सीको भ्रमणले अन्तर्राष्ट्रिय राजनीति तरंगित : नेता नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि अन्तर्राष्ट्रिय राजनीति नै तरंगित भएको टिप्पणी गरेका छन् ।

मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले अब सरकार प्रमुखस्तरीय यस्ता भ्रमणका लागि २३ वर्ष कुर्नुपर्ने वातावरण बनाउन नहुने बताए । ‘मुलुकमा शान्ति स्थापना र स्थायित्व कायम भइसकेको छ, अब राष्ट्रपतिस्तरीय भ्रमण ५/५ वर्षमा हुनुपर्छ,’ नेपालले भने ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्टितबाट भुजडित राष्ट्र बनाउन सघाउने भनी दिएको अभिव्यक्ति सकारात्मक भएको उनले बताए । अरू मुलुकसँग समझदारी गर्दा आफ्नो देशको हितबारे पनि सोच्नुपर्ने भन्दै उनले आफैंलाई हीनताबोध हुने गरी समझदारी गर्न नहुने प्रतिक्रिया दिए । सीले भनेजस्तै नेपाल कम्युनिस्ट पार्टी र उसले बनाएको सरकार जनतासँग सधैंभरि निकट भइरहनुपर्ने नेपालको भनाइ थियो ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले करिब ३ सय वर्षअघि नेपाल भूजडित मुलुक भएको स्मरण गर्दै फेरि त्यो अवसर आएको बताए । ‘१९२३ मा ब्रिटिससँग भएको सम्झौतापछि नेपाल लगभग उपनिवेशमा गयो, त्यसअघि हामी भूजडित नै थियौं,’ उनले भने, ‘काठमाडौं विश्वका राम्रा सहरमध्ये एक थियो, हाम्रो व्यापार उत्तरदक्षिणमा बराबरी हुन्थ्यो ।’ उनले सीको नेपाल भ्रमणपछि फेरि नेपाललाई भूजडित राष्ट्र बन्ने मौका आएको बताए ।

भुसालले चीन र भारतको मित्रता र शत्रुता दुवैको असर नेपाललाई पर्न नहुने टिप्पणी गरे । ‘नेपालको अवस्था धनी छिमेकीको बिहेको बीचमा नाच्दै गरेका गरिब बालबालिकाजस्तो आउन सक्छ,’ नेता भुसालले भने, ‘त्यसमा हामी नेपाली सधैं चनाखो हुनुपर्छ ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेकपाको शुद्धीकरण र सुदृढीकरणका लागि चिनियाँ राष्ट्रपतिको सन्देश अनुकरणीय रहेको बताए । उनले सीको नेपाल बसाइ ऐतिहासिक भएको प्रतिक्रया दिए । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले छिमेकीको द्रुत आर्थिक विकासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताइन् ।

प्रकाशित : कार्तिक ५, २०७६ २१:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल-बंगलादेश प्राविधिक समिति बैठक : २० वटा हाइड्रो पावरमा लगानी गर्न इच्छुक

राजु चौधरी

काठमाडौँ — बंगलदेशले कम्तीमा २० वटा जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएको छ । मंगलबारदेखि सुरु भएको नेपाल–बंगलादेश प्राविधिक समितिको बैठकमा उनीहरूले यस्तो इच्छा प्रकट गरेका हुन् ।

‘बैठकमा कार्गो, खाद्य वस्तुलगायत हाइड्रो पावरसम्मको छलफल भयो,’ बैठकमा सहभागी एक नेपाली अधिकारीले भने, ‘करिब २० हाइड्रो पावरमा लगानी गर्न इच्छा देखाएका छन् । यस विषयमा ऊर्जा मन्त्रालयसँग थप छलफल गरेर अगाडि बढ्न सकिन्छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव एवं नेपाली प्रतिनिधिमण्डलका नेता नवराज ढकालले भने । उनका अनुसार दुई मुलुकबीचको कार्गो ट्रान्जिटमा सहजता, मोटर भेइकलको सन्दर्भमा छलफल भएको छ । यसको अर्थ यात्रुवाहक सवारीहरू आतेजाते गर्ने व्यवस्था हो । सामग्री ढुवानीका त्रममा बिनाअवरोध सञ्चालनको व्यवस्था मिलाउने छलफल भएको छ ।

उनका अनुसार हाल पारवाहन सन्धिअनुसार नेपालको ट्रक भारतको बोर्डरसम्म जान्छ । तर, बंगलादेशको ट्रक बोर्डरसम्म जान पाउँदैन । त्यसमा बंगलादेशले सहजीकरण गर्नुपर्ने चासो राखेको छ । यीबाहेक विभिन्न ५ वटा एमओयूमा पनि छलफल भएको सहसचिव ढकालले बताए । जसअन्तर्गत कृषि, खाद्य वस्तु तथा व्यापारसम्बन्धी छन् । गैरभन्सार अवरोधको विषयमा छलफल भएको जनाएको छ । हाल अलैंची र धागो निर्यातको सम्भावना भए पनि निर्यात सुविधा छैन । ती उद्योग प्रवर्द्धन गर्ने विषयमा पनि छलफल भएको छ ।

धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानका अनुसार बंगलादेशमा पर्याप्त सम्भावना भए पनि निर्यात भएको छैन । बंगलादेशले काँकडभिट्टाबाट निर्यात गर्न रोक लगाएको छ । जसले गर्दा करिब १५ वर्षदेखि निर्यात हुन सकेको छैन । ‘पोलिस्टर र सेन्थेटिकको माग उच्च छ,’ अध्यक्ष गोल्यानले भने, ‘निर्यात गर्न पाएका छैनौं ।’ बंगलादेश निर्यात खुलेको एक वर्षमा ५ अर्बको निर्यात गर्न सकिने उनले बताए । ‘धागोको बजार छ । उत्पादन पनि पर्याप्त छ,’ गोल्यानले भने, ‘निर्यात अवरोध हटे नेपालको उत्पादन थप विस्तार हुन्छ । एक वर्षमै ५ अर्ब निर्यात गर्न सक्छौं ।’ छलफलका क्रममा बंगलादेशमा अभाव हुने कृषि सामग्री नेपालबाट पठाउने पनि सहमति भएको छ ।

‘वर्षाको समयमा नेपालको तुलनामा बंगलादेशमा मूल्य बढ्छ । त्यस्तो अवस्थामा नेपालबाट व्यवस्था गर्न छलफल भयो,’ ढकालले भने । एक अर्काका मुलुकमा हुने व्यापार मेलामा सहभागी जनाउने र वस्तु प्रवर्द्धन गर्ने पनि सहमति भएको छ । विद्यार्थीका लागि भिसा प्रोसेसिङको क्रममा पनि सहजीकरण गर्ने विषयमा पनि छलफल भएको छ । ढकालका अनुसार छलफल सकारात्मक भए पनि टुंगोमा भने पुगिसकेको छैन ।

बुधबार थप छलफल गरेर टुंगोमा पुग्ने बताए । बैठकमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्यका अनुसार खाद्य सुरक्षाको सन्दर्भमा एमओयूको तयारी भएको बताइन् । उनका अनुसार २०१७ बंगलादेशमा भएको छलफलमा पनि फुड सेफ्टी रेगुलेटरी एजेन्सीसँग एमओयू गर्ने छलफल भएको थियो । अहिले तयार छ । मन्त्रिपरिषद्बाट पनि स्वीकृत भइसकेको उनले बताइन् । ‘जनावरीमा हुने सचिवस्तरीय बैठमा हस्ताक्षर हुनेछ,’ उनले भनिन् ।

वैद्यका अनुसार बैठकमा एक अर्काको प्रयोगशालालाई मान्यता दिने छलफल भएको छ । प्रयोगशाला सम्बन्धमा सूचना आदानप्रदान, प्लान्ट क्वारेन्टाइनको सन्दर्भमा पनि छलफल भएको छ । ‘सम्झौता हुँदा नेपालीमा परीक्षणपश्चात् वस्तु निर्यात गर्दा बंगलादेशले मान्यता दिनुपर्छ । बंगलादेशको वस्तुलाई हामीले पनि मान्यता दिनुपर्छ,’ उनले भनिन् । उनका अनुसार जुसमा लगाइएको करको सन्दर्भमा बंगलादेशी प्रतिनिधिले प्रश्न गरेका थिए । जुसमा कर वृद्धिले निर्यात गर्न समस्या भएको उनीहरूले जनाएका थिए ।

‘करले बंगलादेशलाई अप्ठ्यारो पर्‍यो । जुस निर्यात गर्न सकेनौं भन्ने प्रश्न उठाए,’ उनले भनिन् । प्राविधिक समितिको बैठक दुई/दुई वर्षमा हुन्छ । २०१७ मा बंगलादेशमा भएको थियो । अहिले नेपालमा सुरु भएको हो । प्राविधिक समितिको बैठकमा बंगलादेशबाट सरिफा खानाको नेतृत्वमा ७ सदस्य सहभागिता जनाएका छन् । नेपालतर्फ सहसचिव ढकालको नेतृत्वमा १५ सदस्य सहभागी छन् । महानिर्देशक वैद्यका अनुसार जनावरीमा वाणिज्य सचिव स्तरीय बैठक हुँदैछ । त्यसको तयारीका लागि प्राविधिक समितिको बैठक बसेका हो ।

प्रकाशित : कार्तिक ५, २०७६ २१:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT