कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै तर्सिरहन्छन् द्वन्द्वपीडित

दुर्गालाल केसी

(दाङ) — रूपन्देहीको कञ्चन गाउँपालिकाका चूडामणि ढकाललाई पिसाब चुहिरहने समस्या छ । दुर्गन्ध नहोस् भनेर उनी कन्डम लगाएर हिँड्छन् । राम्ररी कान सुन्न नसक्ने उनको शरीरभरि चोट छ । त्यसभन्दा बढी मानसिक चोटले तडपिरहेका उनी डिप्रेसनको सिकार भएका छन् । 

अझै तर्सिरहन्छन् द्वन्द्वपीडित

बुटवलमा पत्रिका बिक्रीको काम गर्ने ढकाललाई तत्कालीन विद्रोही माओवादीलाई सघाएको आरोपमा ०५८ माघ १० गते सुरक्षाकर्मीले पक्राउ गरे । ११ र १४ वर्षीय छोरा दिनेश र रमेशलाई पनि लगियो । उनीहरूलाई सालझन्डीस्थित सेनाको ब्यारेकमा राखियो ।


‘हात काटेर नुनचुक लगाइयो । नङमा पिन ठोकियो । पिसाब फेर्दा करेन्ट लगायो । छोराहरूको टुप्पीमा पिन ठोकियो,’ ढकाल भक्कानिए, ‘मेरो शरीरभरि कुटेका, पिटेका घाउ मात्रै छन् । त्यो यातनाले कान बन्द भए, पिसाब रोकिन छाड्यो । खुट्टा सीधा गरेर हिँड्न सक्दिनँ ।’ त्यसपछि पनि उनीमाथि यातना रोकिएन । उनको घरमा ५३ पटक छापा मारियो । निरन्तर निगरानी बढेपछि लुकीलुकी हिँड्न बाध्य भए । छोराहरूले पनि सुख पाएनन् । फेरि पक्राउ पर्ने त्रासमा छोरा रमेशले विश्वनाथ र दिनेशले विदुर नाम लेखाएर नयाँ स्कुलमा भर्ना भए । तैपनि नियमित पढ्न पाएनन् ।


तत्कालीन सेनाका मेजर आनन्दसिंह भाट, लेखनाथ भट्ट र प्रहरीका सई लालबहादुर चिडीलगायतले आफूलाई यातना दिएको ढकालले बताए । सत्य निरूपण तथा मेलमिलाप आयोगले यस्ता घटनामा छानबिन गर्ने भने पनि काम अघि बढेन । कतिले माफीको कुरा गरिरहेका छन्, यसले उनलाई झन् पीडा हुन्छ । आफूलाई यातना दिनेहरू पाँच घण्टा भए पनि थुनामा बसेको देख्न चाहन्छन् उनी । ‘जनतालाई न्याय दिनुपर्छ भनेर ०३३ सालमा नेकपा मसालको सदस्य भएको हुँ तर कहिल्यै मान्छे मार्नुपर्छ भनिनँ । मलाई किन अमानवीय यातना दिइयो ?’ उनले भने, ‘सत्तामा पुग्नेले पनि जनताका लागि केही गर्न सकेनन् । असल कम्युनिस्ट कहिल्यै सत्तामा जान पाएन । हामीलाई न्याय दिन किन कोही तयार छैन । जघन्य अपराध गर्नेलाई कसरी माफी दिन सकिन्छ ?’


प्यूठानको मल्लरानी–३ की भुमा पौडेललाई पुराना घटना सम्झिँदा असह्य पीडा हुन्छ । ०५५ कात्तिक १९ गते इलाका प्रहरी भालुबाङको टोलीले उनलाई पक्राउ गर्‍यो । उनी तत्कालीन माओवादीनिकट महिला संघमा काम गर्थिन् । त्यही आरोपमा ६ महिना तुलसीपुर कारागारमा राखियो । ‘आँखामा पट्टी बाँधेर राखे । अनेक खालका यातना दिए,’ उनले भनिन्, ‘जेलबाट छुटेर पनि सुख पाइएन । सिलाइकटाइ पेसा गरिरहेका बेला दिनहुँ आएर तनाव दिने, पक्राउ गरेर लैजाने र सताउने गरे ।’ यातना दिनेलाई कुनै हालतमा माफी दिन नसकिने उनले बताइन् । ‘मानवीय व्यवहार गर्न नसक्ने मानिसलाई कसरी माफी दिन सकिन्छ ?’ उनले भनिन्, ‘त्यस बेलाको यातनाले अहिलेसम्म सहज रूपमा बस्न सकिँदैन । मानसिक तनाव भइरहन्छ ।’


बाँकेको बैजनाथ–५ की उषा दाहाल अहिले पनि तर्सिन्छिन् । उनका श्रीमान् दुर्गाबहादुर ०५९ भदौ १० गते सुरक्षाकर्मीबाट बेपत्ता पारिए । जेठाजु कमल ०५८ पुस १७ गते बेपत्ता भए । त्यति बेला हरेक रात सेना घरमा आएर सताउने गरेको दाहालले बताइन् । ‘राति १२ बजे घरमा आएर बन्दुकका कुन्दाले हान्ने, संवेदनशील अंगमा छुन खोज्ने र एकान्तमा लैजान खोज्थे,’ उनले भनिन्, ‘म सेना आउनेबित्तिकै बलात्कारको त्रासले छोरा च्यापेर बस्थें । हरेकपटक दुर्व्यवहार गरे ।’ घरमा असुरक्षा महसुस भएपछि उनी १३ महिना माइत गएर बसिन् । ‘एकातिर श्रीमान् र जेठाजु बेपत्ता पारियो, अर्कातिर मलाई नियमित यातना,’ उनले भनिन्, ‘अहिलेसम्म ती घटनाले तनाव भइरहेको छ । घटनाले तर्साइरहन्छ । हामीलाई कसैले न्याय दिन सकेन ।’ तुलसीपुर उपमहानगरपालिका–१७ का रामजी थारू बैसाखी टेकेर हिँड्छन् । उनी सशस्त्र द्वन्द्वमा अपांग भएका हुन् । ०५५ जेठ ११ गते राति ६/७ जना माओवादी उनको घरमा आए । उनले सबैलाई खाना खुवाए । सुरक्षाकर्मीले थाहा पाए ज्यानै जान सक्थ्यो । त्यसैले उनले राति भएपछि माओवादी कार्यकर्तालाई जान अनुरोध गरे । उनीहरू हतियार मिलाउन थाले । त्यही क्रममा एउटा बन्दुक पड्कियो र थारूको दायाँ खुट्टामा गोली लाग्यो । माओवादीहरूको भागाभाग भयो । परिवारले उनलाई रातभर खेतमा लगेर सुताए । एम्बुलेन्स बोलाउँदा पनि कोही आउन तयार भएन । बिहानपख सार्वजनिक गाडीमा चढाएर नेपालगन्ज लगियो । लामो समय उपचार भयो । उनले बैसाखीको सहारामा हिँड्नुपर्ने भयो । खेतीपाती गरेर गुजारा गर्दै आएका थारूलाई घरको काम गर्न कठिन भयो । ‘म अशक्त भएपछि छोराहरू पढाइ छोडेर घरको काममा लागे । अहिले उनीहरूको जीवन पनि खेती किसानीमै बितेको छ,’ ७० वर्षीय थारूले भने, ‘उपचार खर्च, क्षतिपूर्ति भनेर धेरै ठाउँमा धाएँ तर कतैबाट केही पाइएन । अहिले पनि त्यही घटनाले सताइरहन्छ ।’


कपिलवस्तुको शिवराज नगरपालिका–३ का बहाव कुर्मी अहिले पनि नियमित औषधि सेवन गर्छन् । तत्कालीन विद्रोही माओवादीले उनका हात, खुट्टा र अन्य विभिन्न भागमा बन्चराले हानेका थिए । ‘दायाँ हातका औंलाको बीचमा बन्चरो राखेर दाउरा चिरेझैं मेरो हत्केला चिरिदिए । त्यसपछि दुई औंला गुमे,’ उनले भने, ‘खुट्टामा पनि त्यसैगरी काटे । पूरै जीउ दुखिरहन्छ । औषधि नखाएर बस्नै सकिँदैन ।’


गाउँमा भएको भैंसी चोरीको घटनामा उनी पूर्ववडा सदस्यका हैसियतले छलफलमा सहभागी भएका थिए । त्यही क्रममा एक पक्षले उनीविरुद्ध माओवादीमा कुरा लगाइदिएछ । ०६१ चैत १४ गते राति १५ जना माओवादी कार्यकर्ताले उनलाई घरदेखि टाढा लगेर यातना दिए । ‘अहिले म हातले खान सक्दिनँ । शरीर दुखेर काम पनि गर्न सक्दिनँ । श्रीमती र तीन छोराको बेहाल छ,’ उनले भने, ‘बिनाकुनै दोष यति ठूलो सजाय पाएको घटनाले सताइरहन्छ । मलाई काट्नेलाई कारबाही नभएसम्म मनमा शान्ति आउनेवाला छैन ।’


बर्दियाको ढोडेरीका कृष्णराज योगीको टाउकामा अझै गोली छन् । ती यताउति सरिरहन्छन् । उनी राम्रोसँग हिँड्न सक्दैनन् । ०६० असोज ४ गते ढोडरीस्थित नेपाल राष्ट्रिय माविमा पढाइरहेका बेला उनलाई माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएर एक सय मिटर टाढाको नर्सरीमा लगी गोली हाने । त्यसपछि बेहोस भएका योगी २१ दिनपछि होसमा आएका थिए । त्यति बेला भारतको लखनउमा उनको उपचार भइरहेको थियो ।


‘माओवादीले मर्‍यो भनेर छाडिदिएका रहेछन् तर म बाँचें,’ उनले भने, ‘त्यो गोली अझै टाउकामा छ । गोलीकै कारण शरीर नचल्ने भएको छ ।’ उनलाई कांग्रेस कार्यकर्ता भएको आरोपमा गोली हानिएको थियो । उनको बायाँ हात र खुट्टासँगै आधा शरीर चल्दैन । यही पीडाबीच सरकारले १२ वर्षदेखिको जागिर पनि खोसिदिएको उनले सुनाए । ‘म अशक्त भएपछि सबैले साथ छोडे । पढाउन सक्दैन भनेर मेरो जागिर पनि खाइदिए,’ उनले भने ।


घोराहीमा जम्मा भएका विभिन्न जिल्लाका द्वन्द्वपीडित विगतका कथाव्यथा सुनाउँदा धरधरी रोइरहेका थिए । अरूका भोगाइ सुन्दा पनि त्यो पीडा आत्मसात् गरिरहेका थिए । स्वीडेनको उपशाला विश्वविद्यालय र नेपालको सामाजिक परिवर्तन केन्द्रको सहकार्यमा ०७४ मा गरिएको एक सर्वेक्षणले पनि यस्तो तथ्य उजागर गरेको छ । नेपालका ६ जिल्लाका पीडितमा मनोसामाजिक स्वास्थ्यसम्बन्धी सर्वेक्षण गर्दा दुई तिहाइभन्दा बढीमा चिन्ता, उदासीनता, डर, थकान र निराशा पाइएको छ । पश्चिम युरोपका मुलुकमा औसतमा ०.५ देखि २.५ प्रतिशत व्यक्ति मात्र आघातजन्य घटनाबाट तनावमा पुग्ने गरेको देखिएको छ । तर यहाँ ३२ प्रतिशतमा यस्तो समस्या रहेको अध्ययनले देखाएको छ । १ हजार १० जनामा गरिएको सर्वेक्षणमा द्वन्द्व प्रभावित क्षेत्रमा ४१ प्रतिशत व्यक्तिमा थ्रेसहोल्डभन्दा उच्च मानसिक तनाव देखिएको छ । प्रभावित नभएका क्षेत्रमा २० प्रतिशतमा मात्रै देखिएको छ । यसले द्वन्द्व प्रभावित क्षेत्रमा बढी मानसिक आघात भएको देखाउँछ ।


यसैगरी अध्ययनले मानिसमा अझै पनि द्वन्द्वमा सहभागी पक्षप्रति विश्वास नभएको देखाएको छ । ४६ प्रतिशतले तत्कालीन माओवादी नेता वा सदस्यप्रति अहिलेसम्म कत्ति पनि विश्वास नभएको बताएका छन् । यसैगरी २७ प्रतिशतमा सेना तथा प्रहरीप्रति र ३७ प्रतिशतमा अन्य पार्टीका नेता वा सदस्यप्रति कत्ति पनि विश्वास नभएको अध्ययनमा देखिएको छ । द्वन्द्वपीडितहरूमा आघातजन्य घटनापछि देखिने तनावको स्तर उच्च रहेकाले मनोसामाजिक सहायताद्वारा यसको सम्बोधन गर्न जरुरी रहेको सर्वेक्षणमा सहभागी सामाजिक परिवर्तन केन्द्रका अध्यक्ष डा. प्रकाश भट्टराईले बताए । चार प्रतिशत व्यक्तिमा अझै पनि हिंसा दोहोरिन सक्ने आशंका तथा चिन्ता रहेको उनको भनाइ छ । ३४ प्रतिशत पीडितले अहिले दैनिक जीविकोपार्जनका लागि संघर्ष गरिरहेको अध्ययनले देखाएको छ । समाजमा अझै पनि विगतको द्वन्द्वको डर, त्रास बाँकी रहेको र आपसी विश्वास कायम हुन नसकेको अध्ययनको निष्कर्ष छ ।

प्रकाशित : कार्तिक ८, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?