कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मूल्य सूची राख्न अटेरी

कान्तिपुर संवाददाता

(विराटनगर) — वाणिज्य कार्यालयले विराटनगरका थानका कपडा पसलमा मूल्य सूची राख्न दिएको निर्देशन व्यवसायीले अटेर गरेका छन् । कार्यालयले विभिन्न नौ वटा कपडाका ठूला पसल सञ्चालकलाई मूल्य सूची राख्न तीन साताअघि निर्देशन दिएको थियो ।

अनुगमनका क्रममा यहाँको रोनक इम्पोरियम पसलमा कपडाको मूल्य तलमाथि गरी उपभोक्ता ठगेको पाइएपछि वाणिज्य कार्यालयले अनिवार्य रूपमा मूल्य सूची राख्न निर्देशन दिएको थियो ।

कार्यालयले रोनक इम्पोरियमसहित अम्बिका वस्त्रालय, दिनेश इम्पोरियम, जगदम्बा वस्त्रालय, वंशल इम्पोरियम, अम्बिका इम्पोरियम, नरायण स्टोर, कोसी वस्त्रालय र काबरा इम्पोरियमलाई तीन दिनभित्र मूल्य सूची राख्न निर्देशन दिएको वाणिज्य कार्यालयका निमित्त प्रमुख हिमाल बरालले बताए ।


रेडिमेड कपडा र अन्य उपभोग्य वस्तुको मूल्य देखिन्छ । तर थानको कपडाको मूल्य देखिँदैन । यस्तोमा उपभोक्ता सक्कली र नक्कली सामानमा र मूल्यमा ठगिने गरेका छन् । बरालले भने, ‘उपभोक्ता संरक्षण ऐनले हरेक वस्तुको मूल्य सूची राख्ने व्यवस्था गरेको छ । त्यसैका आधारमा कपडाका थानको कारोबार गर्ने पसललाई पनि मूल्य सूची राख्न निर्देशन गरिएको हो ।’ निर्देशनमा कपडाको खरिद र बिक्री मूल्य पनि राख्न भनिएको छ ।


ऐनले व्यवस्था गरेकाले कपडा व्यवसायीले मूल्य सूची राख्नै पर्ने बरालको भनाइ छ । मोरङ व्यापार संघ र विराट व्यापार संघलाई पनि आफ्ना सदस्य व्यवसायीहरूलाई मूल्य सूची राख्न दबाब दिन आग्रह गरिएको उल्लेख गर्दै बरालले भने, ‘अटेर गरे उपभोक्ता संरक्षण ऐनअन्तर्गत कारबाही हुन्छ ।’


वाणिज्य कार्यालयले थान कपडाको मूल्य सूची राख्न दिएको निर्देशन पहिलो हो । विराटनगरबाहेक अन्य कुनै पनि सहरमा यस्तो निर्देशन नभएको बरालको भनाइ छ ।


प्रकाशित : कार्तिक ५, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?