कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपालाई सीको सन्देश- 'जनताको मन जिते मात्र सत्तामा टिकिन्छ’

'पार्टीभित्रको स्वच्छतामा बढ्ता जोड दिनुपर्छ । चीनको आत्मविश्वास बढ्नुमा पार्टीको अनुशासन पनि मुख्य कारण हो
कान्तिपुर संवाददाता

काठमाडौँ — चीनका राष्ट्रपति एवं चिनिया कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव सी चिनफिङले जनताको मन जित्ने काम गरेर मात्र लामो समय सत्तामा रहन सक्ने सन्देश नेकपाका नेताहरूलाई दिएका छन् । दुईदिने नेपाल भ्रमणमा आएका राष्ट्रपति सीले आइतबार अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाको सचिवालयका नेताहरूसँग भेटेर सीपीसीले चीनमा गरिरहेको शासनबारे अनुभव बाँडेका थिए ।

नेकपालाई सीको सन्देश- 'जनताको मन जिते मात्र सत्तामा टिकिन्छ’

‘चीनमा हामी समाजवाद निर्माणमा अघि बढेका छौं, जुन जनताको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै गएकाले सम्भव भएको हो, सत्ताकब्जाकै कारणले मात्र होइन,’ सीको भनाइ उद्धृत गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।


राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टीको उदाहरणलाई अनुभवका रूपमा नेकपाले ग्रहण गर्न सक्ने धारणा राखेका थिए । ‘पार्टी वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक हरेक किसिमले दह्रो बनाएर मात्र हामीले चीनमा प्रगति गरेका हौं,’ राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने, ‘तपाईंहरूले पनि हाम्रा अनुभवलाई ध्यान दिन सक्नुहुन्छ ।’


झन्डै आधा घण्टा भएको भेटमा दुई मुलुकका सरकार र विकास साझेदारीका विषयमा कुरा भएको थियो । राष्ट्रपति सीले नेपालमा दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत भएर अघि बढेकामा बधाई दिएका थिए । ‘पार्टी बलियो नबाईकन केही गर्न सकिँदैन । तपाईंहरूले दुइटा पार्टीलाई एकीकृत गरेर राम्रो गर्नुभयो,’ राष्ट्रपति सीले भनेका थिए ।


२८ वर्षको संघर्ष र ७० वर्षको प्रयत्नका कारण चीनले अहिलेको उपलब्धि हासिल गरेको सीको भनाइ थियो । ‘यो उपलब्धि हासिल गर्न हामीले धेरै कठिनाइ पार गरेका छौं, ठूल्ठूला बलिदान गर्नुपरेको छ । ठूलो अपमान पनि खेप्नुपरेको छ,’ सीले भनेका थिए, ‘यी सबै कुराविरुद्ध जुध्दै चीन महत्त्वपूर्ण उचाइमा आइपुगेको छ ।’ उनले राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक, प्रतिरक्षा, विदेश सम्बन्धलगायत सबै क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै चीन अब दुनियाँको कुनै पनि शक्तिको ‘थ्रेट’ बाट हुने आक्रान्त अवस्थामा नरहेको बताए ।


चीन आफ्नो स्वतन्त्रता र उपलब्धि जोगाउन सक्षम र सदृढ अवस्थामा पुगेको राष्ट्रपति सीले उल्लेख गरे । अरूलाई पनि सहयोग गर्न सक्ने अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले तेस्रो विश्व लगायतका सबै मुलुकसँग सम्बन्ध विस्तार गर्न चाहेको बताए । प्रभुत्ववाद, नवउपनिवेशवाद र एकत्ववादविरुद्ध भने अझै जुध्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । ‘यीविरुद्ध जुध्दै समाजवादमा पुग्न चीनले दुइटा शताब्दी लक्ष्य निर्धारण गरेको छ,’ राष्ट्रपति सीले भनेका थिए, ‘एउटा शताब्दी लक्ष्य एक वर्षभित्रै र अर्को लक्ष्य तीस वर्षभित्र पूरा गर्न दृढतापूर्वक अघि बढेका छौं ।’ चीनले गरिबीको रेखाबाट तत्काल माथि उठ्ने र तीस वर्षभित्र विकसित मुलुकको सूचीमा पुग्ने दुई मुख्य लक्ष्य राखेको छ ।


राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई पार्टी, सरकार लगायत सबै तहमा अघि बढाउन चाहेको उल्लेख गरेका छन् । नेकपासँगको पार्टीगत सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै उनले अब झन् मजबुत बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले पार्टीभित्रको स्वच्छतामा बढ्ता जोड दिनुपर्ने प्रसंग उठाउँदै चीनको आत्मविश्वास बढ्नुमा पार्टीको अनुशासन पनि मुख्य रहेको उल्लेख गरेका थिए ।


राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई उचाइ दिन हिमालय वारपारको ‘कनेक्टिभिटी’लाई बढाउन चाहेको लगायतका प्रसंग नेकपा नेताहरूसँग पनि दोहोर्‍याएका थिए । नेकपाका तर्फबाट अध्यक्ष दाहालले दुई मुलुक, पार्टी र सरकारबीचको सम्बन्धलाई अझ गहिरो र बहुआयामिक बनाउन चाहेको धारणा राखेका थिए । ‘नेपाल र चीनको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ । नेपाल सुखी नेपाली समृद्ध नेपाल निर्माणको लक्ष्यमा छ । यस्तो अवस्थामा यो भ्रमण झन् महत्त्वपूर्ण भएको छ,’ अध्यक्ष दाहालले भनेका थिए ।


शनिबार राष्ट्रपति सीले गरेका प्रतिबद्धताहरूबाट पार्टी अत्यन्त उत्साहित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले आम सम्बन्धलाई अझै गहिरो, व्यापक र बहुआयामिक बनाउन चाहेको बताए । उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र यसमा सधैँ प्रतिबद्ध रहने पनि दोहोर्‍याए । उनले बीआरआईमा भएको हस्ताक्षर महत्त्वपूर्ण रहेको उल्लेख गर्दै दुवै देश र जनताको हितका निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरूको छनोट र तीव्र कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।


अध्यक्ष दाहालले आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा भएको चीनको भ्रमण, त्यसपछिका भ्रमण र गोवामा भएको भेटवार्ताको प्रसंग पनि उठाएका थिए । उनले चीनविरुद्धका कुनै पनि साझेदारी नगर्ने प्रतिबद्धता जनाएका छन् । ‘नेपाल कम्युनिस्ट पार्टीले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको छ र हाम्रो पार्टीको नेतृत्वको सरकारले चीनको सुरक्षा हितविपरीत कसैसँगको साझेदारीमा काम गर्दैन । हामी विश्वास गर्छौं कि चीनको विकास र स्थायित्व नेपालको हितमा छ । समृद्ध चीन नेपालका लागि अवसर हो,’ अध्यक्ष दाहालले भनेका थिए । उनले ताइवानलाई चीनको अभिन्न भागका रूपमा उल्लेख गर्दै तिब्बतको विषय चीनको आन्तरिक मामिला भएको बताए ।


अध्यक्ष दाहालले राष्ट्रपति सीसँग व्यापार घाटाको विषय पनि उठाएका थिए । व्यापार घाटा घटाउन नेपाललाई निरन्तर सहयोग गर्न उनले आग्रह गरे ।


अध्यक्ष दाहालले दुई मुलुकका कम्युनिस्ट पार्टीहरूबीचको सम्बन्ध र सहयोगमा पनि नयाँ आयाम थपिएको उल्लेख गरेका थिए । गत महिना विदेशमन्त्री वाङ यी र विदेश विभाग प्रमुख सङ ताओबीचको बैठक र सहयोगको विषय उल्लेख गर्दै उनले चिनियाँ विशेषतासहितको समाजवाद र ‘सी चिनफिङ विचारधारा’बारे हालै काठमाडौंमा भएको गोष्ठीको प्रसंग उठाएका थिए । त्यसक्रममा दुई पार्टीबीच भएको हस्ताक्षरले पनि आपसी सम्बन्धले महत्त्वपूर्ण उचाइ लिएको उनको भनाइ थियो ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?