१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

विज्ञान, प्रविधि र अनुसन्धानमा बजेट न्यूनः उपराष्ट्रपति 

कान्तिपुर संवाददाता

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान, प्रविधि क्षेत्रमा छुट्याइएको रकम अत्यन्तै न्यून भएको बताएका छन् । 

विज्ञान, प्रविधि र अनुसन्धानमा बजेट न्यूनः उपराष्ट्रपति 

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने नाराका साथ सोमबारदेखि सुरु भएको तीन दिवसीय अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सफलता हासिल गर्न नसक्नुमा लगानी नै कम भएको बताए । उनले भने,‘शिक्षा,विज्ञान तथा प्रविधि क्षेत्रमा छुटाइएको कूल बजेटको ०.२५ प्रतिशत मात्र नाष्टलाई दिइन्छ । यो बजेट कर्मचारीको तलबभत्तामा मात्रै सकिन्छ अनि कसरी आविष्कार र अनुसन्धान गर्ने ?’


सरकारले विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा धेरै अपेक्षा गर्दा लगानी पनि ठूलो गर्नुपर्ने उनले बताउँदै अनुसन्धान र खोजमा लगानी र बजेट वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए । नवप्रवर्तनको सूचांकमा नेपाल धेरै तल रहेको उपराष्ट्रपति पुनले बताए । उनले भने,‘नवप्रवर्तन सूचांकमा सन् २०१८ मा नेपाल १०८औँ स्थानमा थियो । अहिले तल झरेर १०९मा पुगेको छ ।’ उनले अपेक्षा धेरै तर लगानी कम हुँदा विज्ञान र अनुसन्धानको क्षेत्रमा राष्ट्रले उल्लेख्य प्रगति गर्न नसकेको बताए ।


विज्ञान प्रविधिको आविष्कार र प्रयोगबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति पुनको भनाइ छ । समृद्धि हासिल गरेर सुख जीवन जिउने नेपाली जनताको सपना अब वैज्ञानिकहरुको हात रहेको बताउँदै उपराष्ट्रपति पुनले विज्ञान र प्रविधिको उच्चतम् प्रयोगमा जोड दिए । यस्तै, उनले विदेशमा कार्यरत नेपाली वैज्ञानिकहरुलाई देश निर्माणमा जुट्नका लागि स्वदेश फर्कन आग्रह गरे ।


कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान तथा प्रविधिको विकासका लागि आधारशिला तयार गर्दै युवा वैज्ञानिकहरुलाई लक्षित गरेर कार्यक्रमहरु ल्याइने प्रतिबद्धता जनाए । उनले नीति निर्माणमा युवा वैज्ञानिकहरुलाई लक्षित गरिएको जानकारी दिए । समृद्धि नेपाल निर्माण गर्ने उपयुक्त समय अहिले भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति हुने मन्त्री पोखरेलको भनाइ थियो ।


यस्तै, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले समृद्धिको लक्ष्य हासिल गरेर सिंगो देशलाई खुसी बनाउनका लागि वर्तमान सरकार अघि बढिरहेको बताए । युवाहरुलाई दक्ष, स्वरोजगार, उद्यमी र अनुसन्धानमा लगाउने विषयमा सरकार गम्भीर भएको बताए ।


नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले विज्ञान प्रविधिको क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने बताउदै सन् २०१९ नवप्रवर्तन तय गर्ने आधार वर्ष भएको बताए ।


सम्मेलनमा विभिन्न देशमा कार्यरत नेपाली वैज्ञानिक,विदेशी वैज्ञानिकहरुको उपस्थित छ । विभिन्न १८ वटा विषयमा प्रस्तुति हुने उक्त सम्मेलनलाई विभिन्न ६ चरणमा विभाजन गरिएको नाष्टले जनाएको छ ।


राष्ट्रिय युवा परिषद्,नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नाष्ट) र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा सम्मेनलको आयोजना गरिएको हो ।

प्रकाशित : कार्तिक ४, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?