उकालो लाग्दै रूखबिरुवा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उकालो लाग्दै रूखबिरुवा

हिमाली क्षेत्रका वनस्पति तापक्रम वृद्धिका कारण ५६.१ मिटरमाथिसम्म फैलिएको पछिल्लो अनुसन्धानले देखाएको छ
अब्दुल्लाह मियाँ

काठमाडौँ — हिमाली क्षेत्रमा पाइने वनस्पतिका केही प्रजाति बर्सेनि माथिल्लो भूभागतर्फ उक्लिरहेको अध्ययनले देखाएको छ । चिसोले वनस्पति नै नहुने क्षेत्रमा पनि क्रमिक यसरी उक्लनेमा भोजपत्र र गोब्रेसल्लालगायतका वनस्पति छन् । 

मनाङको हिमाली क्षेत्रमा पाइएको गोब्रे सल्ला । तस्बिर सौजन्य : शालिकराम सिग्देल ।

विश्वमा हालसम्म भएका १ सय ६६ वटा अध्ययनले पनि वृक्षरेखा माथि सर्दै गएका वनस्पतिको प्रतिशत ५२ देखाएको छ । ४७ प्रतिशतको वृक्षरेखा फेरबदल भएको छैन, कतिपय वनस्पतिको वृक्षरेखा उस्तै नै छ । हिमाली क्षेत्रका केही वनस्पतिको हरेक वर्ष २.६ मिटरका दरले वृक्षरेखा माथि सर्दै गएको अनुसन्धानको निष्कर्ष छ । वनस्पति विज्ञहरूले नेपालको पूर्वदेखि पश्चिमसम्मका उच्च हिमाली क्षेत्रमा विभिन्न समयमा गरेको अध्ययनबाट भोजपत्र र गोब्रेसल्लाजस्ता वनस्पति माथितिर उकालो लागिरहेको तथ्य पत्ता लागेको हो । तापक्रम बढेर हिमाल, हिमताल र हिमनदी पग्लिने क्रम बढिरहेका बेला वनस्पतिका केही प्रजाति उपयुक्त चिसो खोज्दै मास्तिर उक्लिरहेका हुन् । यसको असर त्यहाँका वन्यजन्तु र जनजीवनमा समेत पर्ने विश्लेषकहरूको भनाइ छ ।


भोजपत्र र गोब्रेसल्लाबारे इन्स्टिच्युट अफ टिबेटेन प्लेटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्सेस, बेइजिङबाट विद्यावारिधि गरेर त्यहीँ कार्यरत वनस्पति विज्ञ शालिकराम सिग्देलले वनस्पतिहरूको वृक्षरेखा (ट्री–लाइन) माथितिर स्थानान्तरण हुने क्रम बढिरहेको पाइएको बताए । ‘मेरो अध्ययनले पश्चिमको तुलनामा पूर्वी हिमाली भागका वनस्पतिहरू माथितिर उकालो लागिरहेको देखाएको छ,’ पर्वतीय क्षेत्रको परिवर्तनसम्बन्धी चौथो सम्मेलनमा भाग लिन काठमाडौं आएका उनले कान्तिपुरसित भने, ‘विगतमा रूख नहुने स्थानमा अहिले दुई मिटरभन्दा बढी उचाइका रूख भेटिएका छन्, त्यसले माथिल्लो क्षेत्रमा वृक्षरेखा स्थापित भएको छ ।’


त्यो उचाइको रूख बाँच्न सक्ने सीमालाई वृक्षरेखा अर्थात् ‘ट्री–लाइन’ भनिन्छ । वृक्षरेखाभन्दा माथिको क्षेत्रमा घाँसे मैदान हुन्छ ।


सिग्देलले अध्ययनका लागि कञ्चनजंघा, सगरमाथा, लाङटाङ, मनाङ, जुम्ला र हुम्लामा भोजपत्र र गोब्रेसल्लाका २० वटा नमुना प्लट लिएका थिए । ‘सबै नमुनाको अध्ययन गर्दा १ सय ५० वर्षको बीचमा ५६.१ मिटरमाथिसम्म वृक्षरेखा सरेको देखियो,’ उनले भने, ‘पश्चिमका हुम्ला, जुम्लालगायतका क्षेत्रमा भने ट्री–लाइन त्यति धेरै माथि सरेको देखिन्न ।’ ३० मिटर चौडाइ र १५० मिटर लम्बाइ भएका वनका प्लटलाई नमुना मानेर सन् २०१४ देखि २०१५ सम्म स्थलगत अध्ययन गरेको उनले बताए ।


वैज्ञानिकहरूले वृक्षरेखा माथि सर्नुमा मुख्य कारण तापक्रम वृद्धिलाई नै मानेका छन् । नेपालको हिमाली क्षेत्रमा वार्षिक ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी) को प्रतिवेदनअनुसार सन् १८०० पछि सन् २०१८ सम्मै जलवायु परिवर्तनको सबभन्दा बढी असर हिमाली क्षेत्रमा परेको छ ।


पूर्वी हिमाली क्षेत्रको तुलनामा पश्चिमको हिमाली क्षेत्रमा भने वृक्षरेखा उतिसारो सरेको देखिन्न । उनले नमुना प्लट छानेको हुम्ला, जुम्ला र मनाङमा पश्चिमको तुलनामा थोरै मात्र वृक्षरेखा माथिल्लो क्षेत्रतिर सर्दै गएको देखिन्छ । मनाङमा गोब्रेसल्ला र भोजपत्र ३ देखि ११ मिटर मात्र माथि सरेको देखिन्छ भने जुम्लामा ०.५ देखि ५.५ मिटर मात्र माथि स्थानान्तरण भएको देखिन्छ ।


अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले ‘दी हिन्दुकुश हिमालय एसेसमेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पिपल’ प्रतिवेदन सार्वजनिक गर्दै शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री हुँदा ३६ प्रतिशत हिउँ पग्लने र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिएको छ । यसको मुख्य असर पनि हिमाली क्षेत्रको वनस्पतिमै पर्ने देखिन्छ ।


आईपीसीले शताब्दीको अन्त्यतिर १ दशमलव ५ डिग्री सेल्सियसमा कायम गर्नॅपर्ने सुझाव दिइरहेका बेला हिन्दुकुश हिमालयमा क्षेत्रमा २ दशमलव १ डिग्री तापक्रम बढ्ने प्रतिवेदन आएको छ । विज्ञहरूका अनुसार यो हिसाबले हिमाली क्षेत्रमा वनस्पतिहरूको वृक्षरेखा अझै माथि सर्न सक्छ ।


सिग्देलको अध्ययनअनुसार कञ्चनजंघा क्षेत्रमा भोजपत्र ४२१७.२ मिटर उचाइसम्म पुगेको छ । सन् १९६० मा ३८८५ मिटर उचाइमा रहेको भोजपत्र सन् २०१५ मा ४६ मिटर बढेर ३९३१.४ मिटर उचाइसम्म पुगेको छ । लाङटाङमा सन् १९६० मा ४०४२.४ मिटरमा रहेको भोजपत्र सन् २०१५ मा ४०४८ देखि ४०५१.४ मिटरसम्म पुगेको सिग्देलको अध्ययनले देखाएको छ ।


सगरमाथा क्षेत्रमा गोब्रेसल्ला ४०९८.९ मिटर उचाइसम्म पुगेको छ । १५० वर्षको बीचमा सगरमाथा क्षेत्रमा गोब्रेसल्ला ५६ मिटरमाथिसम्म सरेको पाइएको छ । सन् १९६० मा ४०४२.५ मिटरमा रहेको गोब्रेसल्ला सन् २०१५ मा आइपुग्दा ५६ मिटर माथि पुगेको उनको अध्ययनको निष्कर्ष छ । यसैगरी लाङटाङ क्षेत्रमा भोजपत्र ४०३१.३ देखि ४०६७.४ मिटरसम्म पुगेको छ भने मनाङमा ४०८६.९ मिटर उचाइसम्म पुगेको छ । मनाङमा भोजपत्र ४०८०.९ मिटरदेखि ४१४०.५ मिटरसम्म उक्लिएको छ । सिग्देलले हिमाली क्षेत्रमा वृक्षरेखा माथि सरेको थाहा पाउन नमुना बिरुवा लिएका थिए । ‘रूखको उमेर पत्ता लगाउन वृक्ष चक्र पनि हेरिएको थियो,’ उनले भने, ‘हिमाली क्षेत्रको यो अध्ययनले वृक्षरेखा माथितिर सरिरहेको स्पष्ट पार्छ ।’


सिग्देलजस्तै त्रिभुवन विश्वविद्यालयका वनस्पति विज्ञ र वृक्ष चक्र समाजले पनि गोरखाको मनास्लु संरक्षण क्षेत्र, मनाङ, मुस्ताङ र डोल्पामा भोजपत्रको वृक्षरेखाबारे अध्ययन गरेको थियो । ती अध्ययनले पनि भोजपत्रलगायतका हिमाली क्षेत्रका वनस्पति माथि सर्दै गएको देखाएको छ । वृक्षरेखा माथि सर्नुलाई जलवायु परिवर्तनको सूचकका रूपमा व्याख्या गर्ने गरिएको छ ।


वृक्षरेखा माथि सर्दा प्रत्यक्ष असर हिमाली जनजीवन र उक्त क्षेत्रमा पाइने जडीबुटी र घाँसे मैदानमा पर्छ । यार्चागुम्बु पाइने क्षेत्रमा अरू प्रजातिका रूखले प्रभुत्व जमाउन थालेपछि उक्त जडीबुटीको अस्तित्व नै जोखिममा पर्न सक्ने सम्भावना हुन्छ । घाँसे मैदान हराउने भएकाले चरन क्षेत्र पनि कमी हुन जान्छ ।


वन मन्त्रालयको जलवायु परिवर्तन महाशाखामा कार्यरत वनविज्ञ केशवराज गौतम वृक्षरेखा माथि सर्दाको मुख्य असर वन्यजन्तुमा पर्ने व्याख्या गर्छन् । ‘तलका वृक्षहरू माथितिर स्थानान्तरण हुँदा वृक्षरेखा माथि बस्ने जीवजन्तुहरूको बासस्थान घट्छ,’ उनी भन्छन् । भोजपत्र र गोब्रेसल्लाजस्ता प्रजाति माथि सर्दा तिनमा आश्रित वन्यजन्तुलाई प्रत्यक्ष असर परेको हुन्छ । वनस्पति माथि सरे पनि मृग, हिउँचितुवा र हाब्रेजस्ता हिमाली क्षेत्रमा रमाउने वन्यजन्तु तलतिर सरिरहेका छन् ।

प्रकाशित : कार्तिक ५, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

आलम पक्राउ प्रकरण : उतिबेलै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

मातृका दाहाल

काठमाडौँ — तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमविक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरू जानकार नै नरहेको बताए पनि कांग्रेस सांसद मोहम्मद अफताब आलममाथि १२ वर्षअघि प्रहरीले नै सर्वस्वसहित जन्मकैद सजाय हुनुपर्ने मागदाबी गरेको खुलासा भएको छ । 

२०६४ चैत २७ गते राति विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा लगेर मारिएको कसुरसम्बन्धी प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमसहितका आरोपितमाथि सर्वस्वसहित जन्मकैदको सजाय मागदाबी लिएर प्रहरी जिल्ला सरकारी वकिलको कार्यालय पुगेको पाइएको हो । ‘बम विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा लगेर मारेको अभियोगमा मुलुकी ऐन २०२० को महल–१० ज्यानसम्बन्धी कसुरको दफा १३क अनुसार आलममाथि सर्वस्वसहित जन्मकैद सजाय मागदाबी गरिएको थियो,’ त्यसबेला प्रहरीले तयार पारेको प्रतिवेदन उल्लेख गर्दै स्रोतले भन्यो, ‘तर प्रतिवेदन तथ्य र प्रमाणभन्दा बाहिर गएर बनाइएको तर्क गर्दै सरकारी वकिल कार्यालयले अदालतसम्म नपुर्‍याई अभियुक्तहरूलाई उन्मुक्ति दियो ।’

तत्कालीन प्रहरी निरीक्षक (हाल नायब उपरीक्षक) रहेका राजीव बस्नेतको नेतृत्वमा घटनाको अनुसन्धान भएको थियो । अनुसन्धानका क्रममा प्रमाण संकलनमा थुप्रै कमीकमजोरी भए पनि अपराधमा संलग्नले उन्मुक्ति पाउनु हुँदैन भन्ने गरी त्यसबेला नै प्रतिवेदन तयार भएको हाल अनुसन्धानमै खटिएका एक प्रहरीले बताए । त्यसबेलाको प्रहरी प्रतिवेदनअनुसार मुद्दा नचलाई सरकारले आरोपितलाई उन्मुक्ति दिएको थियो । घटनाको १२ वर्षपछि गत असोज २६ गते मुख्य आरोपित आलम रौतहटबाटै पक्राउ परेका हुन् । उनलाई सुरुमा ७ दिन र आइतबार पुन: ५ दिन म्याद थप गरेर हिरासतमै राखिएको छ । प्रहरीसँगको बयानमा आलमले कसुर अस्वीकार गरिरहेका छन् । विस्फोट घटनामा भागेर बाँचेका एक पीडितको चोट तथा घाउ जाँच भइसकेको छ । उनको स्वास्थ्य परीक्षण प्रतिवेदन आएपछि अनुसन्धानलाई पूर्णता दिने प्रहरीको भनाइ छ । आलम जोडिएको घटनामा कसुर पुष्टि हुने आधार तयार भइसकेको उल्लेख गर्दै आलममाथि पोलिग्राफ बयान लिने तयारी भइरहेको स्रोतले जनायो ।

‘सवाल जवाफ बयान सकिएको छ, अब पोलिग्राफ बयान लिने तयारीमा छौं,’ प्रहरी स्रोतले भन्यो, ‘पोलिग्राफ बयान सकेर छिट्टै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस हुनेछ ।’

रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अनुसन्धान छिट्टै टुंगोमा पुग्ने बताए । ‘अन्तिम चरणमा पुगिसकेको छ, केही प्राविधिक पक्षको जाँच पूरा भएपछि रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँछौं,’ उनले भने, ‘घटनासँग जोडिएका सबै पक्ष समेटेर अनुसन्धानलाई तथ्य, वैज्ञानिक र त्रुटिरहित बनाउनेमा हाम्रो ध्यान केन्द्रित छ ।’ प्रहरीले घटनामा मारिएका व्यक्तिको मोजा, गन्जी, घाइतेलाई इँटाभट्टासम्म पुर्‍याउन प्रयोग गरिएको ट्याक्टर तथा अन्य सबुत प्रमाण नियन्त्रणमा लिइसकेको छ ।

१२ वर्षअघि रौतहटका तत्कालीन प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले ‘माथिको आदेश’ भन्दै घटनामा संलग्नलाई उन्मुक्ति दिने गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको उच्च स्रोतले बतायो । एसएसपी न्यौपाने २०७२ भदौ ७ गते टीकापुरमा तराई/मधेस तथा थरुहट आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटाइबाट मारिएका थिए । ‘दबाबका बीच पनि त्यतिबेला प्रहरीले घटनामा संलग्नमाथि सर्वस्वसहित जन्मकैद सजाय मागदाबी गरेको थियो,’ त्यसबेलाका एक डीआईजीले कान्तिपुरसँग भने, ‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र अन्य राजनीतिक शक्तिकेन्द्रको दबाबका कारण दोषीले उन्मुक्ति पाए ।’

‘यसबारे आफू जानकार नभएको’ भन्दै तत्कालीन गृहमन्त्री सिटौला, गृहसचिव मैनाली र आईजीपी राणाको एकै किसिमको अभिव्यक्ति आएको छ ।

अपराध मामिलाका जानकार एक पूर्वप्रहरी अधिकृतले एउटै पार्टीका गृहमन्त्री रहेका बेला सोही पार्टीका नेतामाथि जन्मकैदको सजाय दावीसहित प्रहरीले अनुसन्धान गर्दार् गृहमन्त्रीले थाहा नपाएको भन्नु ‘घटना ढाकछोपको प्रपञ्च’ भएको प्रतिक्रिया दिए । त्यसबेलाका आईजीपी पनि घटना ढाकछोपमै लागेको ती अधिकारीको आरोप छ । तीनैजना तत्कालीन उच्च पदस्थ अधिकारीको भनाइ ‘घटना ढाकछोप गर्ने खालको रहेको’ भन्दै स्रोतले अहिले भइरहेको अनुसन्धानले कसुर पुष्टि गर्ने आधार खडा गरेको दाबी गरेको छ । प्रहरीले आरोपितसँग सवाल जवाफ बयानका अतिरिक्त प्रमाणका रूपमा घटनामा घाइते भएका पीडितको फरेन्सिक जाँचसमेत गरिसकेको छ ।

२०६४ चैत २७ : विस्फोट
२०६५ वैशाख १४ : मुचुल्का
२०६५ वैशाख १४ : प्रहरी निरीक्षक राजीव बस्नेतको नेतृत्वमा अनुसन्धान सुरु
२०६५ वैशाख १८ : किटानी जाहेरी
२०६५ असार ९ : प्रहरी अनुसन्धान प्रतिवेदन रौतहट सरकारी वकिलको कार्यालयमा पेस (जुन प्रतिवेदनमा आलमसहितका आरोपितमाथि सर्वस्वसहित जन्मकैदको सजाय मागदाबी)
२०६५ असार ३० : महान्यायाधिवक्ता कार्यालयद्वारा आरोपितविरुद्ध मुद्दा नचल्ने निर्णय
२०६९ जेठ १६ : महान्यायाधिवक्ताको निर्णय सर्वोच्च अदालतद्वारा बदर, सुरुबाटै अनुसन्धान गर्न आदेश
२०७६ असोज २६ : विस्फोटका आरोपित आलम पक्राउ

प्रकाशित : कार्तिक ५, २०७६ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×