कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नेता आलम पक्राउ प्रकरण : ‘जिउँदै जलाइयो, राजनीतिको आडमा ढाकछोप’

शिव पुरी

(रौतहट) — पहिलोपटक हुन लागेको सविधानसभाको गाउँगाउँमा चुनावी माहोल थियो । २०६४ चैत २८ मा मतदान थियो । त्यसको अघिल्लो दिन यमुनामाई–४ सरुअठा गाउँका २४ वर्षीय ओसी अख्तर श्रीमती आमना खातुनसित घरायसी कुरा गर्दै थिए । खातुनले झैझगडामा पर्न सकिने भयले प्रचारप्रसारमा कतै नजान अख्तरलाई सम्झाउँदै थिइन् ।

कांग्रेस नेता आलम पक्राउ प्रकरण : ‘जिउँदै जलाइयो, राजनीतिको आडमा ढाकछोप’

त्यहीबेला क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार मोहम्मद आफताब आलमका कार्यकर्ता आएर उनलाई प्रचारमा जान बोलाए ।


खातुन अकमकिइन् । श्रीमतीको सल्लाहमा अख्तरले ‘हुन्छ/हुँदैन’ को जवाफ पनि दिइसकेका थिएनन् । तर, उनी जाने मनस्थितिमा पनि थिएनन् । लिन आएकाहरूले कर गर्न थालेपछि केही चलेन । उनी मोटरसाइकलमा त्यो हुलको साथै गए । त्यो राति उनी घर आएनन् । प्रचारप्रसारमा व्यस्त होला भनेर घरपरिवार चुप बसे । तर अख्तर कहिले नफर्कने गरी बिदा भए । सर्लाहीमा काम विशेषले गएका ससुरा समसुल मियाँले छोरीलाई राति अबेर फोन गरेर सोधे, ‘ज्वाइँ साहब कहाँ हुनुहुन्छ ?’ खातुनले चुनाव प्रचारका लागि आलमका मान्छे आएर लगे भन्ने जवाफ दिइन् । समसुलको मनमा चिसो पस्यो ।


चैत २७ को साँझ सरुअठास्थित घर आउनासाथ उनले बम विस्फोटमा ज्वाइँ परेको घटना सुने । आत्तिँदै राजपुर फरदहवास्थित तत्कालीन मन्त्री स्व. शेष इद्रिसको गोठमा पुगे । जहाँ बम विस्फोट भएको भनिएको गोठ थियो । ‘विस्फोटले गोठको छाना उडाएको थियो । भित्ता सबै भत्किएको थियो,’ उनले भने, ‘डराईडराई गोठमा पुग्दा घाइतेलगायत ज्वाइँलाई पनि बोरामा राखेर नजिकको चिम्नी भट्टामा जिउँदै जलाउन लगिसकेका रहेछन् ।’


आलमका मानिसले आक्रमणको प्रयास गरेपछि ज्यान जोगाएर भागेको उनले सुनाए । त्यहाँ विस्फोट हुँदाका बेला केके भयो भन्ने नजिकका मानिसलाई भेटेर उनले घटनाबारे सबै जानकारी लिएका थिए । ‘त्यो बेला आलमको डरले गाउँका मानिस कोही बोल्दैनथे,’ उनी भन्छन् ,‘बल्लबल्ल भागेर ज्यान जोगाएँ ।’ ज्वाइँ अख्तर र पिन्टु भन्ने त्रिलोकप्रसाद सिंहलगायत २० जना भारतीय समेतलाई घाइते अवस्थामा भट्टामा लगेर जिउँदै जलाइदिएको स्थानीयले सुनाएपछि मुटुले ठाउँ छाडेको उनले बताए । घटनास्थलमा बस्न नदिएपछि समसुल भागेर घर आए । सम्धिनी (अख्तरकी आमा) रुक्साना खातुनलाई घटना बारे सुनाए । उनी भक्कानिएर रोइन् । घटनाको भोलिपल्ट राजपुर गइन् ।


रुँदै कराउँदै आलमको घरमा पुगेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । त्यहाँ सोधीखोजी गर्दा ‘तिम्रो छोराको जुत्तासम्म बाँकी होला’ भन्दै जुत्ता लिन आलमका सहयोगी मोबिन आलम कहाँ पठाइएको जाहेरीमा उल्लेख छ । घटनामा संलग्न भन्दै मोबिनविरुद्ध किटानी जाहेरी परेको छ । आलम कहाँ पुगेकी रुक्सानालाई त्यसै दिन जुत्ता दिएर फिर्ता पठाइएको थियो । ‘चुनावमा मत खसाल्न कोही नआओस् भनेर तर्साउने नियतले मेरो छोरा बसेको गोठघरमा बम पडकाए,’ रुक्सानाले दिएको जाहेरीमा भनेकी छन्, ‘विस्फोटमा परी छोरा घाइते भयो । उपचार गराउनुको सट्टा घटना बाहिर ल्याउला भनेर आलमका आफन्त लगायतका पक्षका मानिसले नजिकको इँटाभट्टामा लगेर भुंग्रोमा जिउँदै जलाएर मारे ।’ मृतक र घाइतेलाई भट्टामा हालेर जलाइएको आरोप आलममाथि लागेको छ । त्यहाँ भएका कति मान्छेलाई जलाइयो र कति जनालाई बेपत्ता पारियो भन्ने यकिन छैन । आफताब आलमलाई चुनाव जसरी पनि जिताउन भारतबाट पनि केही मानिस ल्याइएको थियो । विस्फोटमा उनीहरू पनि घाइते भएका थिए ।


विस्फोट बेला गोठमा कति मान्छे थिए भन्ने तथ्य प्रहरीले अहिलेसम्म बाहिर ल्याउन सकेको छैन । विस्फोटको घटनाको झन्डै ३० मिनेटपछि समसुल घटनास्थल पुगेको दाबी गर्छन् । उनी पुग्दा घाइते र मृतक सबैलाई भट्टामा हालिसकेको जानकारी पाए । ‘गोठ पूरा क्षतिग्रस्त थियो । घटनाको प्रमाण मेटाउन आलमले रातारात गाउँभरीका मानिस लगाए,’ समसुल भन्छन् । राति इँटाभट्टाको चिम्नीमा घाइतेलाई हाल्न लैजाँदा प्रहरीको गाडीसमेत प्रयोग भएको उनको दाबी छ । ‘आफ्ताब त रौतहटको टाइगर हो । उविरुद्ध कसैले बोल्यो भने ज्यान जोखिममा पर्थ्यो,‘ समसुल भन्छन् ।


विस्फोटमा परी हराएकामध्ये साबिक सरुअठा गाविस–४ की शेख रुक्सना खातुन र श्रीनारायणसिंह राजपुतका छोराको मात्र जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार रुक्सानाका २२ वर्षीय छोरा ओसी अख्तर र नारायणसिंहका २४ वर्षीय छोरा त्रिलोकप्रताप सिंह राजपुतलाई इँटाभट्टामा लगेर जलाएको जाहेरीमा छ । घटनास्थलमा घाइते भएर भारतको मोतिहारीमा उपचारपछि घर फर्केका एकजनासँग समसुलले भेटेर घटनाबारे सोधेका थिए । सुरक्षाको कारण उनको नाम अहिलेसम्म गोप्य राखिएको छ । उनीबाहेक कोही गाउँले आलमविरुद्ध बोल्न चाहँदैनन् ।


त्रिलोकनारायणका पिता नारायणसिंह राजपुतको जाहेरीमा लासै गायब पारिएकाले न्याय दिलाइदिन माग गरिएको छ । २४ वर्षीय त्रिलोकलाई चुनाव प्रचार गर्न उम्मेदवार आलम सहितको समूह चैत १९ मा घरमै लिन आएका थिए । त्यस दिन नारायणसिंहले रोके । ‘प्रचारप्रसारमा मेरो छोरा जाँदैन । मैले जान दिइँन,’ उनको जाहेरीमा छ, ‘भोलिपल्ट म घरमा नभएको मौका पारेर आलमका मान्छे आएर लगेछन् ।’ घर फर्किंदा छोरालाई नदेखेपछि खोज्दै आलमको घर पुगेका उनलाई आलमका सहयोगीले ‘हामीले आफ्नो जिम्मामा काममा लगाएका छौं । तिम्रो छोरालाई केही हुँदैन, पछि घरमै ल्याइदिउला,’ भन्ने जवाफ दिएर फर्काएका थिए । चैत २८ को बिहान त्रिलोकको बम विस्फोटमा मृत्यु भएको खबर आयो । ‘ज्यानै जाने गरी गोठमा बम विस्फोट गराउँदा मेरो छोरा समान्य घाइते भएको थियो,’ उनले जाहेरीमा लेखेका छन्,‘ घाइते अवस्थामा त्रिलोकले म आफ्नो घर जान्छु, बुवाले उपचार गराउनु हुन्छ भन्दाभन्दै स्लाइन दिने बहानामा प्वाइजन दिई बेहोस पारेर नजिकको इँटाभट्टाको दाउरा हाल्ने म्यानमा खसालेर जिउँदै जलाई लास गायब गरियो ।’


यता विस्फोटमा मारिएका भनिएका अख्तरका सम्बन्धमा आमा रुक्सानाले दिएको जाहेरीमा छोरा दुबईमा काम गरेर घर आएका बेला घटना भएको उल्लेख छ । ‘आलमका मान्छे आएर छोरालाई चुनाव प्रचारप्रसार भन्दै मोटरसाइकलमा लगेका थिए,’ जाहेरीमा छ, ‘गाउँगाउँबाट युवा भेला पारेर मतदान बिथोल्दै बुथ कब्जा गर्ने आलमको योजना थियो ।’ रुक्सानाको जाहेरी सविधानसभा निर्वाचनपछि २०६५ वैशाख १८ मा दर्ता भएको प्रहरी कार्यालयमा रहेको फायलमा देखिन्छ । छोराका लागि न्याय मागेकी रुक्साना खातुनको अज्ञात समूहले गोली हानी हत्या गर्‍यो । प्रहरीका अनुसार विस्फोटको घटनामा आलम, उनका भाइ महताव आलम, शेख भदई, मोबिन आलम र शेख सराज गरी पाँच जनाविरुद्ध कर्तब्य ज्यान मुद्दाको किटानी जाहेरी परेको थियो । राजनीतिक संरक्षणका कारण आलमविरुद्ध कारबाही हुन सकेको थिएन ।


ढिला गरी सांसद आलम पक्राउ परे पनि अन्य प्रतिवादी फरार रहेको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । ‘विस्फोटपछि इँटाभट्टामा मारिएका अरू कोको थिए भन्ने अझै पूरा खुलेको छैन,’ उनले भने, ‘घटना पुरानो भएपनि कारबाही अघि बढ्ने भएपछि पुनः आवश्यक अनुसन्धान भइरहेको छ । घटनामा पर्नेहरू नेपाली वा भारतीय भन्ने संख्या पनि यकिन गर्दैछौं ।’ प्रहरीले घटनास्थलका प्रत्यक्षदर्शीसित सोधपुछको तयारी गरिरहेको छ । सर्लाहीमा रहेका त्यसबेलाका एकजना घाइतेसित पीडित परिवारले सम्पर्क गरी यथार्थ बुझेको दाबी गरेका छन् । उनको आलमका आफन्तले भारतको मोतिहारीस्थित तबरेज नर्सिंङ होममा लामो समयसम्म उपचार गराएको अख्तरका ससुरा समसुलले बताए । आलमका विशेष सहयोगी भएकाले उनलाई भने उपचारका लागि लगिएको थियो । ‘पोल खोल्लान् जस्तो लाग्ने जति सबैलाई जिउँदै भट्टामा हालेर मारे,’ समसुल भन्छन् ।


सर्वोच्चको ताकेतापछि बल्ल अनुसन्धान

पीडित परिवारको जाहेरीअनुसार विस्फोटको घटनापछि तत्कालीन एसपी लक्ष्मण न्यौपाने (टीकापुर घटनामा मृत्यु भइसकेको छ) तत्कालै घटनास्थल पुगेका थिए । भोलिपल्ट अर्थात् २८ गते बिहान जिल्ला प्रहरीको टोली पनि पुग्यो तर, कतै पनि बम विस्फोटको घटना नभएको सर्जमिन मुचुल्का गर्‍यो । प्रहरी प्रधान कार्यालयसहित सम्बन्धित निकायमा जानकारी सत्यतथ्य नपठाउनुमा आलमको राजनीतिक प्रभावमा भन्ने बुझेर पीडित परिवार आक्रोशित थिए ।


धेरै रोइकराइ गरेर जाहेरी दिएका पीडित परिवारलाई आश्वस्त पार्न प्रहरीले अनुसन्धान गरेजस्तो झारा टार्‍यो । घाइतेलाई जिउँदै जलाइएको भनिएको भट्टाको माटो परीक्षणका लागि नलगी प्रहरीले त्यसबेला अर्कै भट्टाबाट लगेको पीडित परिवारको आरोप छ । २०६५ असार ९ मा जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले कसुर पुष्टिको आधार कमजोर भन्दै मुद्दा चल्न नसक्ने प्रतिवेदन बनायो । असार ३० मा महान्यायाधिवक्ता कार्यालयले उक्त निर्णयको पक्ष लिँदै मुद्दा नचलाउने भएपछि राजपुर बमकाण्ड ओझेलमा पर्‍यो ।


पीडितले महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे । सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयको उक्त आदेश २०६९ जेठ १६ मा खारेज गरिदियो । त्यसपछि सांसद आलमसहित आरोपीलाई पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुलेको भएपनि राजनीतिक पहुँच र शक्तिको आडसामु प्रहरी निरीह बन्यो । घटना अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सर्वोच्चले गरेको आदेशयता रौतहटमा ७ जना एसपी आएर सरुवा भए । कसैले पनि घटना अनुसन्धान अघि बढाउने र आरोपीलाई पक्रने हिम्मत गरेका थिएनन् । पीडितले सर्वोच्चमा पुनः मानहानिको मुद्दा दायर गरे । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको ताकेतापछि आलमलाई पक्राउ गर्न प्रहरी बाध्य भएको हो । पहिलेको प्रतिवेदनका आधारमा कर्तव्य ज्यान मुद्दामा आलममाथि अनुसन्धान थाल्ने एसपी खत्रीले बताए ।


प्रहरीले यतिबेला पीडितको निवेदनपछि यथार्थ केलाई पीडित पक्ष तथा साक्षीको बयान संलग्न गराएर मुद्दा अघि बढाउने तयारी छ । अचानक विस्फोटपछि स्लाइनसहित केही स्वास्थ्यकर्मी घटनास्थल पुगेको भन्ने पनि पीडित परिवारको भनाइ छ । तर को पुगे भन्ने पहिचान खुलेको छैन । स्लाइनमा बेहोस पार्ने औषधि चढाइएको पनि जाहेरीमा भनिएको छ । त्यसपछि बोरामा राखेर भट्टामा लगेको पीडितको दाबी छ । त्रिलोक र अख्तर घाइते मात्र थिए । मरिसकेका र घाइते आठ जनासहित २२ जनालाई ट्याक्टरमा राखेर भट्टामा जलाइएको जाहेरीमा छ । घटनाको केही सातापछि, नेपाल बार एसोसियसन, इन्सेकका प्रतिनिधि र मानवअधिकारकर्मी घटनास्थल पुगेका थिए । उनीहरूलाई समेत राजपुर गाउँमा दुर्व्यवहारको प्रयास भएको थियो ।

प्रकाशित : आश्विन २८, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?