कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ

मेनुका ढुंगाना

अछाम — अछामको रामारोशनकी १२ वर्षीया एक बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिएको छ । कुकुरले टोकेपछि उपचारका लागि अस्पतालमा ल्याइएकी उनको जाँचका क्रममा चिकित्सकले पेटमा बच्चा भएको अभिभावकलाई बताएका हुन् । 

१२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ

'कुकुरले छोरीलाई टोकेको थियो । सुई लगाउनको लागि अस्पताल ल्याएको थिएँ,' बालिकाका बुवाले भने,'छोरीको पेट किन सुनियो डाक्टर सा'ब हेरिदिनुस् भने । डाक्टरले चेकजाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसे जस्तो भएँ ।'


सुस्तमनस्थिति ती बालिकाको गर्भ कसरी रह्यो भन्नेमा प्रहरीले खोजी सुरु गरेको छ । उनलाई बलात्कार गरिएको हुनसक्ने डीएसपी जनक शाहीले बताए । 'गम्भीर प्रकृतिको घटना हो । उनले सुरुमा नाम लिएका एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौ,' उनले भने,'अहिले अरु ४/५ जना केटाहरुको नाम पनि लिएकी छन् । उनीहरुलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं ।'


ती बालिकाकी आमा पनि सुस्तमनस्थिति रहेको र बुवालाई यो घटनाबारे जानकारी नभएको प्रहरीले जनाएको छ । गम्भीर प्रकृतिको घटना भएकाले अस्पतालले प्रहरीलाई खबर गरेको जानकारी जिल्ला अस्पताल अछामकी एक नर्सले दिइन् । यो केस नै फरक भएकाले प्रहरीसँगको परामर्शमा रहेको उपचारमा संलग्न चिकित्सकले बताए ।


जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको २२ हप्तासम्मको गर्भ भएमा अन्यथा अरु अवस्थाका अनिच्छित गर्भ १२ हप्ता ननाघेको गर्भपतन गर्न मिल्ने कानुनी व्यवस्था छ ।


लिंग पहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ।


अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १२ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ। तर यी बालिकाको हकमा अहिल्यै नै के गर्न सकिन्छ भन्ने बारे सल्लाह भइरहेको सरोकारवाला बताउँछन् ।

प्रकाशित : कार्तिक ८, २०७६ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?