कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महरा प्रकरण : फरेन्सिक जाँचको तयारी

शाहीको कोठाबाट बरामद सामान, उनले ‘डिप्रेसन पीडित’ भएको व्यहोरासहित प्रहरीमा दिएको निवेदन र सभामुख पदबाट महराले दिएको राजीनामा एकै ठाउँमा राखेर अनुसन्धान गरिँदै
मातृका दाहाल

काठमाडौँ — निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुर्व्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेल नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरूको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो । 

महरा प्रकरण : फरेन्सिक जाँचको तयारी

अनुसन्धान अधिकृतहरू बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण संकलनमा जुटेको स्रोतले जनायो । ‘पीडित भनिएकी महिलाले क्राइम सिनभन्दा विपरीत बारम्बार फरक–फरक धारणा सार्वजनिक गर्नु शंकास्पद छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले फरेन्सिक जाँचसहित अनुसन्धानमा प्राविधिक पक्ष प्रयोग गर्ने तयारीमा छौं ।’


संसद् सचिवालयमा कार्यरत शाहीले आफूमाथि महराले यौन दुर्व्यवहार गरेको सूचना प्रहरीलाई दिए पनि त्यसपछि पटक–पटक कुरा बदल्दै आएकी छन् । उनले स्वास्थ्य परीक्षणसमेत गराउन इन्कार गरेकी छन् । ‘शाहीले फरक–फरक भनाइ सार्वजनिक गरे पनि हामीसँग उनले घटनालगत्तै प्रहरीलाई दिएको भिडियो रेकर्ड, घटनाको अवस्था र सीसीटीभीका फुटेज सुरक्षित छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘सक्दो चाँडो अनुसन्धान टुंगोमा पुर्‍याएर सत्यतथ्य बाहिर ल्याउन जुटेका छौं ।’


प्रहरी स्रोतका अनुसार शाहीको तीनकुनेस्थित कोठाबाट बरामद गरिएका सामान, उनले आफू ‘डिप्रेसन पीडित’ भएको व्यहोरासहित प्रहरीमा दिएको निवेदन र दुर्व्यवहार प्रकरणमा सभामुख पदबाट महराले दिएको राजीनामालाई एकै ठाउँमा राखेर अनुसन्धान थालिएको छ । त्यसक्रममा आवश्यक परे शाही र महरा दुबैसँग बयान लिन सकिने प्रहरीले जनायो ।


महानगरीय प्रहरी कार्यालय (रानीपोखरी) का डीआईजी शैलेश थापाले सत्यतथ्य बाहिर ल्याउन आफूहरू जुटेको बताए । ‘दुर्व्यवहार भएको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउन मानवीय र प्राविधिक विधिबाट अनुसन्धान अघि बढाएका छौं,’ उनले भने ।

तत्कालीन सभामुख महराबाट आफूमाथि आइतबार राति यौन दुर्व्यवहार भएको भन्दै सोमबार सञ्चारमाध्यमलाई बताएकी शाहीले मंगलबार अघिल्लो दिनको कुरा फेर्दै महराको बचाउ गरेकी थिइन् । बुधबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर उनले आफू ‘डिप्रेसन पीडित’ रहेको र आइतबार राति कुनै दुर्व्यवहारको घटना नभएको व्यहोरासहित निवेदन दिएकी थिइन् ।


भोलिपल्ट बिहीबार रोशनी र उनका पति चित्रजंग शाहीले आफूहरू अलग–अलग बस्ने घोषणा गरेका छन् । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फरेन्सिक विज्ञ प्रा.डा. हरिहर वस्तीले घटना घटेको ४ दिन भइसक्दा पनि यौन दुर्व्यवहार पीडित भनिएकी महिलाले स्वास्थ्य परीक्षण गराउन नमान्नु आफैंमा शंकास्पद भएको बताए । उनले घटनालाई तथ्यभन्दा बाहिर लैजान शृंखलाबद्ध चाल चालिएको आशंका गरे । ‘घटना घटेको ४ दिनमा पनि क्राइमसिन र पीडित–पीडक दुवैमाथि स्वास्थ्य परीक्षण र बरामद सामानको फरेन्सिक टेस्ट हुन नसक्नुले दोषी उम्किने खतरा बढेको छ,’ वस्तीले कान्तिपुरसँग भने, ‘भएका तथ्य र प्रमाणको सक्दो छिटो फरेन्सिक परीक्षण हुनुपर्छ ।’


घटनास्थलका सामान, महिलाका घाउ/चोट र पीडितको कोठामा गएका तथ्य र प्रमाण आपसमा मेल खाएको देखिए महरा र रोशनी दुबैको शारीरिक स्वास्थ्य परीक्षणसमेत आवश्यक हुने उनको भनाइ छ ।


काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले अनुसन्धानमा शाहीबाट असहयोग भएको प्रतिक्रिया दिए । ‘सुरुमा कसैमाथि यौन दुर्व्यवहारजस्तो गम्भीर आरोप लगाएर प्रहरीलाई खबर गर्नेले अहिले आएर अनुसन्धानमा सहयोग नगर्नु आफैंमा शंकास्पद देखियो,’ उनले भने, ‘तर भएका तथ्य र प्रमाण तथा अनुसन्धानका विभिन्न विधि प्रयोग गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउँछौं ।’


पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन आग्रह


नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन र अनलाइन पत्रकार संघले पत्रकार अजयबाबु शिवाकोटीलाई समाचार लेखेकै भरमा धम्की आउन थालेकामा आपत्ति जनाउँदै उनको सुरक्षाप्रति ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । ती संघसंस्थाले बिहीबार विज्ञप्ति जारी गरी सभामुख कृष्णबहादुर महराबाट संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार भएको भन्ने समाचार लेखेका शिवाकोटीमाथि अज्ञात फोनबाट धम्की आइरहेको उल्लेख गरेका छन् ।


पत्रकार शिवाकोटीले आफूलाई अज्ञात नम्बरबाट फोन गरेर धम्की आउन थालेको प्रहरीलाई जानकारी गराएका छन् । पत्रकार महासंघ, प्रेस युनियन र अनलाइन पत्रकार संघले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर समाचार लेखेकै आधारमा धम्की आउनु दु:खद भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताविरोधी त्यस्ता गतिविधिप्रति गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।


'व्यक्तिगत गल्तीको जिम्मा पार्टीले लिँदैन’

काभ्रे– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको जिम्मा पार्टीले नलिने बताएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लक्षित गर्दै उनले व्यक्तिगत गल्तीलाई पार्टीसँग जोड्न नहुने प्रस्ट्याए । नेकपा बनेपा नगर कमिटीले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बाँस्कोटाले गल्ती गर्नेले नै कारबाही भोग्नुपर्ने तर्क गरे ।


‘जसले गल्ती गर्छ, त्यही व्यक्ति दोषको भागीदार हुन्छ,’ उनले भने । कम्युनिस्ट पार्टी चरित्र र सम्मानसहितको भएको भन्दै उनले चिन्तित एवं तरंगित नहुन कार्यकर्तालाई आग्रह गरे । ‘यस्ता घटना समाजमा भइरहन्छन्,’ उनले भने, ‘नराम्रा मानिस बिस्तारै पाखा लाग्छन् । यसमा धेरै चिन्तित हुनैपर्दैन ।’

प्रकाशित : आश्विन १७, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?