२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको वास्तविक उचाइ घोषणा गर्ने 

गोविन्द पोखरेल

काठमाडौँ — नेपाल र चीनले सगरमाथाको वास्तविक उचाइको संयुक्त रुपमा घोषणा गर्ने भएका छन् ।  चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय नेपाल भ्रमण सकेपछि निकालिएको संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गरिने उल्लेख छ । 

नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको वास्तविक उचाइ घोषणा गर्ने 

सरकारले गत जेठमा नापी विभागको अगुवाईमा पहिलोपटक सगरमाथाको उचाइ नाप्ने काम सुरु गरेको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सन् १८५६ मा ब्रिटिस सर्वेयर जर्ज एभरेष्टले नापेका थिए ।


चीनले पनि विभिन्न समयमा सगरमाथाको उचाइ नाप्दै आएको छ । २००५ मा उसले गरेको सर्वेक्षणमा सगरमाथाको उचाई ८ हजार ८ सय ४४ मिटर थियो ।


यस्तै, संयुक्त विज्ञप्तिमा जलवायु परिवर्तनको सवालमा नेपालले उठाएका चासो सम्बोधन गरिने उल्लेख छ । वक्तव्यमा भनिएको छ,' सगरमाथा/चोमोलोङ्मा(चिनियाँ भाषामा) दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धको द्योतक हो । चीनले जलवायु परिवर्तन र वातवरण संरक्षणका लागि नेपाली पक्षको चासो सम्बोधन गर्नेछ । ' यस्तै दुई मुलुकबीच वैज्ञानिक अनुसन्धानहरु गर्ने वक्तव्यमा उल्लेख छ ।


चिनियाँ राष्ट्रपतिले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय भोजमा पनि सगरमाथा र हिमाली क्षेत्रको रक्षा गर्न चीन सदैव तयार रहेको बताएका थिए । उनले साझा गृहस्थल पृथ्वी र विशेष गरेर सगरमाथा र हिमाली क्षेत्रको रक्षा गर्न आफूहरु सदैव तयार रहने उल्लेख गरेका थिए । राष्ट्रपति सीले जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको उल्लेख गरेका थिए ।


चीन विश्वकै सबैभन्दा बढी हरित गृह ग्यास उत्सर्जन गर्ने मुलुक हो । सन् २०१७ मा चीनले २७.२ प्रतिशत कार्बन उत्सर्जन गरेको थियो । यस्तै नेपाल जलवायु परिवर्तनको हिसाबले हेर्दा सबैभन्दा बढी प्रभावित हुने मुलुकभित्र पर्छ ।


यस्तै, गत माघमा अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) ले ५ वर्ष लगाएर २२ मुलुकका विभिन्न १ सय ८५ वटा संस्थाका ३ सय ५० जना अनुसन्धानकर्ता र विज्ञले तयार गरेको ६ सय २५ पृष्ठ लामो ‘द हिन्दुकुश हिमालय एसेस्मेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पिपल’ प्रतिवेदन सार्वजनिक गर्दै विश्वमा अहिलेकै अवस्थामा हरित गृह ग्यास उत्सर्जन भइरहने हो भने सन् २१०० सम्म हिन्दुकुश हिमालयको दुई तिहाइ हिउँ पग्लने चेतावनी दिएको थियो । हिमालय पर्वत श्र‌ंखलाको मध्य क्षेत्र नेपालमा पर्छ ।

यस्तै, नेपालले आगामी चैत तेस्रो सातामा जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य शीर्षकमा पहिलोपटक अन्तर्राष्ट्रिय तहमा ‘सगरमाथा संवाद’ कार्यक्रमको आयोजना समेत गर्दैछ । बाहिरी विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक तथा समग्र विश्व समुदायबीच जलवायु परिवर्तनको संकटबारे समान धारणा बनाउन तथा संकटसँग जुध्न यो अर्न्तसंवाद नेपालले आयोजना गर्न लागेको हो ।

प्रकाशित : आश्विन २६, २०७६ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?