भारतमा नेपाली चेलीको हत्या

कान्तिपुर संवाददाता

विराटनगर — भारत बिहारको अररिया जिल्लामा पर्ने जोगवनीको भेडयारीमा नेपाली चेली २२ वर्षीया रञ्जना सहनी (बहरदार) को शुक्रबार राति हत्या भएको छ । 

विराटनगर–११ पिचराकी रञ्जनाको ८ महिना अगाडी २३ फागुनमा जोगवनी भेडयारीकै २५ वर्षीय भिम बहरदारसँग मागी विवाह भएको थियो । जोगवनी प्रहरी चौकीका अनुसार हत्याको दुई दिनपछि आइतबार बिहान सीमावर्ती जोगवनी बजारदेखि करिब ३ किमी दक्षिण भवानीपुरस्थित परमान खोलामा रञ्जनाको शव फेला परेको हो ।

हत्या अघि रञ्जनालाई शारीरिक यातना दिइएकोले गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाइजो स्वरुप माग गरिएको २ लाख रुपैयाँ नदिंदा छोरीको हत्या भएको माइती पक्षको दाबी अनुसार प्रहरीले तत्कालै रञ्जनाको श्रीमान, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ गरेको छ ।

फरार आरोपी सासुआमा र जेठानी दिदीको खोजी भइरहेको प्रहरीले जनाएको छ । पन्ध्र दिन अगाडि पनि ज्वाइँले पसल खोल्नलाई रकम चाहिएको भन्दै दबाब दिएको र नदिएमा रञ्जनाको हत्या गर्ने धम्की दिएको माइती पक्षको आरोप छ । विवाह पछि पनि ऋण काढेर ज्वाइँलाई मोटरसाइकल किनेर दिएको माइती पक्षले प्रहरी समक्ष भनेको छ ।

रञ्जनाको शव घरदेखि करिब १ किलोमिटर परमान खोलामा फेला परेको थियो । । शनिबार छोरी हराएको खबर पाएपछि माइती पक्ष खोजतलास गर्दै जोगवनीको भेडयारी पुगेका थिए ।

खोजबिन जारी रहँदा आइतबार बिहान स्थानीय बालबालिकाले खोलामा शव देखेर खबर गरेका थिए । प्रहरीले पोष्टमार्टमका लागि शवलाई आइतबार दिउँसो फारबिसगन्ज लगेको छ ।

प्रकाशित : आश्विन २६, २०७६ २०:३८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कमजोरीका बाबजुद भ्रमण सफल : राजपा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल र ऐतिहासिक भएको प्रतिक्रिया व्यक्त गरेको छ । तर, भ्रमणका क्रममा मधेस केन्द्रित दल र मधेसी जनताको विचारलाई महत्व नदिएकोप्रति उसले असन्तुष्टी प्रकट गरेको छ । 

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा मधेस र मधेस केन्द्रित दललाई उपक्षा गर्दा चीन र नेपालकै लागि पनि हित नहुने बताए ।

‘यत्रो उच्चस्तरको भ्रमणमा मधेस र मधेसी दलको खोजीखबर भएन । हाम्रो सरकारबाट भएन या चिनियाँ पक्षबाट भएन, यो एउटा कमजोरी भयो’ महतोले कान्तिपुरसँग भने, ‘यो कमजोरी बाहेक भ्रमण सफल भएको छ ।’

चिनियाँ राष्ट्रपतिस्तरमा २३ वर्षपछि भएको भ्रमण आफैँमा ऐतिहासिक रहेको भन्दै महतोले यसबाट नेपालले अधिकतम् लाभ लिन सक्नुपर्ने बताए । ‘यो उच्च स्तरको भ्रमणले चीन र नेपालको सम्बन्ध बलियो र फलदायी बनाएको छ । यसबाट हामीले अधिकतम लाभ लिनुपर्छ’ उनले भने ।

प्रकाशित : आश्विन २६, २०७६ २०:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT