कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद पार्वत गुरुङलाई पक्राउ म्याद

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले नेकपाका सांसद पार्वत गुरुङलाई ‘ज्यान मार्ने प्रयास गरेको’ भनी दायर मुद्दामा पक्राउ गर्न म्याद तामेल गरेको छ ।

सांसद पार्वत गुरुङलाई पक्राउ म्याद

विश्वध्वज खड्काले दायर गरेको जाहेरीसहितको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको हो । उक्त आरोप प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ ।


जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले गुरुङका नाममा काठमाडौंबाट म्याद तामेल गर्न दोलखा पत्र पुगेको पुष्टि गरे । ‘गत बैशाख २९ गते दायर भएको मुद्दामा प्रतिवादी बनाइएकाले पत्र गएको रहेछ,’ श्रेष्ठले कान्तिपुरसित भने, ‘गुरुङको अरु व्यहोरा र उनी को हुन् भन्नेबारे अरु विवरण हेर्नुपर्छ, मलाई केही थाहा छैन ।’ मुद्दा दायर भएको करिब ६ महिनासम्म पनि विवरण सार्वजनिक भएको थिएन ।


म्याद तामेल नभएका कारण हालसम्म पनि पेशीमा नचलेको ‘ज्यान मार्ने उद्योग’को मुद्दामा गुरुङको ठेगाना गौरीशंकर नगरपालिका वडा नम्बर ५ भनी उल्लेख छ । उक्त मुद्दामा मिन बहादुर तामाङ, कारसाङ भनिने कर्ण तामाङ, सांसद गुरुङ, उर्मिला धामी, जीवन तामाङ, सागर तामाङ र सविन तामाङलाई प्रतिवादी बनाइएको छ । उजुरी दिनेको जिल्ला लगायतका सबै विवरण ‘नखुलाइएको’ भनी उल्लेख छ ।


कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नेपाल साप्ताहिकसँग कुराकानी गर्दै सांसद गुरुङले आफूमाथि पक्राउ पुर्जी जारी भएको स्वीकारे । 'पुरानो स्थानीय तहकै केस हो, त्यो । त्यसलाई राजनीतिक मुद्दा भनौँ न । त्यसबेला काठमाडौँ प्रहरी कार्यालयमा सांसद पार्वत गुरुङ नभनेर एउटा सामान्य नागरिकका रूपमा पूर्वमाओवादीले राजनीतकि पूर्वाग्रहका हिसाबले मुद्दा दर्ता गराउनुभएको रहेछ,' सांसद गुरुङ भन्छन्, 'अहिले मैले त्यसलाई सहज रूपमै लिएको छु ।'


सांसद गुरुङलाई पक्राउ गर्नुअघि प्रहरीले व्यवस्थापिका संसद् सचिवालयमा जानकारी गराउनुपर्छ ।


अब सांसद गुरुङ आफैँ अदालतमा उपस्थित हुन सक्नेछन् भने प्रहरीले पक्राउ गरेर अदालत उपस्थित गराउने बाटो पनि खुला छ । त्यसपछि उनी विरुद्धको आरोपमाथि थुनछेक बहस हुनेछ । १० वर्षमाथिको सजाय माग दाबी भएकाले उनलाई पुर्पक्ष थुनामा राख्ने, धरौटी माग्ने वा साधारण तारिखमा रिहा गर्ने विकल्प हुन सक्छन् ।

प्रकाशित : आश्विन २९, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?