कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनका सबै सहयोग एउटै सञ्जालबाट

बीआरआईअन्तर्गत एकीकृत रणनीतिक विकासमा सहयोग पुग्ने गरी चीनले नेपाललाई केन्द्रबिन्दुमा राखेर सञ्जाल अघि सारेको हो
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाल र चीनबीच अब सम्पूर्ण सम्झौता ‘ट्रान्सहिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ (हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल) अन्तर्गत हुने भएका छन् । चीनका लागि नेपालका पूर्वराजदूत महेश मास्केका अनुसार चीनले विकासका पूर्वाधारहरू हवाईदेखि प्रसारण लाइन, सुरुङमार्ग, साइबर सुरक्षा, पारवहन प्रयोगलगायत सम्पूर्ण विषयलाई सञ्जालअन्तर्गत ल्याएको हो ।

चीनका सबै सहयोग एउटै सञ्जालबाट

बहुचर्चित रणनीतिक आर्थिक तथा पूर्वाधार विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत मुलुकको एकीकृत रणनीतिक विकासमा सहयोग पुग्ने गरी चीनले नेपाललाई केन्द्रबिन्दुमा राखेर यो सञ्जाल अघि सारेको हो । सञ्जालमा हवाई, रेलमार्ग, सडकमार्ग, सीमापार आर्थिक करिडोर निर्माण, सामुद्रिक र सुक्खा बन्दरगाह विकाससहितका विकासका कार्यक्रम पर्छन् । चीनले बीआरआईको फ्रेमवर्कअन्तर्गत प्राथमिकताका साथ यो सञ्जाललाई अघि सारेको पूर्वराजदूत मास्केले बताए । नेपाललाई तेस्रो मुलुकसँग गरिने व्यापारको सुनिश्चितता, स्वतन्त्र व्यापार र नेपालको पर्यटन तथा पूर्वाधारको क्षेत्रमा चिनियाँ लगानीको वातावरण निर्माणको क्षेत्रमा महत्त्वपूर्ण कुरा पनि यसै छाताभित्र पर्ने चीन मामिलाबारे जानकार रूपक सापकोटाले बताए । ‘नाकाको प्रयोग होस् या अन्य पूर्वाधारको विकास, चीनले नेपालमा गरिने र नेपाललाई उपलब्ध गराउने सम्पूर्ण सहयोग यही सम्पर्क सञ्जालमार्फत गर्न चाहन्छ, त्यही रूपमा यसलाई अघि बढाइएको हो,’ उनले भने ।


सापकोटाका अनुसार चीनले नेपाललाई गर्ने सबै आर्थिक सहायता यसै सञ्जालको फ्रेमवर्कभित्र पर्छन् । ‘चीनले विभिन्न क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्दै आइरहेको छ । ती आयोजना कार्यान्वयनको अवस्था, त्यसका विभिन्न आयाम र थप पूर्वाधार विकासलाई हेर्न सहज होस्, कार्यक्रम नछरिउन् भनेर एउटै छाताभित्र राख्न यो अवधारण अघि बढाइएको हो,’ उनले भने । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका दौरान दुई देशबीच हुने सम्पूर्ण आर्थिक तथा पूर्वाधार सम्झौताहरू यही सञ्जालअन्तर्गत रहनेछन् ।




अर्का चीन जानकार कल्याण रोक्काले शुक्रबार नेपाल–चीन हिमालयन मैत्री समाजले आयोजना गरेको कार्यक्रममा बीआरआईको स्वरूप र सम्भावनालाई रेलमार्गसहित अन्य बहुआयामिक सम्पर्क सञ्जाललाई ध्यान दिनुपर्ने बताए । उनले हिमाली क्षेत्रमा बस्तीहरूलाई एकीकृत रूपमा विकास गर्दै विकाससँग जोड्न यो सञ्जाल महत्त्वपूर्ण हुने बताए । ‘चीनले तिब्बतमा यसरी नै एकीकृत विकास गरेको छ,’ उनले भने ।


सन् २०१८ को जुनमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण क्रममा यो सञ्जालबारे नेपाल र चीनबीच द्विपक्षीय सम्झौतासमेत भइसकेको छ । सन् २०१८ को सुरूआतमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमणक्रममा विदेशमन्त्री वाङ यीसँग गरेको वार्तालापपछि यो सीमापार बहुआयामिक सम्पर्क सञ्जाल अवधारणा ल्याइएको हो । पूर्वराजदूत मास्केका अनुसार प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सञ्जालबारे संयुक्त वक्तव्यमै उल्लेख गरिएको थियो ।

त्यसपछि भएको राष्ट्रपति भण्डारी सहभागी दोस्रो बीआरआई सम्मेलनमा सञ्जाललाई चीनले थप महत्त्वका साथ जोड दिँदै सामेल गर्‍यो । परराष्ट्रमन्त्री ज्ञवालीले बिहीबार प्रधानमन्त्री ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा पनि उक्त सञ्जालका विषय उल्लेख गर्दै आफूले चिनियाँ समकक्षी वाङसँग छलफल गरेर दुई देशबीच सहकार्य गर्न यो सञ्जालको अवधारणा अघि सारेको जानकारी दिएका थिए ।

प्रकाशित : आश्विन २५, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?