मत अन्तरले चुनाव जित्छौँ’ उनले भने ।


शिर्ष तहमै आशंका

२९ असोजमा गृहजिल्ला चितवन पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रममा पार्टीभित्र अन्तर्घातको खतरा औंल्याएका छन् । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणको क्रममा नेकपा नेताहरुसँग भएको भेटको सन्दर्भ निकाल्दै प्रचण्डले भनेका थिए,‘चिनियाँ राष्ट्रपतिले हामीहरुको प्रशंसा गर्दैगर्दा कतै उहाँले हाम्रो आलोचना पनि गरेको हो कि जस्तो हामीलाई लाग्यो । नेकपाका नेता कार्यकर्तालाई तिमीहरु आराजक छौ, स्वार्थी छौ । आफ्नो गुटको अनुशासन मान्छौ, पार्टी अनुशासन मान्दैनौ । चुनावमा यो उम्मेदवारलाई उठाउने भनेर निर्णय गर्छौ तर जिताउँदा अर्कै उम्मेदवारलाई जिताउछौ भनेको जस्तो लाग्यो । साथीहरु यो कुरा हामीले आत्मसाथ गर्नुपर्छ ।’ पार्टीभित्रै हुनसक्ने असहयोगको खतरा देखेर कास्की २ बाट सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख वामदेव गौतम पछि हटे ।


४ असोजको सचिवालय बैठकमा दुई अध्यक्षले कास्की–२ बाट चुनाव लड्न गरेको आग्रह अस्वीकार गर्दै नेता गौतमले विज्ञप्ति निकालेर भनेका थिए, ‘यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया-१ बाट उम्मेदवार भएको यहाँहरुमा सर्वविविदै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्‍यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’


पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ तत्काल केही अन्तुष्टि देखिएपनि चुनावमा असहयोगको तहमा नपुग्ने दाबी गर्छन् । ‘पहिलेको आम निर्वाचनबाट सरकार बनाइसकेपछि पार्टी उपनिर्वाचनमा जाँदैछ । यो स्थितिमा सबै नेता कार्यकर्ताहरुले पार्टीका सामु आएको जिम्मेवारीलाई बुझेका छन्, श्रेष्ठले कान्तिपुरसँग भने, ‘सिंगो पार्टी एक ढिक्का हुन्छ । कतिपय कुरामा असहमति, असन्तुष्टि हुन सक्ने भएपनि पार्टीको निर्णयमा कुनै दुविधाको स्थिति पैदा हुँदैन । आगामी उपनिर्वाचनमा हाम्रो विजय निश्चित छ ।’


कास्की र दाङमा अहिलेसम्म विवाद देखिएको छैन । तर भक्तपुर र बागलुङमा देखिएको विवाद अरु जिल्लामा पनि सर्ने आशंका भने शिर्ष नेताहरुलाई पनि छ । औपचारिक हिसाबले उपचुनावमा आन्तरिक असहयोग नहुने दाबी गरेपनि तीनै नेताहरु अनौपचारिक कुराकानीमा अन्तरर्घातको सम्भावना हुनसक्ने आँकलन गरेका छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?