देउसी खेल्न बोलाएर ‘बलात्कार’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउसी खेल्न बोलाएर ‘बलात्कार’

बिनु सुवेदी

काठमाडौँ — गाउँकै स्कुलबाट १२ कक्षा सकेपछि उनी थप अध्ययनका लागि ५ महिनाअघि काठमाडौं आइन् । दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो, जतिसक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरू हप्तैपिच्छे हाइकिङ जान्थे । त्यही क्रममा गत असार पहिलो साता इन्द्रहाङ राईसँग उनको चिनजान भयो ।


दिदीको सँगै पढ्ने साथी भएकाले उनी दाइ भनेरै सम्बोधन गर्थिन् । सम्बन्ध दाजुबहिनीकै जस्तै चुलिएको थियो । ‘अहिले पनि उसैले बहिनीलाई यो हिंसा गर्‍यो भनेर विश्वास गर्नै कठिन भइरहेको छ,’ उनकी दिदीले भनिन् ।


भाइटीकाको अघिल्लो दिन उनी कोठामा एक्लै थिइन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने राईलाई यो थाहा नहुने कुरै भएन । इन्द्रहाङ विद्यार्थी नेता पनि हुन् । कसैको समस्यामा उनी सहयोग गर्न अघि सर्थे । अझ राईसँग ‘बहिनीले काठमाडौंमा दिक्क मान्न सक्छे, सरसहयोग गरिदिनू’ भनेर दिदी काठमाडौं बाहिर गएकी थिइन् । दिउँसो उनलाई राईले फोन गरे । ‘३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भने । उनी जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्‍याए, जहाँ उनका आफन्त डेरा गरेर बस्छन् ।


त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । माहौल ठीकठाक थियो, ठूलो कुरा त विश्वास नै थियो । तर जब राई उनीमाथि जाइलाग्न थाले विश्वासको पहाड ढल्यो । ‘सुरुमा उसले हग गरौँ भन्यो, मैले मानिनँ त्यसपछि जबर्जस्ती गर्‍यो,’ उनी सम्झिन्छिन् ।


प्रतिकार गरे पनि उनी उम्किन सकिनन् । ‘मैले मान्दै नमानेपछि गालामा दुई झापड हान्यो, सबैलाई भनिदिन्छु भनें तर तेरो बेइज्जत गरिदिन्छु भनेर धम्क्यायो,’ उनले सुनाइन् ।


राईले मर्‍याकमुरुक पारिदिएको उनको हात अरूले छोए पनि दुख्छ । राईको बलियो घुँडाले थिचेका उनका खुट्टाहरू राम्ररी टेकिन सकेका छैनन् । बुधबार साँझ कान्तिपुरसँगको भेटमा उनले त्यो दिन सम्झिइन्, ‘उसले दुई पटकसम्म जबर्जस्ती मेरो मुखमा लिंग छिराइदियो ।’ उनले जतन गरेर राखेकामध्ये सबैभन्दा राम्रो कुर्था लगाएकी थिइन्, राईले धुजाधुजा पारिदिए । पीडितले यही कुरा प्रहरीमा पनि रिपोर्ट गरेकी छन् । ‘तर मेडिकल टेस्टमा माउथ स्वाब लिइएन, मैले भन्न सक्ने अवस्था पनि थिएन । अहिले त्यही आधारमा प्रमाण पुगेन भनेर उसलाई छाडिदिन्छन् कि भन्ने डर लागेको छ,’ उनले भनिन् ।


त्यस क्रममा राईले धेरै धम्की दिएको पीडितको भनाइ छ । दिउँसो ३ बजेदेखि करिब साढे ३ घण्टा उनीमाथि जाइलागेका राईले उनलाई चक्कु देखाएर मार्नेसम्मको धम्की दिएको उनले सुनाइन् । ‘मलाई त्यहाँबाट निस्किन धेरै सकस भयो, कतै पनि भन्दिनँ अहिले यहाँबाट निस्किन दिनुस् भनेपछि उसले बाइकमा बसपार्कसम्म ल्याएर छाडिदियो,’ उनले भनिन् । त्यतिखेर उनको साथमा गाडी भाडा तिर्ने पैसा थिएन, योबारे राई जानकार थिए । राईले उनको हातमा हजार रुपैयाँ थमाउँदै भने, ‘मलाई यो पैसा फिर्ता होला भन्ने आस छैन ।’ ‘तर मैले पैसा उसैलाई फालिदिएँ, गाडी चढें र दिदी (दिदीको साथी) लाई फोन गरें,’ उनले भनिन् ।


दिदी उनलाई लिन कोटेश्वरसम्म आइपुगिन् । घर पुगेपछि उनले सबै कहानी सुनाइन् । घटना बाहिर ल्याउने कि नल्याउने भन्ने विषयमा उनीहरूबीच लामो छलफल भयो । अन्ततः राति १ बजेतिर पुलिसमा जाहेरी दिन उनी तयार भइन् । उनीहरू कौशलटारमा बसिरहेका थिए, १०० मा डायल गर्दा सानोठिमी प्रहरीले फोन उठायो । घटना माकलबारीको हो भनेपछि बौद्धको प्रहरीलाई खबर गर्नु भन्ने जवाफ आयो । उनीहरूले बौद्धको नम्बर पत्ता लगाए र फोन गरे, त्यतिखेरसम्म रातिको साढे १ बजिसकेको थियो । प्रहरीको जवाफ आयो, ‘अहिले धेरै रात परिसक्यो, बिहान ६ बजे आउनू ।’ प्रहरीको हल्काफुल्का जवाफ सुनेर उनीहरू छक्क परे ।

‘बलात्कारजस्तो गम्भीर घटनामा पनि यस्तो जवाफ दिने भनेर कराएपछि प्रहरीले त्यसो हो भने तपाईंहरू आफैं आउनुस्, हामी आउन सक्दैनौं भन्यो,’ उनी सम्झिन्छिन् ।


त्यसपछि दिदीबहिनीले केही साथीलाई फोन गरे, साथीहरू पनि कौशलटार आइपुगे र उनीहरू राति साढे २ बजेतिर उजुरी लिएर प्रहरी कार्यालय बौद्ध पुगे । उजुरी दर्ता भयो तर प्रहरी घटनास्थलमा बिहान ६ बजेमात्रै जाने भयो । उनीहरू बौद्ध एरियामै यताउता टहलिएर उज्यालो बनाए ।


भाइटीकाको दिन, बिहानीको सिरेटोले उनको शरीर झन्झन् दुख्न थाल्यो । घटनास्थलमा प्रहरीभन्दा अगाडि नै राई पुगिसकेका थिए । उनले आफू प्रहरीको इन्स्पेक्टर हुँ भन्दै कोठा खोल्न पनि लगाएका थिए, त्यही बेला ठ्याक्कै प्रहरी पुग्यो । राई पक्राउ परे । उनी नेकपाको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सहसचिव हुन् ।


पक्राउपछि राईको परिवारका सदस्यले पीडित किशोरीलाई फोन गरे । सुरुमा सान्त्वना दिए, पछि मिल्नुपर्छ भनेर फकाए । तर उनी कानुनी कारबाहीका लागि दृढ रहिन् ।


काठमाडौंमा अहिले दिदीबहिनी र त्रिभुवन विश्वविद्यालयका केही साथी मिलेर उनलाई काउन्सिलिङ गराउन यताउति धाइरहेका छन् । घटनालाई लिएर उनको मनोबल कत्ति पनि नघटोस् भन्ने उनीहरूको चाहना छ । तर के के कुराको अभाव परिरहन्छ । ‘हामीले काउन्सिलिङका लागि प्रहरीसँग पनि अनुरोध गरेका थियौं तर आफैं गर्नुस् भनेर जवाफ दिए,’ उनकी दिदीले सुनाइन् । ‘यस्तो अप्ठ्यारो परेका बेला इन्द्र दाइलाई भनेपछि सहयोग गर्नुहुन्छ कि जस्तो लाग्छ,’ उनकी दिदीले भनिन्, ‘फेरि झसङ्ग हुन्छु, बलात्कारी त उही पो हो ।’ उनीहरूको अनुहारको बत्ती झ्याप्पै निभ्यो तर उसलाई कारबाही भएको देख्ने चाहना निभिसकेको छैन ।


प्रकाशित : कार्तिक १४, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

निर्मलको कीर्तिमान

ब्रिटिस आर्मीको जागिर छाडेर आएका म्याग्देली ठिटोले ६ महिना ६ दिनमा आठ हजार मिटर अग्ला विश्वका सबै हिमाल चढे
नवीन पोखरेल, घनश्याम खड्का

काठमाडौँ — ब्रिटिस आर्मीको जागिर, करिब ७ करोड रुपैयाँ बराबरको पेन्सन । यो सब माया मारेर हिमाल चढ्न तम्सनु चानचुने निर्णय थिएन । धेरैले यसलाई दुस्साहस ठाने, पागलपन भने । त्यही पागलपन अहिले विश्व कीर्तिमान बनेको छ ।

म्याग्दीका निर्मल पुर्जालाई यति बेला बधाईको ओइरो छ । उनले ८ हजार मिटर अग्ला सबै १४ हिमाल आरोहण गरेका हुन्, त्यो पनि जम्मा ६ महिना ६ दिनमा । उनको यो सफलता विश्वले नियालिरहेको छ । उनले चौधौं हिमालका रूपमा मंगलबार बिहान ८ बजेर ५८ मिनेट (स्थानीय समय) मा चीनको सिसापाङमा आरोहण गरेका हुन् । यो ८ हजार २७ मिटर अग्लो छ ।

सुरुमा उनले सात महिनाभित्र आरोहण पूरा गर्ने ठानेका थिए । योजना सुनाउँदा धेरैले पत्याएनन् । सहयोग अपेक्षा गरिएका संघसंस्था र व्यक्तिहरू तर्किए । तर उनी हच्किएनन् । २३ दिनअघि नै लक्ष्य पूरा गरिदिए । ‘आफ्नो मिसन पूरा गरेर औधी खुसी छु,’ निर्मलले बुधबार केरुङ नाका पार गर्दै कान्तिपुरसँग खुसी साटे, ‘मैले प्रकृतिसहित विश्वभरबाट साथसहयोग पाएँ, उहाँहरूप्रति धन्य छु ।’ उनले आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको बताए ।

निर्मलले दक्षिण कोरियाका किम च्याङ होको कीर्तिमान तोडेका हुन्, जुन उनले ७ वर्ष १० महिना ६ दिन लगाएर बनाएका थिए ।
सकारात्मक सोच र लक्ष्यप्रति प्रतिबद्ध भएकैले यो सम्भव भएको निर्मलको बुझाइ छ ।

आरोहणअघि अनुमति पाउन, खर्च जुटाउन र राजनीतिक कारणले पनि केही मुस्किल भएको उनले सम्झिए । चीनले सिसापाङ्मा हिमाल आरोहणमा प्रतिबन्ध लगाएको छ । नेपाल सरकारको विशेष पहलपछि मात्र निर्मलले आरोहण अनुमति पाएका हुन् । अभियान सुरु गर्दा उनले कम्तीमा १० करोड ५० लाख रुपैयाँ लाग्ने बताएका थिए । यो खर्च कहाँबाट जुटाए त ? अहिले खुल्न चाहेनन् ।

‘म गाइड गर्न पर्सि आमादब्लम जाँदै छु । अब पैसा पनि कमाउनुपर्‍यो नि ?,’ निर्मलले हँस्यौली पारामा सुनाए । ११ नोभेम्बरमा दिवंगत सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्न आमादब्लम चढ्ने उनको योजना छ । त्यसपछि १७ तारिखमा बेलायत फर्कंदै छन् । त्यहाँ पुगेर किताब लेख्ने र वृत्तचित्र बनाउने सोचेका छन् ।

निर्मलको आरोहण अभियान घाइते सैनिक भेट्रान र नेपालका पिछडिएका बालबालिकाको सहयोगमा काम गर्ने ब्रिटिस मिलिट्री तथा नेपाली च्यारिटीको सहयोगार्थ केन्द्रित छ । जलवायु परिवर्तन र विश्व तापमान वृद्धिबारे जनचेतना जगाउने उद्देश्य पनि छ ।

‘प्रोजेक्ट पोसिबल १४:७’ नाम दिइएको उनको महत्त्वाकांक्षी योजना गत मार्च अन्तिम साताबाट सुरु भएको थियो । ब्रिटिस आर्मीमा अझै १० वर्ष कार्यावधि रहेका ३५ वर्षीय निर्मलको पूर्ण पेन्सन आउन ६ वर्ष मात्र बाँकी थियो । ‘मैले ५ लाख पाउन्ड पेन्सन गुमाएर आरोहणमा लाग्ने निधो गरेको हुँ,’ उनले आरोहणअघि कान्तिपुरसँग भनेका थिए, ‘आर्मीमा मेरो राम्रो तलब–सुविधा (मासिक ६ लाख रुपैयाँ) थियो । तर, नेपाल, नेपाली र सम्पूर्ण मानव जातिको प्रतिष्ठा उचो बनाउन प्रोजेक्ट पोसिबलको महत्त्वाकांक्षी योजना बनाएँ ।’

आरोहण तयारीका लागि निर्मलले घर रिमोर्गेज गरेर करिब ७५ लाख रुपैयाँ आफ्नै खाताबाट जोहो गरेका थिए । यसअघि पनि घर रिमोर्गेज र आफ्नो कमाइबाट गरी करिब एक लाख पाउन्ड खर्च गरिसकेको उनले बताए ।
सन् २००३ मा ब्रिगेड अफ गोर्खाज प्रवेश गरेका उनी सन् २००९ देखि ‘यूके स्पेसल फोर्सेस’ को अंग बने । ब्रिटिस आर्मीको स्पेसल बोट सर्भिसमा छानिने पहिलो गोर्खा हुन् उनी ।

सन् २०१२ देखि आरोहण थालेका उनले यसअघि तीनपटक सगरमाथा चढे । ८ हजार मिटरमाथिका ४ वटा र ४ महादेशका अग्ला हिमाल चढेर अनुभव बटुले ।

निर्मल सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सेवारत ब्रिटिस गोर्खा पनि हुन् । यसअघि पनि आरोहणमा उनका नाममा थुप्रै कीर्तिमान छन् । सगरमाथादेखि लोत्से आरोहण जम्मा दस घण्टा १५ मिनेटमै पूरा गरे, जुन त्यसअघि २० घण्टाको रेकर्ड थियो । ५ दिनमै सगरमाथा, लोत्से र मकालु (८ हजार मिटर अग्ला) चढे । १७ दिनमा सगरमाथा दुईपटक, लोत्से र मकालु चढ्ने व्यक्ति पनि उनै हुन् । उनले सगरमाथा चढ्ने क्रममा कठ्यांग्रिएर सिकिस्त अवस्थामा पुगेका एक भारतीय आरोहीलाई बचाएका थिए । ‘जी २०० ई गोर्खा एक्सपिडिसन’ मा १३ गोर्खाहरूलाई सगरमाथा लैजान निर्मलको प्रमुख भूमिका थियो । यी उपलब्धि र साहसकै कारण उनले यसै वर्ष ब्रिटिस आर्मीमा एमबीईजस्तो अवार्ड पाउन सफल भए ।

को हुन् निर्मल पुर्जा ?
निर्मलको जन्मस्थान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना गाउँ हो । उनी नन्दबहादुर र पूर्णकुमारी पुर्जाका पाँच सन्तानमध्ये कान्छा हुन् । उनी दुई वर्षका छँदा भारतीय सेनाका लाहुरे बाबुले चितवनको रत्ननगरमा बसाइँ सारे । निर्मलले नारायणघाटस्थित स्मल हेभेन स्कुलबाट एसएलसी उत्तीर्ण गरेका थिए ।

जेठा दाजु गंगा र साइँला कमल पनि बेलायती सेनाका लाहुरे हुन् । माइला जीत भने पुर्ख्यौली थलो दानाको ज्ञानप्रकाश माविमा शिक्षक छन । दिदी अनिता अस्ट्रेलियामा डाक्टर छिन् । निर्मलकी पत्नी सूची बेलायतमै बसोबास गर्छिन् । उनी भने सेवानिवृत्त भएपछि आमाबाबुसँग चितवनको रत्ननगरमै बस्दै आएका छन् ।

आमा पूर्णकुमारी र माइली भाउजू कुलमाया निर्मललाई लिन बुधबार बिहान सिसापाङ्मा हिमालको बेसक्याम्पमै पुगेका थिए । ‘बेलायती सेनामा सबैभन्दा बढी तलब खाने गोर्खामध्येका भाइको जागिर छोडेर हिमाल चढ्ने निर्णयले हामी अक्मकिएका थियौं तर उसले विश्व रेकर्ड तोडेको खबरले औधी खुसी छौं,’ चितवनबाट कार्यस्थल फर्कंदै गरेका माइला दाजु जितले भने । ‘भाइलाई लिन आमा उहीं तिब्बतै पुग्नु भा’छ । आज नेपाल फर्कने कार्यक्रम छ,’ उनले भने ।

प्रकाशित : कार्तिक १४, २०७६ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×