कालापानी ‘नयाँ विवाद होइन’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालापानी ‘नयाँ विवाद होइन’

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — कालापानी नेपालकै भूभाग भएकाले भारतसँगको त्यससम्बन्धी विवाद नयाँ नरहेको नेपाली अधिकारीहरूले बताएका छन् । 

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतको ‘नयाँ नक्सामा पुरानै दाबी दोहोर्‍याइएको र यो भूभाग नेपालकै भएको’ बताए । ‘यो नयाँ विवाद होइन । यसमा दाबी मात्र होइन कि नेपालकै जग्गा हो । तर, भारतले पनि दाबी गरिरहेको हुँदा विवाद उब्जिएको हो,’ उनले भने, ‘यसलाई कुराकानीबाट टुंगाउनुपर्छ । 

आ–आफ्नो प्रमाण पेस गरेर टुंग्याउनुपर्छ । छलफल र कूटनीतिक माध्यमबाट टुंग्याउनुपर्छ, उत्तेजनामा आउनु हुँदैन ।’ यसमा नेपालको आफ्नो पुरानो अडान कायमै रहेको उनले दोहोर्‍याए ।


नापी विभागका महानिर्देशक प्रकाश जोशीले पनि पछिल्लो नक्सा ‘भारतीय पक्षको पुरानै दाबीअनुसार’ रहेको उल्लेख गर्दै यो उत्खननको विषय नै नरहेको बताए ।


भारतले दाबी गरेका भूभाग नेपालले समेत दाबी गर्दै आएको र प्राविधिक रूपमा आफूहरू यो आधारलाई प्रमाणित गर्न सक्ने तहमा रहेको उनको भनाइ छ । यसलाई नयाँ समस्याका रूपमा नलिन उनले आग्रह गरे । नेपाल–भारत सीमावर्ती समस्या सम्बोधन गर्न सन् ८० को दशकमा बनेको संयुक्त प्राविधिक समितिले सन् २००७ भित्र विवादित भनिएका ७८ बिन्दुमध्ये ७६ वटामा समाधान पहिल्याएको थियो । तर कालापानी र सुस्ता भारतीय पक्षको दाबीमा परेका छन् ।


कालापानी र सुस्ता प्राविधिक समितिले सुल्झाउन नसकेको विषय रहेको उनको भनाइ छ । ‘यो विवादित मामिला सुल्झाउन प्राविधिक समितिले धेरैअघि परराष्ट्र सचिवस्तरीय उच्च संयन्त्रलाई जिम्मा लगाइसकेको छ,’ उनले भने, ‘यसबारे निर्णय गर्ने कार्यादेश हामीसँग छैन ।’


यसबारे प्रतिक्रिया लिन खोज्दा परराष्ट्र सचिव शंकरदास बैरागी सम्पर्कमा आउन चाहेनन् ।


भारतको गृह मन्त्रालय र नापी विभागले जारी गरेको नक्सामा नेपालको दार्चुलामा पर्ने कालापानी क्षेत्रलाई आफ्नो भूभागमा समावेश गरिएको छ । पुरानो नक्सामा पनि उक्त क्षेत्रलाई भारतकै भूभागका रूपमा समेटिएको थियो ।


उत्तरी राज्य जम्मु–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी सरकारले गत शनिबार भारतको नयाँ नक्सा सार्वजनिक गरेको हो । अगस्ट ५ मा उत्तरी राज्य जम्मु–कश्मीरलाई विशेषाधिकारसहितको व्यवस्था समेटिएको संविधानको धारा ३७० र ३५ (क) खारेजी र मुस्लिम बहुल यो राज्यलाई दुइटा केन्द्र शासित प्रदेश (युनियन टेरोटरी–यूटी) मा विभाजन गर्ने निर्णय गरेको थियो । अक्टोबर ३१ को मध्यरातबाट लागू हुने गरी उक्त निर्णय कार्यान्वयन गरिएको थियो । त्यसको दुई दिनपछि गत शनिबार भारतको गृह मन्त्रालय र केन्द्रीय नापी विभागले नयाँ नक्सा जारी गरेको हो ।


नेपालले सन् १८१६ को नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सम्पन्न सुगौली सन्धिले नै प्रस्ट पारेको हुँदा उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । जसमा काली नदीलाई नै सीमा नदी मानिएको छ । भारतले भने थप वर आएर कालापानी र लिपुलेकको पूरै क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको छ । सन् १९६२ को चीनसँगको लडाइँपछि भारतले कालापानी क्षेत्रमा औपचारिक रूपमा सैनिक चौकी राखेपछि भने उक्त क्षेत्रलाई लिएर दुई देशबीच विवाद हुँदै आएको छ । नेपालले ती चौकी हटाउन माग गर्दै आए पनि उसले उल्टो काली नदीभन्दा धेरै वर कृत्रिम नदी बनाएर त्यसैलाई नेपाल र भारतबीच सीमा कायम गर्ने काली नदी बताउँदै आएको छ । त्यही आधारमा कालापानी र लिपुलेक भूभागमा आफ्नो नियन्त्रण कायम गर्दै आएको छ ।


यसबीच सीमा विवाद समाधानका लागि पहल नभएको होइन । सन् १९८१ देखि २००७ सम्म नापी विभागका महानिर्देशक नेतृत्वको संयुक्त नापी समितिले करिब २६ वर्ष लगाएर दुवै देशका प्राविधिकले १ सय ८७ वटा स्ट्रिप म्याप पनि टुंग्याइसकेका छन् । तिनै म्यापका आधारमा जीपीएसमा आधारित पिलर गाड्ने काम भइरहेको छ । तर कालापानी र सुस्ताका सम्बन्धमा दुई देशबीच सहमति जुटेको छैन । यस सम्बन्धमा सन् २००७ मा चरणबद्ध बैठक पनि भएको थियो । बैठकले उक्त समिति पनि भंग गर्‍यो । करिब डेढ दशकपछि भारतमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकार बनेपछि नेपालको सीमा समस्या समाधानका लागि संयुक्त कार्यदल बनाउनुपर्ने मागअनुरूप पुन: यसअघिकै जस्तो महानिर्देशक नेतृत्वको संयन्त्रलाई ब्युँताइएको थियो । त्यसयता नक्सांकन भइसकेको ठाउँमा पिलर गाड्ने र अन्य प्राविधिक काम भने भइरहेको छ ।


सन् २०१४ मा सम्पन्न नेपाल र भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको बैठकमा कालापानी र सुस्तासम्बन्धी विवाद प्राविधिकहरूको सुझावका आधारमा विदेश सचिवस्तरमा टुंग्याउने निर्णय भएको थियो । उक्त बैठकमा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराज सहभागी थिइन् । त्यसयता कालापानी र सुस्ता सम्बन्धमा कुनै प्रगति भएको छैन । गत भदौमा काठमाडौंमा सम्पन्न पाँचौं मन्त्रीस्तरीय बैठकले पनि थाती रहेका सीमासम्बन्धी विवादलाई विदेश सचिवस्तरमा टुंग्याउन निर्देशन दिए पनि कुनै ठोस पहल सुरु भएको छैन, जसले गर्दा कालापानी र सुस्तासम्बन्धी सीमा विवाद अन्योलमै छ ।


कालापानी सम्बन्ध पनि बेलाबखत सतहमा आउने गरेको छ । मे २०१५ मा नरेन्द्र मोदीको चीन भ्रमणका बेला जारी संयुक्त वक्तव्यलाई लिएर पनि विवाद चुलिएको थियो । भारत र चीनले लिपुलेकबाट द्विदेशीय व्यापारिक मार्ग निर्माण सहमति गरेपछि नेपालले तत्कालै विरोध जनाएको थियो । नेपालले पत्र नै लेखेर भारत र चीनलाई लिपुलेक त्रिदेशीय बिन्दु भएको अवगत गराएको थियो ।


नयाँ नक्सा सम्बन्धमा मंगलबार साँझसम्म नेपालले भारतसमक्ष औपचारिक रूपमा चासो व्यक्त गरेको छैन । राजदूत आचार्यले भने भारतीय पक्षसँग औपचारिक रूपमा नक्सा मागिएको बताए । ‘अहिले आएको नक्सा जम्मु–कश्मीरको सन्दर्भमा आएको र कालापानीको सन्दर्भमा पुरानै स्थिति दोहोर्‍याइएको उनले बताए ।


भारतले जारी गरेको नयाँ नक्साबारे पाकिस्तानले विरोध गरेको छ । पाकिस्तानले नयाँ नक्सामा आजाद कश्मीरभित्र रहेका मुजफ्फरावादी, मीरपुर र पुँछ जिल्लाका साथै गिलगिट–बालिचिस्तानलाई आफ्नो भूगोलमा पारेको भन्दै कडा आपत्ति जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतले सार्वजनिक गरेको जम्मु–कश्मीरसहितको नयाँ नक्सा कानुनी रूपमा अमान्य भएको उल्लेख गरेको छ । साथै त्यसले संयुक्त राष्ट्रसंघको सम्बन्धित प्रस्तावको समेत ठाडो उल्लंघन गरेको उसको दाबी छ । ‘संयुक्त राष्ट्रसंघले मान्यता दिएको नक्साविपरीत हुने गरी जारी गरिएका यी नक्साहरूलाई पाकिस्तान ठाडै खारेज गर्छ,’ पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ ।

प्रकाशित : कार्तिक २०, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

बुद्ध नेपालमा पो जन्मेका रहेछन् : आइभरिकोस्टका उपराष्ट्रपति

जगदीश्वर पाण्डे

काठमाडौँ — ‘नेपाल आउनुअघि बुद्ध भारतमा जन्मेको भन्ने बुझेको थिएँ । यहाँ आएपछि हिजो (सोमबार) पो थाहा भयो, त्यो तथ्य गलत पो रहेछ । बुद्ध नेपालको लुम्बिनीमा जन्मेका रहेछन्,’ नेपालको तीनदिने भ्रमण पूरा गरी मंगलबार स्वेदश फर्केका अफ्रिकी मुलुक आइभरिकोस्टका उपराष्ट्रपति डानिएल काब्लान डुन्कनले भने ।

उपराष्ट्रपति डुन्कन प्लेन चार्टर गरी आइतबार काठमाडौं उत्रिएका थिए । पहिलोपटक ‘सगरमाथाको देशमा’ आउँदा उनी रोमाञ्चित भए । आइभरिकोस्टबाट करिब साढे ९ हजार किलोमिटर हवाई यात्रा गर्दै आएका उनले त्यहाँका करिब एक हजार मिटर अग्ला हिमाल र संसारकै सर्वोच्च ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको तुलना पनि गरे ।

सन् २०१७ जनवरीमा पद सम्हालेका ७६ वर्षीय डुन्कन पोषणसम्बन्धी सेवाहरूको विस्तारका लागि आयोजित विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । मंगलबार कान्तिपुरसँगको कुराकानीका क्रममा उनले आफ्नो मुलुकका चर्चित फुटबलर डिडियर ड्रोग्बा र याया टुरेको चर्चा मात्र गरेनन्, हालै ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल एक नेपालीले ६ महिनामा चढेको भन्दै प्रशंसासमेत गरे । ‘दुई मुलुकबीच सम्बन्ध विस्तार गर्न अन्य विभिन्न क्षेत्र छन् । आइभरिकोस्टले नेपाललाई फुटबलमा अघि बढ्न सघाउँछ । नेपालले हामीलाई शिखर चढ्न सिकाउनुपर्छ,’ उनले भने ।

नेपालीहरूले फुटबलमार्फत आइभरिकोस्टमाथि गरेको मायाप्रति उनी खुसी भए । ‘नेपाल र आइभरिकोस्टबीच सुमधुर सम्बन्ध हुनुपर्छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा राष्ट्रपतिलाई अर्को वर्ष भ्रमणको निम्तो दिनुभएको छ,’ उनले भने, ‘कसरी दुई मुलुकबीच सम्बन्ध अघि बढाउन सकिन्छ भनेर संयुक्त राष्ट्रसंघमा रहेका दुई मुलुकका प्रतिनिधिबीच कुरा गर्न सकिन्छ ।’ दुईपटक प्रधानमन्त्रीसमेत बनिसकेका डुन्कनले नेपाल आउन पाउँदा गज्जब लागेको बताए । नेपाल संस्कृतिको धनी मुलुक रहेको र यहाँका उच्च हिमाल विकासमा सघाउने उनको भनाइ छ ।

अफ्रिकी महादेश पछाडि मात्र परिरहेको छ कि त्यहाँ विकासका परिवर्तन पनि देखिएका छन् भन्ने प्रश्नमा डुन्कनले भने, ‘तथ्यांक हेर्ने हो भने एसियापछि सबैभन्दा बढी आर्थिक वृद्धिदर गर्ने महादेश अफ्रिका हो । त्यहाँको प्रतिव्यक्ति आय (जीडीपी) मा ५ प्रतिशत वृद्धि भएको छ । आइभरिकोस्टमा सन् २०१२ देखि २०१८ सम्म लगातार ८ प्रतिशतको आर्थिक वृद्धि भइरहेको छ ।’ चिनियाँ लगानीले अफ्रिकी मुलुकहरूमा खेलिरहेको भूमिकाबारे पनि उनले प्रस्ट्याए ।

प्रकाशित : कार्तिक २०, २०७६ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×