कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोविन्दलाई नेपाल भ्रमणको निम्तो

रासस

काठमाडौँ — जापानको मैत्रीपूर्ण भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग टोकियोमा भेटवार्ता गरेकी छन् । दुई राष्ट्रपतिबीच दुई मुलुकको द्विपक्षीय सम्बन्धबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कोविन्दलाई नेपाल भ्रमणको निम्तो

मन्त्रालयका अनुसार उनीहरूले नेपाल–भारत सीमापार पेट्रोलियम पाइपलाइन निर्माण समयमै सम्पन्न भएको उल्लेख गर्दै अन्य योजना पनि छिटो पूरा हुने आशा व्यक्त गरे । राष्ट्रपति भण्डारीले नियमित रूपमा हुने द्विपक्षीय उच्चस्तरीय भ्रमणले सम्बन्ध थप मजबुत बनाउने बताइन् । भण्डारीले कोविन्दलाई नेपाल भ्रमणको निम्तोसमेत दिइन् । यसका लागि भण्डारीलाई धन्यवाद दिँदै कोविन्दले उपयुक्त समय तोकेर नेपाल भ्रमणमा आउने बताए ।


राष्ट्रपति भण्डारीले सोमबार जापानका प्रधानमन्त्री सिन्जो अबेसँग भेट गरेकी थिइन् । भण्डारी जापानी सम्राट नारुहितोको राज्याभिषेकका अवसरमा त्यहाँ पुगेकी हुन् । उनी बुधबार नेपाल फर्कने मन्त्रालयले जनाएको छ ।


............

जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।


जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा भाग लिन त्यहाँ पुगेकी राष्ट्रपति भण्डारी र भारतीय समकक्षी कोविन्दबीच उनीहरु बसेकै होटलमा भेटवार्ता भएको हो । उक्त अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिइन् । सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरिसकेका छन् ।


आयोजनाहरु छिट्टै बन्ने

उक्त अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरियो । भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए ।


दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे । दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ । नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद दिएको छ ।


नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए ।


प्रकाशित : कार्तिक ५, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?