कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरे विनाशसँगै खेतीयोग्य जमिन घट्दो

डिल्लीराम खतिवडा

उदयपुर — संरक्षणका नाममा जथाभावी रूख कटान र चोरीनिकासी बढ्दा चुरे विनाश झन् तीव्र भएको छ । यसको असर खेतीयोग्य जमिनमा पनि परेको छ ।

चुरे विनाशसँगै खेतीयोग्य जमिन घट्दो

त्रियुगा नदीको तल्लो तटीय क्षेत्रमा खेतीयोग्य जमिन बालुवाले पुरिँदै छ । वन विनाशले भूमिगत जलाधारमा असर पर्न गई भूक्षय हुँदा नदीको सतह बढेको छ । त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा खेतीयोग्य जमिन मासिएको छ । सिंचाइ र खानेपानीका स्रोतमा समेत असर पर्दै गएको छ ।


नदी, खोला, खहरेमा बाढीसँगै बालुवा बगेर आउने गरेको छ । पछिल्लो समय चुरेबाट बग्ने झन्डै १९ खोलाखहरेले बाटो फेरेका छन् । कान्छो पहाडका रूपमा रहेको चुरे क्षेत्रबाट ढुंगा, गिटी र बालुवाको दोहन बढ्दै गएपछि वातावरणीय असरसमेत पर्दै गएको छ । कृषि उत्पादनमा संकट आउन थालेको किसानले गुनासो गरेका छन् ।


‘स्थिर हुन नसकेको चुरे पहाडको सतह क्षय भएकाले माटोको ऊर्वरता र पानी थेग्न सक्ने क्षमतामा ह्रास आएको छ,’ चौदण्डीगढी नगरपालिका ५ सिवाईका राधेश्याम प्रसाईँले भने, ‘वर्षाको पानी रोक्न नसक्दा बाढी तथा सुक्खा समयमा खडेरी हुने गरेको छ ।’ खोलाखहरेमा पानीको सतह तलमाथि हुँदा भावर क्षेत्रका सर्वसाधारणमा खानेपानी संकट निम्तिएको उनले बताए ।


१० वर्षयता कात्तिकदेखि नै भूमिगत पानीको स्रोत सुक्ने गरेको छ । यसले तरकारी, गहुँखेतीमा असर पर्नुका साथै पिउने पानीको समस्या निम्तिएको स्थानीयले बताए । ‘चुरे वन विनाशले जंगली जनावर, पशुपन्छीलाई समेत समस्या परेको छ,’ त्रियुगा नदीको सम्भाव्यता अध्ययन गरिरहेका नहकुलकाजी खत्रीले भने, ‘जैविक विविधताको असरले चुरेमा आश्रित जनावरदेखि मानव बस्तीमा समेत असर परेको छ ।’


सामुदायिक वन उपभोक्ता समूहले संरक्षणका नाममा चुरेका काठ काटिरहेका छन् । जडिबुटी कुरिलो, हर्रो, बर्रो, अमलालगायत जडिबुटी नासिँदै छन् । उपभोक्ता समूहले साललाई काठ र अन्य सबैलाई कुकाठका नाममा बिक्री गर्ने गरेका छन् । विज्ञका अनुसार जैविक जडिबुटी र वन सम्पदा संरक्षण गर्न चुरेक्षेत्रमा रूख कटानमा रोक लगाउन आवश्यक छ । ‘तर वैज्ञानिक वन व्यवस्थापनका नाममा चुरे क्षेत्रका सामुदायिक वनमै रूख कटानको योजना बनाइँदै छ,’ स्थानीय सुकुमाया बस्नेतले भनिन्, ‘सामुदायिक वनको कार्ययोजनाअनुसार नै रूख काटिए पनि जैविक विविधतामा असर पुगेको छ ।’


जैविक विविधताको संरक्षण नहुँदा जंगली जनवार गाउँ पसेर मानवीय क्षति गर्ने गरेका छन् । जनावरको प्राकृतिक बासस्थानमा अतिक्रमण बढ्दै गए बस्ती झन् जोखिममा पर्ने स्थानीयले बताए ।


पूर्व–पश्चिम भएर फैलिएको चुरे वन शृंखला उदयपुर, सिराहा र सप्तरीको सीमा हो । उदयपुरमा पर्ने उत्तरतर्फको क्षेत्रमा घना जंगल छ । तर दक्षिणतर्फ सिराहा र सप्तरीबाट चुरेमा अतिक्रमण तीव्र छ । चुरे पहाडमा मुहान भएका बलान, खाँडो, महुलीजस्ता खोलाले सिरहा र सप्तरीको हजारौं हेक्टर खेतीयोग्य जमिन मरुभूमिमा परिणत भएको छ ।

प्रकाशित : आश्विन २७, २०७६ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?