कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओमनसँग श्रम सम्झौता चाँडै

होम कार्की

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छिट्टै ओमनसँग श्रम सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति भएपछि हस्ताक्षर प्रक्रिया अगाडि बढाइएको हो । 

मन्त्रालयले श्रम सम्झौताको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरिसकेको छ । ‘श्रम समझदारीमा नेपालमै हस्ताक्षर गर्ने मन्त्रालयको योजना छ,’ श्रमका एक अधिकारीले कान्तिपुरलाई भने । हस्ताक्षर कार्यक्रममा सहभागी हुन ओमनका जनशक्तिमन्त्री शेख अब्दुल्लाह बिन नासेर अल वक्रीको समय लिइसकिएको ओमनका लागि राजदूत शर्मिला पराजुली ढकालले बताइन् । श्रम सम्झौता हुने मिति भने सार्वजनिक गरिएको छैन । ‘ श्रम सम्झौताका लागि नेपालको तदारुकताको प्रशंसा गर्दै ओमन सम्झौता गर्न व्यग्रतासाथ प्रतीक्षारत छ,’ नासेरको भनाइ उद्धृत गर्दै ढकालले भनिन्, ‘नेपालीका लागि ओमन सुरक्षित गन्तव्य हो । हामी धेरै नेपाली कामदारलाई स्वागत गर्न चाहन्छौं ।’


अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मापदण्ड पूरा हुने गरी समझदारी गर्न लागिएको हो । कामदार भर्ना प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाताले बेहोर्ने गरी समझदारी गर्न ओमन तयार छ । ओमन जाने कामदारले म्यानपावरलाई लागत शुल्क बुझाउनुपर्दैन । ‘कामदारलाई विदेश पठाउन लाग्ने शुल्क रोजगारदाताले म्यानपावरलाई नै दिनेछ । टिकट र भिसाशुल्क पनि रोजगारदाताकै हुनेछ । हाल ओमन जाने नेपाली कामदारले एक लाख रुपैयाँ खर्च बेहोर्दै आएका छन् ।


म्यानपावर कम्पनीले पाउने सेवा शुल्क भने तोकिएको छैन । ‘रोजगारदाता र म्यानपावरबीच आपसी सहमतिमा शुल्क तोक्ने बाटो श्रम सम्झौताको मस्यौदाले खुला गरेको छ,’ ओमनसँगको बैठकमा सहभागी मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भने । सम्झौतामा ओमनमा कार्यरत रहेका बेला कामदार बिरामी भए रोजगारदाताले नै जिम्मेवारी लिने उल्लेख छ । ओमनमा स्वास्थ्य खर्च निकै महँगो छ ।


श्रम विवाद भएमा कामदारले सहज रूपमा न्याय खोज्ने पनि व्यवस्था छ । त्यस बेला कामदारले अस्थायी रूपमा स्पोन्सर खोज्न सक्नेछन् । ओमनमा झन्डै १५ हजार नेपाली कार्यरत छन्, जसमध्ये ९० प्रतिशत घरेलु सेवाअन्तर्गत कार्यरत छन् ।


प्रकाशित : आश्विन २४, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?