कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युरोडलाई व्यवस्थित बनाउने महानगरको योजना

सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले न्युरोडलाई व्यवस्थित बनाउने भएको छ । यस वर्षको बजेट पुस्तिकामा समेटिएको न्युरोडको सौन्दर्यीकरण योजनाअनुसार महानगरको सहरी योजना आयोगले डिजाइन तयार गरिरहेको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी गराए । 

न्युरोडलाई व्यवस्थित बनाउने महानगरको योजना

न्युरोडलाई ‘गेट वे टु दी ओल्ड सेटलमेन्ट’ (पुरानो बस्तीको मुख्यद्वार) भनेर परिभाषित गर्नुपर्ने उनले बताए । ‘किनकि पुरानो बस्तीमा जाने बाटो पनि यही हो,’ उनले भने, ‘त्यसैले यसको संरक्षण र संवर्द्धनमा महानगरले काम गरिरहेको छ ।’


न्युरोडको इतिहास र अहिलेको बजारीकरणलाई ध्यान दिँदै यस्तो योजना ल्याइएको महानगरले जनाएको छ ।

न्युरोड अर्थात् नयाँ सडक १९९० सालको भूकम्पपछि निर्माण भएको थियो । भूकम्पले घरहरू भत्किएपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले सडकलाई फराकिलो पार्दै मोटर गुड्ने सडक निर्माण गरेका थिए । त्यसो त यो क्षेत्र मल्लकालदेखि नै चलनचल्तीको सडक हो । बसन्तपुर दरबारक्षेत्र जाने मूल सडक नै यही हो । न्युरोडमा भएको भूगोलपार्क भूकम्पबाट मृत्यु भएकाहरूको सम्झनामा निर्माण गरिएको थियो । पार्कको पर्खाल भत्काएर खुल्ला क्षेत्र बनाउने योजना पनि महानगरले बनाएको छ । तत्कालीन प्रधानमन्त्रीले नै न्युरोडदेखि धर्मपथ र इन्द्रचोकसम्मका घरहरूमा ‘फसाद ट्रिटमेन्ट’ (बाहिरी स्वरूप मर्मत) गरेका थिए ।


कलात्मक न्युरोड गेट

महानगरले न्युरोड गेटको समेत प्रबलीकरण गर्ने योजना बनाएको छ । ‘चुनढुंगाका लिपिहरूलाई जस्ताको त्यस्तै राखिनेछ । काठ र फलाम प्रयोग गरेर कलात्मक र मौलिक रूप दिने योजना छ,’ आयोगका उपाध्यक्ष बस्नेतले भने, ‘अहिले गेटमा सिमेन्टबाट बनेको कुमार र गणेशका मूर्तिहरू राखिएका छन् ।’ प्रबलीकरण गर्दा त्यसमा ढुंगाकै मूर्ति राख्ने योजना आयोगको छ ।


न्युरोड गेटभित्रका फुटपाथ पनि ढुंगा प्रयोग गरी कलात्मक बनाइने बस्नेतले जानकारी दिए । गेटमा भएको बज्र प्लास्टर उप्काएर नयाँ प्लास्टर गरिनेछ भने मक्किएका इँटा निकाल्ने काम हुनेछ । ‘पहिलो चरणमा गेट र फुटपाथ मर्मतसम्भारका साथै रंगरोगन हुनेछ, बिजुलीका तार अन्डरग्राउन्ड गर्नेछौं,’ उनले भने, ‘काष्ठमण्डपको बुट्टायुक्त रेलिङ फुटपाथमा राख्‍न डिजाइन फाइनल भइसकेको छ ।’ रेलिङमा कुमारीको डिजाइन गरिएको उनले बताए । ‘गेट, फुटपाथ र रेलिङ राख्न ६ महिना समय लाग्छ,’ उनले भने ।


न्युरोड गेटको मौलिक स्वरूप नबिगारी नेपाली कला देखाउने प्रयास रहने उनले बताए । न्युरोड गेटदेखि जुद्ध शमशेरको सालिकसम्म पुग्ने सडकपेटीको ब्लक निकालेर दर्शन ढुंगा छाप्ने योजना पनि महानगरको छ ।


सवारी निषेधको योजना

अव्यवस्थित पार्किङ र ट्राफिक कारबाहीमा धेरै सवारीसाधन पर्ने क्षेत्रमा न्युरोड पनि पर्थ्यो । काठमाडौं महानगरपालिकाले अव्यवस्थित पार्किङको समस्या समाधानका लागि ह्विल्स ट्रली योर्स संस्थाको सहकार्यमा स्मार्ट पार्किङ सुरु गरिसकेको छ । स्मार्ट पार्किङ सुरु गरिए पनि न्युरोड क्षेत्रको पार्किङको समस्या अझै उस्तै छ । त्यसको विकल्पमा न्युरोडलाई सवारीसाधन मुक्त क्षेत्र बनाउन अध्ययन गरिरहेको आयोगले जनाएको छ । ‘अहिले नै सवारी साधनमुक्त बनाउन सम्भव छैन,’ बस्नेतले भने, ‘योजना बनाउँदै जाने हो भने एकदिन अवश्य सम्भव हुन्छ ।’


सवारीसाधन निषेध गरेपछि पार्किङका लागि व्यवस्था मिलाउन महानगरले उपयुक्त ठाउँको अध्ययन सुरु गरेको छ । खुलामञ्च र रानीपोखरीसँगैको शान्तिपार्कबीचको बाटोलाई अन्डरग्राउन्ड बनाएर त्यहाँमाथि पार्किङ गर्ने व्यवस्था मिलाउन अध्ययन गरिरहेको बस्नेतले बताए ।


प्रकाशित : कार्तिक १८, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?