कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अरू देशको स्वार्थमा हिँड्दैनौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि देशको स्वार्थमा नहिँड्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण, दुई देशबीच भएका सम्झौता तथा सुरक्षा व्यवस्थापनबारे समीक्षा गर्न बालुवाटारमा डाकिएको बैठकमा ओलीले यस्तो बताएका हुन् । 

‘अरू देशको स्वार्थमा हिँड्दैनौं’

‘नेपाल भूगोलमा सानो होला तर हाम्रा नीति र मूल्यमान्यता विशाल छन्, दुई विशाल छिमेकीको बीचमा रहेर अवलम्बन गरिएको नीति विश्वकै लागि उदारहणीय छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक अधिकारीले भने, ‘नेपालको आफ्नै नीति छ, हामी कुनै पनि देशको पक्ष वा विपक्षमा जाँदैनौं, असंलग्न परराष्ट्र नीति र आफ्ना प्राथमिकतामा अघि बढ्छौं ।’


चिनियाँ राष्ट्रपति सीको भ्रमणबारे धेरै समय खर्चेका प्रधानमन्त्री ओलीले दुई देशबीच भएका सम्झौता नेपालको विकास, सुशासन र दीर्घकालीन हितमा रहेको बताए । अरू देशविरुद्ध नेपालको भूमि कसैलाई प्रयोग गर्न नदिने उनले दोहोर्‍याए । ब्रिफिङमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति सीको भ्रमणक्रममा दुई देशबीच भएका समझदारी/सम्झौताबारे जानकारी गराएका थिए । सी भ्रमण व्यवस्थापनकै शैलीमा विकास निर्माण र सुरक्षा व्यवस्थापन गर्नसमेत प्रधानमन्त्री ओलीले मन्त्री तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण तथा सुरक्षा व्यवस्थापन, पूर्वाधार निर्माणजस्ता काम ज्यादै प्रभावकारी भए, यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुहोस्,’ प्रधानमन्त्रीले भने, ‘गर्दा हुँदो रैछ त, साधनस्रोतको चिन्ता कसैले पनि नगर्नुस्, मलाई रिजल्ट चाहिन्छ, त्यसैअनुसार काम गर्नुहोस् ।’


सोमबारै गृहमन्त्री रामबहादुर थापाले केन्द्रीय सुरक्षा समिति बैठक डाकेर सीको भ्रमण सुरक्षामा प्रभावकारी रणनीति अपनाएकामा सुरक्षाकर्मीहरूलाई धन्यवाद दिएका थिए । सीको भ्रमणका बेला एक चीन नीति विपरीतका गतिविधि गर्न खोजिए पनि सुरक्षा सावधानीका कारण नियन्त्रणमा लिन सकिएको उनको भनाइ थियो ।

प्रकाशित : आश्विन २८, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?