सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्च बापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् ।

विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो ।

सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो । प्रहरीबाट मात्रै ८ हजार ५ सय जनाभन्दा बढी खटिएका थिए । सरकारले १६ हजार जनशक्तिका लागि खाजा खर्च उपलब्ध गराए करिब डेढ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ ।

विशेष सुरक्षा कार्ययोजना र कार्यक्रम व्यवस्थापनअन्तर्गत तैनाथ कर्मचारी र सुरक्षाकर्मीलाई भत्ता दिने प्रस्ताव गरी अर्थ मन्त्रालयलाई पत्र पठाइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘राष्ट्रपति सीको राजकीय भ्रमण सुरक्षा कार्ययोजनाअनुसार खटिने सुरक्षाकर्मी र कर्मचारीलाई दैनिक ३ सयका दरले खाजा खर्च उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्र पठाएका छौँ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘यससम्बन्धमा केही दिनभित्रै निर्णय हुन्छ ।’

सी नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फिर्ता भइसकेका छन् । उनको सम्पूर्ण सुरक्षा व्यवस्थापनको नेतृत्व सेनाले लिएको थियो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सीको सुरक्षामा १५ हजारभन्दा बढी जनशक्ति खटिएको जानकारी दिए ।

सीको सुरक्षाका लागि एक महिनाअघिबाटै कार्ययोजना तय भए पनि सरकारले अन्तिम समय मात्रै त्यसको जानकारी दिएको थियो । असोज ५ मा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री रामबहादुर थापासँग भेटेपछि सुरक्षा कार्ययोजना बनाइएको थियो ।

यसअघि ०७५ भदौ १४ र १५ मा काठमाडौंमा आयोजना गरिएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्टेक) सम्मेलन र ०७५ चैत १५ र १६ गते सम्पन्न २ दिने लगानी सम्मेलन सुरक्षामा पनि सुरक्षाकर्मीलाई दैनिक खाजाभत्ता उपलब्ध गराइएको थियो ।

बिमस्टेक सम्मेलनमा दिनको २ सय ५० का दरले ५ दिनको भत्ता उपलब्ध गराइएकोमा लगानी सम्मेलनमा दिनको ५ सय रुपैयाँका दरले दुई दिनको भत्ता दिइएको थियो ।

प्रकाशित : आश्विन २६, २०७६ २१:०२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सहअस्तित्वमा तमु सम्मेलनको जोड

कान्तिपुर संवाददाता

काठमाडौँ — पहिलो अन्तर्राष्ट्रिय तमु सम्मेलन १७ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले विभिन्न मुलुकमा रहेका तमु (गुरुङ) हरूबीच भावनात्मक एकता, सहअस्तित्व, पहिचान र आर्थिक समृद्धिमा जोड दिएको छ । 

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को संयोजनमा काठमाडौंमा सम्पन्न दुईदिने सम्मेलनबाट जारी घोषणापत्रमा तमु समुदायको आदिम भूमिको रक्षा र अधिकारका लागि एकताबद्ध हुने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
सम्मेलनले तमु समुदायको इतिहास, भाषा, धर्म, संस्कृति, परम्परागत मूल्यमान्यता, भौतिक, अभौतिक, पुरातात्त्विक सम्पदाको खोज अनुसन्धान, परम्परागत ज्ञान, सीप र पेसाको संरक्षण, संवर्द्धन र विकासमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

तमुको खेगी लामा, पच्यु, घेब्रीद्वारा पालना भइआएका मौलिक संस्कार तथा संस्कृतिमा सुधार गर्दै एकरूपता ल्याउने, कला, साहित्य, शिक्षाको विकासमा युवापुस्तालाई पुस्तान्तरण गर्ने घोषणापत्रमा उल्लेख छ ।

संरक्षण र विकासका साथै पहिचानका लागि विश्वमा रहेका तमु संस्थाहरू निरन्तर क्रियाशील हुनुपर्ने भनिएको छ । सम्मेलनले अन्तर्राष्ट्रिय तमु परिषद् गठन गर्दै प्रत्येक तीन वर्षमा तमु सम्मेलन गर्ने घोषणा गरेको छ ।

प्रकाशित : आश्विन २६, २०७६ २०:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT