कास्कीमा साझा पार्टीकी उम्मेदवार रजनी केसी

भनिन्– ‘६ करोड लिन्न’ 
दीपक परियार

पोखरा — साझा पार्टीले कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । उक्त पार्टीले बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्य केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

कास्कीमा साझा पार्टीकी उम्मेदवार रजनी केसी

पार्टी प्रवक्ता डा.सूर्यराज आचार्यले मंगलबार र बुधबार पोखरामा बसेको केन्द्रीय समिति बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । पार्टीले जिल्ला समिति र गण्डकी प्रदेश समितिको सिफारिसलाई अनुमोदन गरेको उनले जनाए ।


केसीले बुधबार नै ५ बुँदे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरिन् । उनले आफू निर्वाचित भए सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पाउने ६ करोड रुपैयाँ नलिने घोषणा गरिन् । ‘म सांसदको हैसियतमा हरेक सांसदलाई ‘ठेकेदार’को तहमा झार्ने गरी प्रति वर्ष ६ करोड रुपैयाँ दिने निर्णयको जोडदाररुपमा भर्त्सना गर्नेछु,’ उनले भनिन्, ‘त्यो चरम नीतिगत भ्रष्टाचार हो ।’


उनले पोखरा महानगरपालिकासँगको समन्वयमा क्षेत्र नम्बर २ का खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, पार्किङ व्यवस्थापन, केटाकेटी खेल्ने पार्क निर्माण, वृद्धवृद्धा टहलिने ठाउँ, सोलार बत्ति, ढल तथा फोहोरमैला व्यवस्थापन, सकुम्बासी व्यवस्थापन, युवाको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान दिने उल्लेख गरिन् । उनले उपनिर्वाचनमा साझा पार्टी पहिलो बन्ने दाबी गरिन् ।


साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनमा विजयी भएर कास्कीबाट परिवर्तनको विगुल फुक्ने बताए । ‘कास्कीको उपनिर्वाचनलाई हामीले ठूलो महत्व दिएका छौं,’ उनले भने, ‘मुलुकको राजनीतिमा नयाँ सन्देश दिने जिम्मेवारी यहाँका मतदाताको हातमा छ ।’


उनले उम्मेदवारलाई चुनाव लड्न पार्टीले कुनै रकम नदिने र शुभचिन्तकबाट सहयोग उठाएर निर्वाचन आयोगले तोकेको सीमाभित्र खर्च गर्ने उल्लेख गरे । प्रवक्ता डा.सूर्यराज आचार्यले कास्कीको उपनिर्वाचनलाई राजनीतिक शैलीप्रतिको जनमत संग्रहको संज्ञा दिए । ‘यो सामान्य अवस्थाको सामान्य निर्वाचन होइन,’ उनले भने, ‘राजनीतिको शैली परिवर्तन होस् भन्ने आम जनताको अभियानको महत्वपूर्ण कडी हो । यसलाई साझा पार्टीले अवसरको रुपमा लिएको छ ।


यसअघि कांग्रेस निकट केसी भदौ २८ मा साझा पार्टी प्रवेश गरेकी थिइन् । उनले गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर साझा रोजेकी थिइन् ।

प्रकाशित : कार्तिक ६, २०७६ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?