देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ : गृहमन्त्री थापा

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताएका छन् । 

गृहमन्त्रालय र प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान गरिसकिएको बताए । गृहमन्त्री थापाले भने, “देशमा शान्ति सुव्यवस्था र आर्थिक प्रगतिको अवस्था सकारात्मक रुपमा अघि बढेको छ ।”


पछिल्लो समय कानून र सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सरकारले महत्वपूर्ण रुपमा ठोस् कदम उठाएको उल्लेख गर्दै उनले नेपाल प्रहरीको संरचनालाई सङ्घीय संरचनाअनुरुप लैजाने कार्यमा सरकारले छिट्टै नै कानुनी प्रक्रिया पूरा गरेर प्रदेशमा प्रदेश प्रहरीको संरचना स्थापना गर्ने गृहकार्य गरिरहेको जानकारी दिए ।


गृहमन्त्री थापाले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउँदै लगेको भन्दै चिनियाँ राष्ट्रपतिको झण्डै दुई दशकपछिको नेपाल भ्रमणले नेपालको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।


दुई देशबीच धेरै विषयमा सहकार्य र सम्झौता भएको उल्लेख गर्दै उनले यसबाट नेपालको विकास र समृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । गृहमन्त्री थापाले मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख रहेको बताउँदै सरकारले अगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ८ प्रतिशत भन्दामाथि पुर्‍याउने लक्ष्य राखेको उल्लेख गरे । आगामी चार वर्षभित्रमा दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नेतर्फ सरकार सकारात्मक दिशामा अघि बढिरहेको पनि उनले बताए ।


सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय गोष्ठीमा आज गृहमन्त्री थापासहित मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखलगायत सहभागी भएका छन् । यस्तै गाष्ठीमा प्रदेश ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता छ ।

प्रकाशित : कार्तिक १९, २०७६ १२:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उडान गन्तव्य थप्दै वायुसेवा निगम

निगमले मंसिरदेखि ग्वोञ्जाओ उडान गर्ने
रासस

काठमाडौँ — राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मंसिरको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो ।

'निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मंसिर महीनादेखि उडान शुरु हुनेछ,' मन्त्रालयका एक अधिकारीले भने । निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउने भनिएको थियो । तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो ।

सोही बमोजिम निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र सोही आधारमा ग्वोञ्जाओ उडानका लागि ‘स्लट’ पाउने बताइएको छ ।
यसैबीच निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र सांङ्घाई उडानका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ ।

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले यही कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । हिमालयले चीनका अन्य थप पाँच गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।
पुसको दोस्रो सातादेखि जापानको नारिता उडान हुने

निगमले आगामी जनवरी महीना अर्थात पुसको दोस्रो सातादेखि जापानको राजधानी टोकियो नजीकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको तयारी गरेको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले आन्तरिक तयारी पूरा गरेको जनाइएको छ ।

निगमले जापान सिभिल एभिएशनले मागेको आवश्यक कागजात बुझाइसकेको छ, तत्पश्चात् उडान अनुमति पाउनेछ । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ । नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ ।

गत भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान शुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो । निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ ।

प्रकाशित : कार्तिक १८, २०७६ १३:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×