कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जयनगर–जनकपुर रेल सञ्चालनमा आउन अझै दुई महिना लाग्ने

कर्मचारी व्यवस्थापन भएन 
विमल खतिवडा

काठमाडौँ — रेल सेट एसेम्बलिङ गर्न ढिलाइ हुँदा जयनगर–जनकपुर रेल सञ्चालनमा आउन अझै दुई महिना लाग्ने भएको छ । यस अघि रेल विभागले कात्तिक मसान्तभित्र रेल आउने दाबी गरेको थियो । हाल थप समय लाग्ने देखिएको हो । ‘सबैतिरबाट ताकेता गर्न सकिए चाँडो हुने थियो,’ विभाग स्रोतले भन्यो, ‘निर्माणमै ढिलाइ भएको छ, कसरी चाँडै आउँछ ?’ 

जयनगर–जनकपुर रेल सञ्चालनमा आउन अझै दुई महिना लाग्ने

विभाग स्रोतका अनुसार चाँडो गर्न ताकेता गरे पनि काम सकिएको छैन । सञ्चालनका लागि भारतको जयनगर–जनकपुरअन्तर्गत कुर्था खण्डमा भौतिक संरचना तयार भइसकेको छ । भारतबाट रेल बनेर नआउँदा मात्र समस्या भएको हो । विभागका महानिर्देशक बलराम मिश्र भने रेलको पाटपुर्जा धेरै बनाउनुपर्ने भएकाले केही समय बढी लागेको दाबी गर्छन् ।


‘हामी दैनिकजस्तो अपडेट भइरहेका छौं, यसका धेरै पाटर््स हुन्छन्, जसको एसेम्लिङ हुँदै छ,’ उनले भने, ‘रङरोगन पनि निर्माण सँगसँगै गर्ने कुरा छ, त्यसैले तोकिएको भन्दा थोरै बढी समय लाग्ने देखिएको हो, अरू त्यस्तो समस्या छैन ।’ कात्तिक मसान्तमै रेल आउने भएपछि त्यहीअनुसार भौतिक संरचना तयार पारिएको छ ।


‘सबै तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘रेल आएपछि सिधै सञ्चालन हुनेछ ।’ दुई सेट रेल खरिदका लागि विभाग र भारतको कोंकण रेलवेज कर्पोरेसन लिमिटेडबीच वैशाखमा सम्झौता भएको थियो । सम्झौताअनुसार ५ महिनाभित्र रेल आउने बताइएको थियो । रेल सेट खरिदका लागि ८४ करोड ६५ लाखमध्ये २० प्रतिशत रकम बैंक खातामार्फत पठाइसकिएको छ । रेलको एक सेटमा पाँच वटा डिब्बा रहनेछन् । ती डिब्बामा एक पटकमा करिब १३ सय यात्रु अटाउने छन् ।


कर्मचारी व्यवस्थापनको तयारी भने छैन । दुई सयभन्दा बढी कर्मचारी चाहिने छ । तत्कालका लागि सञ्चालन गर्न विशेषज्ञ सेवा भारतबाटै लिइनेछ । विभागका अनुसार केही कर्मचारी सुरुमा ज्यालादारी र करारमा राखिनेछन् । सबैभन्दा बढी कर्मचारी तल्लो तहमा आवश्यक पर्छ । माथिल्लो तहमा कम कर्मचारी भए पनि पुग्नेछ । कर्मचारी नियुक्तिका लागि नियम कानुन अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । रेल स्टेसनका लागि संगठनको संरचना बनाएर कर्मचारी माग गरिएको हो । एउटा स्टेसनमा १२ देखि १५ जनासम्म कर्मचारी रहनेछन् ।


जयनगर–जनकपुरदेखि बर्दिबाससम्म रहेका स्टेसनका लागि कर्मचारी आवश्यक छ । जयनगर, इनरुवा, खजुरी, मैनाथपुर, वैदेही, पर्वा, जनकपुर, कुर्था, प्रिपाडी, बिजलपुरासम्ममा कर्मचारी व्यवस्थापन गर्नुपर्छ । ३४ किमि क्षेत्रको कुर्थासम्म काम सकिएको छ । कुर्थादेखि बिजलपुरासम्म १७ किमि छ । बिजलपुरादेखि बर्दिबाससम्म रेल गुड्न भने समय लाग्नेछ । जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेल्वे नेटवर्क बन्नेछ ।


प्रकाशित : कार्तिक १८, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?