कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिङमा जुट्दै दौंतरी

दसैंमा गाउँ फर्किएकाहरुलाई चौतारीजस्तो भएको छ पिङ । उनीहरु त्यहीँ जम्मा भएर शुभकामनासँगै अनुभव साटासाट गर्छन् ।
मनोज पौडेल

(कपिलवस्तु) — कपिलवस्तु नगरपालिका–४, छोट्कीका मनीष कार्कीलाई दसैंमा पिङ नखेली हुँदैन । पिङ खेल्दा मासु पचाउन सजिलो हुने उनको बुझाइ छ । ‘अबको एक साता पिङमा मच्चिन्छु,’ उनले भने, ‘शरीरमा रहेको चिल्लो पदार्थ पसिनाबाट बाहिर निस्कन्छ । पिङमा मच्चिँदा पाचन प्रणाली राम्रो हुन्छ ।’ 

पिङमा जुट्दै दौंतरी

शिवराज नगरपालिकाका महादेव पोखरेलले पिङ हालेदेखि दसैंतिहारको संकेत मिलेको बताए । अहिले पिङ हालिएको ठाउँमा बाक्लो जमघट हुने गरेको छ । ‘नयाँ लुगामा सजिएर पिङ खेल्न आउँछन्,’ उनले भने, ‘पिङ खेल्ने बहानामा शुभकामना साटासाट गर्ने अवसर मिल्छ ।’ उनको बुझाइमा पिङ हालेको ठाउँ चाडबाडमा चौतारीजस्तै बन्छ । यसबाट पिङ संस्कृतिको जगेर्ना हुन्छ । यो भेटघाट, भलाकुसारी गर्ने र खुसी साटासाट गर्ने थलो पनि हो ।

अहिले गाउँघरमा बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्मलाई चाडबाडको चटारोसँगै पिङ खेल्ने हतारो छ । उनीहरूका अनुसार पिङमा मच्चिँदा शरीर हलुका हुन्छ । दु:खकष्ट भुलिन्छ । मन चंगा बन्छ । पिङले साहस बढाउँछ । अघिपछि घरबाहिर निस्कन र खुलेर कुरा गर्न नपाएकाहरू पिङ खेल्ने ठाउँमा खुलेर गफ गर्छन् ।


जिल्लाका तौलिहवा, बर्मेली, जगदीशपुर, पिपरा, शिवपुर र चन्द्रौटामा स्थानीयले पिङ हालेका छन् । यता सशस्त्र प्रहरीले जिल्लाका ६ स्थानमा लिंगे पिङ बनाएको छ । पाँचवटा बोर्डर आउट पोस्ट (बीओपी), एक गुल्म र एक गणले सर्वसाधारणको पहुँच हुने ठाउँमा पिङ हालिदिएका छन् । संस्कृति जगेर्ना गर्दै नागरिकलाई स्वस्थ बनाउन पिङ गाडिएको सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताए ।


बाँसका चारवटा लिंगा गाडेर दुई/दुई वटाको टुप्पालाई एक ठाउँमा बाँधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लट्ठा बाँधिएको संरचनालाई लिंगे पिङ भनिन्छ । लट्ठा बाबियो वा नाइलनको डोरीबाट बनाइन्छ । परम्परागत नेपाली रोटे पिङमा चारवटा काठका पिर्का हुन्छन् ।


रोटे पिङमा एकैपटक चारभन्दा बढी व्यक्तिले खेल्न सकिन्छ । दुई व्यक्तिले पिङ हल्लाउनुपर्छ । सबै पिर्कामा बराबर वजन भएका व्यक्तिहरू बस्दा सजिलैसँग मच्चिन्छ । जाँते पिङमा दुई जना बसेर मच्चिन सकिन्छ । काठको मियोको माथिल्लो भागबाट काठ तेस्र्याएर दुवै भागमा एक–एकजना बस्न मिल्ने गरी यसलाई बनाइएको हुन्छ । जाँतो जसरी घुम्ने यो पिङ मच्चाउन एक जनाको सहयोग चाहिन्छ । पहिले पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा हुन्थ्यो ।


अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ । ‘युवाले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन्,’ साहित्यकार भक्तिराम पन्थी भन्छन्, ‘संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ । नत्र नयाँ पुस्ताका बालबालिकालाई कसरी थाहा हुन्छ ?’ पिङ मनोरञ्जनका लागि मात्र नभई व्यायामको पनि गतिलो माध्यम हो । यो थोरै खर्चमा तयार हुन्छ । दसैंतिहारमा चिल्लो र मासु बढी खानेहरूले पिङ खेल्दा सजिलै पच्ने विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार जोडजोडले पिङ मच्चाउँदा हात गोडा, पेट र कम्मरका मांसपेशी बलियो हुनुका साथै पाचन प्रणाली पनि सक्रिय बन्छ ।


कपिलवस्तु–२ सागरटोलकी १२ वर्षे श्रेया शर्मा दसैंमा दिनहुँ पिङ खेल्छिन् । घटस्थापनाको दिनदेखि नै पिङमा मच्चिन थालेको उनले बताइन् । ‘जति खेले पनि मन भरिँदैन । फेरि एकैछिनमा खेलुँखेलुँ लागिहाल्छ,’ उनले भनिन् । गाउँघरमा दसैंको टीका थापेपछि एकपटक पिङ खेलेर भए पनि जमिन छोड्नुपर्ने चलन छ । यही चलन पछ्याउँदै पिङ हाल्ने र खेल्ने गरिन्छ । दसैंतिहारकै बेला पिङ खेल्नुको धार्मिक र सांस्कृतिक महत्त्व पनि छ ।


‘पौराणिककालमा देवीदेवता पनि दसैंतिहारकै बेला पिङ खेल्थे भन्ने मान्यता छ,’ अवधि संस्कृति विशेषज्ञ पशुपतिमणि त्रिपाठी भन्छन्, ‘महाकाली, महादुर्गा र महासरस्वती ल्वाङको हाँगामा डोरी बाँधेर पिङमा मच्चिन्थे भन्ने धार्मिक विश्वास थियो । हाम्रा पुर्खाले पनि सायद त्यही विश्वासका साथ शरद ऋतुका यी महान् चाडबाडका बेला पिङ खेल्ने चलन चलाएको हुनुपर्छ ।’


मधेसतिर भने साउनदेखि तिहारसम्मै पिङ खेलिन्छ । घर, टोल र बगैंचामा डोरी बाँधेर पिङ राखिन्छ । ‘भगवान् शिवको आराधना गरिने साउन पवित्र महिना हो,’ अवधी लोक साहित्य ज्ञाता विक्रम त्रिपाठी भन्छन्, ‘त्यसैले यही समयबाट मधेसमा पिङ खेलिन्छ ।’ मधेसमा पिङलाई झलुवा भनिन्छ । ‘भदौमा रोपाइँ सकिन्छ । त्यसपछि नागपञ्चमी र रक्षाबन्धन पर्व आउन लाग्दा बुहारीहरू माइत फर्कन्छन्,’ उनले भने, ‘त्यसपछि छोरीबुहारी गीत गाउँदै मधेसमा पिङ खेल्छन् । पिङ खेल्न थाल्दा भजनबाट सुरु गरेर कजरी तीज गीत पनि गाउँछन्, जुन तिहारसम्मै चल्छ ।’ दसैंतिहारमा विशेषगरी जाँते, लिंगे र रोटे पिङ बनाइन्छन् । जाँते पिङ अचेल पूरै लोप भएको छ । रोटे पिङ पनि बिस्तारै हराउँदै जान थालेको छ ।

प्रकाशित : आश्विन १९, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?