खातुनमाथि एसिड प्रहार गर्ने सुधार गृहमा

माजिद मियाँ र सम्साद मियाँको उमेर नपुगेकाले पुर्पक्षका लागि कारागार नपठाउने अदालतको निर्णय
भूषण यादव

वीरगन्ज — जिल्ला अदालत पर्साले मुस्कान खातुनमाथि एसिड प्रहार गरेका अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश प्रकाश खरेलको एक नम्बर इजलासले अनुसन्धानका क्रममा उमेर पुगेको प्रमाण पेस नभएकाले बाल सुधार गृहमा राख्ने आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साले खातुनमाथि एसिड प्रहार गरेका माजिद मियाँ र सम्साद मियाँलाई घटनाकै दिन नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार माजिदले राखेको प्रेम प्रस्ताव नस्विकारेपछि उनका साथी सम्सादले गत भदौ २० गते विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार गरेका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत दर्ता गरेको अभियोजन पत्रमा मुलुकी अपराध संहिता २०७४ को दफा ४५(४), मुलुकी अपराध संहिता २०७४ को दफा १८३(२), १९३(२) र बालबालिका ऐन २०७५ को दफा ३६(४) बमोजिम सजाय माग दाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका मुद्दा फाँटका एक अधिकृतका अनुसार ज्यान मार्ने उद्योगमा १० वर्ष कैद र एसिड प्रहार गरी कुरूप बनाएकाले ८ वर्ष कैद माग दाबी गरिएको छ । यसैगरी एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म क्षतिपूर्तिको मागसमेत गरिएको ती अधिकृतले जनाए ।

अदालतका स्रेस्तेदार अधिकारीका अनुसार अभियोजन पत्रमा माजिदको उमेर १९ र सम्सादको उमेर १८ वर्ष उल्लेख छ । नारायणी अस्पतालले शारीरिक परीक्षण गरी उपलब्ध गराएको उमेरको प्रमाणपत्रमा सम्सादको १६ देखि १८ वर्ष र माजिदको १८ देखि २० वर्ष देखिएको छ । अभियुक्तले पेस गरेको जन्मदर्ता प्रमाणपत्रमा माजिदको उमेर १४ र सम्सादको १२ वर्ष देखिएको छ । ‘अहिलेसम्म पेस भएका सबुत प्रमाणले उनीहरू दोषी देखिएका छन्,’ न्यायाधीश खरेलले भने, ‘तर उमेर नपुगेकाले कारागार पठाउन सकिएन ।’ खरेलका अनुसार सर्वोच्च अदालतले शारीरिक परीक्षण भई आउँदा १४ देखि १६ वर्षको बीचमा भनेको छ भने अघिल्लो उमेरलाई मान्नुपर्ने व्याख्या गरेको छ । सर्वोच्चको नजिरका आधारमा सम्सादको १६ वर्ष र माजिदको १८ वर्ष उमेर देखिएको छ । एसिड बिक्री गर्ने वीरगन्ज महानगरपालिका– ६ निवासी मनीष मण्डललाई प्रहरीले मतियार बनाएको छ । मण्डल फरार छन् । एसिड प्रहारबाट घाइते भएकी खातुनको काठमाडौंमा उपचार भइरहेको छ ।

त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुनलाई स्कुल जाँदा बाटोमै रोकेर एसिड प्रहार गरिएको थियो । प्रहरीका अनुसार सम्सादले साथी माजिदको सल्लाहमा एसिड प्रहार गरेको बयान दिएका छन् । सम्साद र माजिद मिल्ने साथी हुन् । सम्सादले दिएको बयानअनुसार ५ महिना अगाडिदेखि माजिदले खातुनलाई पछ्याइरहेका थिए ।

माजिदको प्रेम प्रस्ताव खातुनले अस्वीकार गरेकी थिइन् । एसिड हाल्ने योजना भदौ १९ गते राति बनेको थियो । ‘सम्साद र माजिदले घटनाको अघिल्लो राति करिब एक बजेसम्म छपकैयामा भइरहेको गणेश चतुर्थी पूजा हेरेका थिए,’ एक अनुसन्धान अधिकृतले भने, ‘त्यहाँबाट उनीहरू गणेशमान चोकमा रहेको सैलुनमा सुतेका थिए । सैलुनमा सम्साद पार्ट टाइम काम गर्थे, सैलुनको एउटा साँचो उनीसँगै हुन्थ्यो ।’

भोलिपल्ट बिहान उठेर उनीहरू मालपोत चोकमा रहेको एक चिया पसलमा गएर चिया खाएपछि खातुनलाई कुरेर बसेका थिए । खातुन आएपछि सम्सादले भाभी (भाउजू) भन्दै रोके । ‘भाभी माजिदसँग किन नबोलेको ?’ भनेर उनले सोधे । ती अनुसन्धान अधिकृतका अनुसार ‘मलाई स्कुल जान ढिला भो’ अगाडि बढ्न खोज्दा खातुनमाथि सम्सादले जगमा रहेको एसिड उनको शरीरमा फ्याँकेका थिए ।

प्रत्यक्षदर्शी र सैलुन सञ्चालकको बयानका आधारमा एसिड प्रहार गर्नेको पहिचान भएको थियो । घटनाकै दिन दुवैलाई प्रहरीले छपकैयाबाट नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : आश्विन ३०, २०७६ २१:४५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भारत–पाकिस्तान तनाव : ‘पानी रोके कडा जवाफ’

एजेन्सी

इस्लामाबाद — भारतले आफ्नो देशतर्फ बहने पानी रोक्ने भनाइप्रति पाकिस्तानले कडा चेतावनी दिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले यसअघि भारतसँग भएको सम्झौताअनुासार विभिन्न तीन नदीको पानीप्रति आफ्नो अधिकार रहेको बताउँदै त्यसविरुद्ध कुनै कार्य गरे ‘पाकिस्तानसँग कडा जवाफ दिने अधिकार रहेको’ बताएका छन् ।

हरियाणामा आयोजित चुनावी सभामा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानतर्फ बहने पानी रोक्ने बताएका हुन् । मोदीले भने छन्, ‘हिन्दुस्तान र भारतीय कृषकको अधिकारको पानी ७० वर्षदेखि पाकिस्तानर्फ गइरहेको छ ।’

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डाक्टर मोहम्मद फैसलले प्रधानमन्त्री मोदीको भनाइको कडा विरोध गर्दै ‘सिन्धु जल सम्झौताअनुसार पाकिस्तानसँग पश्चिमी क्षेत्रका ३ नदीको पानी प्रयोग गर्न पाउने अधिकार सुरक्षित रहेको’ बताए ।

सन् १९६० को सेप्टेम्बरमा भारत र पाकिस्तानबीच भएको सन्धिका प्रावधानअनुसार भारतका पश्चिमी क्षेत्रबाट पाकिस्तानतर्फ बहने नदीहरू इन्दुस, चेनाब र झेलुमको पानी भारतले सिँचाइका लागि सीमित मात्रै प्रयोग गर्न पाउँछ । सन्धिमा भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु र पाकिस्तानी राष्ट्रपति अयुब खानले हस्ताक्षर गरेका थिए ।

फैसलका अनुसार ‘भारतीय नेतृत्वबाट यस्तो प्रतिक्रिया आउनु निकै लज्जास्पद रहेको’ तथा मानवअधिकार तथा अन्तर्राष्ट्रिय सम्झौताप्रति भारतको सम्मान नरहेको प्रस्ट भएको’ छ । विदेश मन्त्रालयतका प्रवक्ता फैसलले मोदीको भनाइप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षणसमेत गरेका छन् । उनले भनेका छन्, ‘अतिवादी सरकार दक्षिण एसिया तथा विश्वको शान्तिका लागि खतरापूर्ण छ ।’

कश्मीर मुद्दाको प्रसंग उठाउँदै उनले ‘भारत प्रशासित कश्मीरमा ८० लाख मानिस बाहिरी विश्वबाट अलग रहेका’ दाबी गरे । फैसलले कश्मीरसम्बन्धी मोदीको निर्णयले भारत अन्तर्राष्ट्रिय समुदायसमक्ष उदांगिएको दाबी गरे ।

अयोध्या विवाद निकै संवेदनशील मुद्दा रहेको फैसलाको भनाइ छ । यसबारे सोधिएको प्रश्नको जवाफ दिँदै फैसलले भनेका छन्, ‘अयोध्याका मुसलमानको इच्छा र मागअनुसार फैसला हुनुपर्छ भन्ने पाकिस्तानको मान्यता छ ।’

प्रकाशित : आश्विन ३०, २०७६ २१:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT