कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोचाकोच यात्रु, तेब्बर भाडा

माधव अर्याल

पाल्पा — एक सातायता ग्रामीण भेगमा चल्ने सवारी साधनमा यात्रु कोचाकोच छन् । मनपरी भाडा असुल्न छाडिएको छैन । सडक स्तरोन्नति भए पनि यातायात व्यवसायीले पुरानै दरमा भाडा उठाइरहेका छन् ।

कालीगण्डकी कोरिडोरअन्तर्गत पिपलडाँडा–गेझा सडकका यात्रुले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । मित्याल, ज्यामिरे, भुवनपोखरी, सिद्देवरका यात्रुले समेत उस्तै सास्ती खेपेका छन् ।


मित्यालका खेमानसिंह सुनारी आर्यभन्ज्याङबाट गाडी नपाएपछि अलपत्र परे । त्यसपछि बढी भाडा तिरेर भए पनि गन्तव्यतर्फ लागे । ४ सय ६० रुपैयाँ भाडादर भए पनि ७ सय रुपैयाँ तिर्नुपरेको उनले बताए । प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिए पनि पोखरा, तम्घास चल्नेबाहेकका बसले पालना गरेका छैनन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिका एक कर्मचारीले पहाडी जिल्लामा संचालन हुने बसले सिट क्षमताभन्दा तेब्बरसम्म यात्रु ओसार्नु परेको बताए । पाल्पाको मित्याल पुग्ने बसमा शुक्रबार ६० जना थिए । कालीगण्डकी कोरिडोरअन्तर्गत गेझा जाने जीपमा ३५ यात्रु थिए ।


सडकमा जाँच गर्न खटिएका प्रहरीले उनीहरूलाई केही गरेनन् । तानसेनको बर्तुङ चोकमा ट्र्राफिक र नेपाल प्रहरीले जाँच गरे पनि ग्रामीण सडकमा भने मनपरी यात्रु राख्ने र भाडा असुल्ने गरिएको छ । तानसेनदेखि ग्रामीण भेगमा चल्ने सवारी साधनले पनि बढी भाडा असुलेका छन् । पश्चिम नेपाल र श्रीनगर यातायात प्रालिका कर्मचारी भने बस नम्बर र टिकटसहित उजुरी गर्न आए कारबाही हुने बताउँछन । तर यात्रु गन्तव्यमा जान हतार हुने भएकाले उजुरीतर्फ लाग्दैनन् । ‘दसैंमा सुरक्षित रूपमा गन्तव्य जान हामीले सोहीअनुसारको व्यवस्थापन गरेका छौं,’ पश्चिम नेपाल बस व्यवसायी प्रालिका शाखा प्रमुख डोलराज भट्टराईले भने, ‘कसैले उजुरी गर्न आए कारबाही हुन्छ ।’ तानसेन बसपार्कबाटै भाडाका सवारीसाधनले ‘रिजर्भ’ जान प्रेरित गर्दै तेब्बर भाडा लिने गरेका छन् ।


०७४ सालमा जिल्ला प्राविधिक समितिले वैज्ञानिक भाडादर लागू गरे पनि कार्यान्वयन भएको छैन । ग्रामीण कच्ची सडकमा चल्ने साना ठूला सवारी साधनले तोकिएको भन्दा झन्डै दोब्बर भाडा लिन्छन् । दसैंका बेलामा तेब्बर असुलेको गुनासो यात्रुको छ । सडकलाई समितिको सिफारिसमा सर्वदलीय सर्वपक्षीय भेलाबाट तीन वर्गमा विभाजन गरिएको थियो । सोहीअनुसार सवारीमा भाडा निर्धारण गरिएको छ । ‘क’ वर्गमा पक्की मोटरवाटो, ‘ख’ वर्गमा बस र जीप नियमित चल्ने र ‘ग’ वर्गमा जीप मात्र चल्नेलाई विभाजन गरिएको छ ।


सोही अनुसार ‘क’ वर्गमा चल्ने सवारी साधनले सरकारले निर्णय गरेबमोजिम भाडा लिनुपर्ने उल्लेख थियो । ‘क’ वर्गको सडकमा बस र जीपले बराबर भाडा लिनुपर्ने हुन्छ । ‘ग्राभेल र कच्ची सडक हुँदाको भाडादर अहिले पनि उही छ,’ आर्यभन्ज्याङ–रामपुर सडकका यात्रु प्रवेश अधिकारीले भने, ‘यसमा कहींकतैबाट सुधार्ने प्रयास भएको देखिएन ।’


यो सडक ओटासिल भए पनि अहिले ग्राभेललाई तोकेको दररेटमा बस र जिपले भाडा लिएका छन् । ओटासिल सडकलाई (क) श्रेणी मानेर ३ रुपैयाँ तय गरिएको थियो । त्यसपछि पनि तेल सस्तिएको छ । बस, मिनिबस, जीप सञ्चालन हुने सडकलाई (ख) श्रेणी मानेर ४ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।


जीप र ट्र्याक्टर मात्रै चल्ने सडकलाई (ग) श्रेणी मानेर ५ रुपैयाँ भाडादर निर्धारण भएको जिल्ला प्रशासनले जनाएको छ । जिल्लाका ७७ रुटको अस्थायी अनुमतिका लागि सिफारिस गरेर यातायातमा पठाइएको हो । निर्धारित भाडादर सम्पूर्ण सार्वजनिक सवारी साधनले सबैले देख्ने गरी टाँस गर्नुपर्ने निर्णय भए पनि कार्यान्वयन भएको छैन ।

प्रकाशित : आश्विन १८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?