कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘गरिबीले सुरक्षा चुनौती’

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कुनै एक ठाउँको गरिबी सबैतिर सुरक्षा, शान्ति र स्थायित्वका लागि चुनौती हुने बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित नवौं सियनसान फोरममा मंगलबार उनले विकसित मुलुकहरूले आफ्नै सुरक्षाका लागि पनि कम विकसित मुलुकको विकासमा सहयोग गर्नुपर्नेमा जोड दिए । 

‘गरिबीले सुरक्षा चुनौती’

रक्षा मन्त्रालयका अनुसार पोखरेलले ‘संयुक्त सुरक्षा र मझौला तथा साना मुलुकहरूको चासो’ विषयमा नेपालका तर्फबाट भनाइ राखेका थिए । उनले नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील र विश्वशान्तिका आधारमा नीति सञ्चालन गर्दै आएको बताए । विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले विभिन्न चुनौती सामना गर्नुपरेको पनि उनले उल्लेख गरे । ‘पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकहरूले आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ,’


उनले भने । नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याबारे विकसित र औद्योगिक मुलुकको मन्त्री पोखरेलले ध्यानाकर्षण गराए । जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने दिशामा पारस्परिक सहयोगलाई अभिवृद्धि गर्न नेपालले सन् २०२० अप्रिलमा सगरमाथा संवाद आयोजना गर्न लागेको जानकारी दिँदै सहभागिताका लागि आमन्त्रण गरे ।


कार्यक्रममा ६८ देशका ६ सयभन्दा बढी प्रतिनिधिले भाग लिएको यो फोरमको उद्घाटन सत्रमा चीनका राष्ट्रपति सी चिनफिङले चीन विश्व शान्ति, स्थायित्व र मानव जातिको संयुक्त समृद्धिका पक्षमा रहेको बताएका थिए । सन् २००६ देखि आयोजना हुँदै आएको यो फोरममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा सरोकारका समसामयिक विषयमा छलफल हुँदै आएको छ ।

प्रकाशित : कार्तिक ६, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?